तातोपानीमा आठ घण्टा नुहाएर फर्किए प्रचण्ड, सीता र बादल
बेनी : नशा सम्बन्धी समस्याबाट पीडित श्रीमती सिता दाहाललाई बेनी नगरपालिका ४ मा रहेको तातोपानी कुण्डमा स्नानमार्फत् प्राकृतिक उपचार गराएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजधानी फर्किएका छन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादलसँगै परिवारसहित सोमबार बेनी आएका प्रचण्ड बुधबार दिउँसो हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका हुन्।
बेनी आएको मौकामा प्रचण्ड विभिन्न कार्यक्रममा सहभागीसमेत भए। बुधबार बिहान तातोपानी कुण्डमा स्नान गरेपछि प्रचण्डले म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा पर्यटन, जलविद्युत, कृषि र व्यापारको क्षेत्रमा म्याग्दीको प्रशस्त सम्भावना रहेको बताए। उनले सम्भावना भए पनि जनशक्ति पलायन, पूर्वाधार अभाव र भौगोलिक विकटता चुनौती देखिएको बताए।
सोमबार एक पटक, मंगलबार दुई पटक र बुधबार एक पटक दुई-दुई घण्टाका दरले उनीहरुले आठ घन्टा स्नान गरे। प्रचण्डले तातोपानी कुण्डमा कुन रोगका लागि कति समय स्नान गर्नुपर्छ भन्ने विषयमा अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका छन्।
जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा छाला, नशा, चोट पटक लागेको, हाडजोर्नी दुख्ने, सुन्नीएको, बज्रिएको, घाउ जस्ता स्वास्थ्य समस्या निको हुने विश्वास रहेको छ।
बेनी बसाई, विभिन्न ठाउँको भ्रमण र यहाँका सरोकारवालासँगको अन्तरक्रियामा सहभागी भएका प्रचण्डले भने, ‘म्याग्दीको तातोपानी कुण्डलाई स्वास्थ्य उपचार केन्द्र बनाउन सकिन्छ।’
गृहमन्त्री थापाले पारिवारिक र विश्रामका लागि म्याग्दी आएपनि विकास, पर्यटन प्रर्वद्धन, सम्भावना र समस्या पहिचानका हिसाबले बेनी बसाई उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिए।
उनले शान्ति, सुरक्षा, स्थायीत्व र सुशासनमा सरकार प्रतिबद्ध रहेको बताउँदै सरकारले संविधान कार्यान्वयनको आधार तयार पार्ने, वैदेशिक नीति, सम्बन्ध सुधार र नीति निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताए। _20181114061939.jpg)
अब सरकरले गति लिन्छ
नेकपाका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार र पार्टीको कामले अब गति लिने बताएका छन्।
प्रेस सेन्टर र चौतारीले बुधबार बेनीमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले केही दिनमा पार्टी एकताका सम्पूर्ण काम टुङ्गो लगाउने जानकारी दिएका हुन्। र
‘ओलीजीको स्वास्थ्यमा समस्या आएका कारण रोकिएको सचिवालय बैठक बोलाएर प्रदेश, जिल्ला र जनवर्गीय संगठनका पदाधीकारीको घोषणा गर्छौ’, अध्यक्ष दाहालले भने।
सम्मेलनअघि नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले एकतालाई सुदृढ र तिनै तहका सरकारका कामलाई प्रभावकारी बनाउनुको विकल्प नरहेको बताए।
यसैगरी म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले कर्मचारीको असहयोगी व्यवहारका कारण सरकारले काम गर्न नसकेको र लगानीको वातावरण बन्न नसकेको बताएका थिए।
‘पठाएको ठाउँमा नजाने र दिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीप्रति सरकार कठोर बन्नुपर्छ’, प्रचण्डले भने, ‘पठाएको ठाउँमा नजाने कर्मचारीलाई बिदाई गरेर नयाँ भर्ती गर्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस !