देउसीभैलोको रकमले काठेपुल
जुम्ला : जिल्लाको गुठीचौर गाँउपालिका–५ फोइ र कुम्डी गाँउका स्थानीयले तिहारको बेला देउसीभैलो खेलेर संकलन गरेको रकमले गाउँमै काठेपुल निर्माण गरेका छन् ।
दुबै गाउँका बृद्ध र युवा मिलेर तिहारको अवसरमा दुईदिन खेलिएको देउसीको रकम ६२ हजार काठेपुल निर्माणमा खर्च गरिएको हो । उनीहरुले सो रकमबाट गुठीचौर–५ को ढाँड चिमानी खोलामा काठेपुल बनाएका हुन् ।
ढाँड चिमानी खोलामा भरपर्दो पुल नहुँदा स्थानीयलाई हिँड्न र पशु चौपालयलाई समेत आउजाउ गर्न कठिन थियो । काठेपुल निर्माणको लागि खोलाकै ढुँगा र सामुदायिक बनको काठ प्रयोग गरियो ।
स्थानीय राधिका चौलागाईँ भन्छिन्, ‘वर्षाको भेलमा खोला तर्नै सकिँदैनथ्यो । अन्नपात, काठदाउरा, स्याउलासोत्तर ल्याएर आँउदा त झनै सकस हुन्थ्यो ।’ काठेपुल बनेपछि सबै स्थानीय खुसी छन् । यसअघि देउसीभैलोको रकमले भोजभतेरमा खर्च गर्ने चलन भए पनि यसपटक यहाँका युवाहरुले सामाजिक काममा खर्च गरेको भन्दै बृद्धबृद्धा समेत खुसी छन् ।
प्रतिक्रिया दिनुहोस !