सहरको बसाइ, गाउँको खाना
बेनी : बजार क्षेत्रमा बसोबास गर्नेहरू पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्य सामग्रीको उपभोगतर्फ आकर्षित भएका छन्। कुनै समय गाउँघरका गरिबको खानाका परिकार भनिने ढिँडो, आटो, पीठो र सिस्नो अहिले सहरबजारका धनीमानीको रोजाइमा पर्न थालेको छ।
आयातित र औद्योगिक उत्पादनको उपभोगसँगै विलाशी जीवनशैलीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि ग्रामीण क्षेत्रमा विषादी प्रयोग बिनै प्रांगारिक तरिकाले उत्पादन गरिएका तरकारी र खाद्य सामग्रीप्रति आकर्षित भएका हुन्।
ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्यान्न, गेडागुडी र तरकारीको माग बढ्न थालेपछि सदरमुकाम बेनीमा महिला उद्यमीले ती सामग्री मात्र पाइने पसल नै खोलेका छन्। उत्पादनले बजार र मूल्य पाउन थालेपछि गाउँका कृषक उत्साहित भएका छन्।
गाउँमा उत्पादन भएको सिमी, साग, चामल, दाल, कोदोको पीठो, भुटेको मकै, मह, घिउ, अचार, टिम्मुर, बदाम, सिस्नोको पाउडर, फापर, च्याउ, टुसा, मकैको आटोको माग बढ्न थालेपछि पसल सञ्चालन गरेको न्युरोडस्थित प्रकृति लोकल एन्ड अर्गानिक स्टोर्सकी सञ्चालक अम्बिका ढुंगानाले बताइन्।
गाउँमा उत्पादन भएका खाद्यान्न, दाल र तरकारी एकै ठाउँमा पाइने पसल सञ्चालन भएपछि ती सामग्री खोज्न गाउँ जानुपर्ने बजारबासीको झञ्जट हटेको छ। स्वस्थ्यकर र पोसिलो हुने भएकाले बजारमा बसोबास गर्ने गाउँको उत्पादनतर्फ आकर्षित भएको म्याग्दी लोकल मार्टकी सञ्चालक पुष्पा पुनले बताइन्।
ग्रामीण क्षेत्रका कृषकको घरदैलोमै पुगेर उनीहरूले उत्पादन गरेका सामग्रीको खरिद गरेर बिक्री गर्ने व्यवस्था मिलाएको पुनले बताए। सिमी, च्याउ, मह, घिउ, ढकायो, गुन्द्रुक, भाँगो, चामल, पीठो, बदाम आदीको खपत बढी हुने गरेको पुनले जानकारी दिइन्।
अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारस्थित खयरभारानी सिस्नो पाउडर उद्यमी समूहका संयोजक चोपनारायण तिलिजा पुनले जंगलमा खेर जाने निगालोको टुसा, च्याउ, ढकायो र सिस्नो आम्दानीको स्रोत बनेको बताए।
२०७३ देखि सिस्नोको पाउडर उत्पादन सुरु गरेको उक्त समूहले पछिल्लो समय ढकायो, च्याउ र टुसाको पनि उद्यम सुरु गरेका छन्। जिल्ला युवा समितिको कार्यालयबाट बिना धितो र बिना ब्याजको पाँच लाख रुपैयाँ ऋण लिएर आठ जना युवाले सिस्नो पाउडर उद्यम सञ्चालन गरेका छन्।
घरायसी र खेतबारीको कामबाट बचेको समय उद्यममा लगाएका उनीहरूले एक वर्षमा एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताएका छन्। वनजंगलमा खेर गइरहेका च्याउ, टुसा, ढकायो, सिस्नोलाई प्रशोधन गर्न गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा गत असारमा म्याग्दीका स्थानीय तहमार्फत ५० वटाभन्दा बढी सोलार डायर वितरण गरिएको थियो।