पारा ओलम्पियनले पाए भत्ता
काठमाडौं : तीन पारा ओलम्पियन खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आजीवन मासिक भत्ता प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्टले पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विसुंखेलाई साउनदेखि कात्तिकसम्मको मासिक तीन हजार रुपैयाँका दरले जनही १२ हजार रुपैयाँ प्रदान गरे ।
अहिलेसम्म पारा ओलम्पिकमा पाँचजना सहभागी भए पनि दुई खेलाडीको भने निधन भइसकेको छ । नेपालबाट सबैभन्दा पहिले जितबहादुर खड्काले पारा ओलम्पिक खेलेका थिए । उनी सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागी भएका थिए । एथलेटिक्समा प्रतिस्पर्धा गरेका उनको २०७२ सालको विनाशकारी भूकम्पमा परी निधन भएको थियो । यसैगरी सन् २०१२ को लन्डन ओलम्पिकमा सहभागी मानबहादुर तामाङको पनि ओलम्पिक खेलेलगत्तै लन्डनमै निधन भएको थियो ।
एथलेटिक्स खेलाडी विक्रमले सन् २०१२ को लन्डन र सन् २०१६ को रियो पारा ओलम्पिक खेलेका छन् । यसैगरी पौडीकी लक्ष्मी कुँवरले २०१६ को रियो पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन ओलम्पिकमा सहभागिता जनाएका थिए ।
युवा तथा खेलकुद मन्त्रालय र परिषद्ले गत साउनमा ८४ जना ओलम्पियन खेलाडीलाई जीवन निर्वाहका लागि मासिक तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराएको थियो । मन्त्रालयले र परिषद्ले पारा खेलाडीमाथि विभेद गरेको भन्दै अन्नपूर्ण पोस्ट्ले गत असोज २४ गते समाचार प्रकाशित गरेपछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को अध्यक्षतामा बसेको राखेपको ११०औं बोर्ड बैठकले पारा ओलम्पिकमा सहभागी खेलाडीलाई पनि आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।
पारा खेलाडीलाई रकम हस्तान्तरणपछि राखेप सदस्यसचिव विष्टले प्राविधिक कारणले पारा ओलम्पियनलाई भत्ता दिन ढिलाइ भएको जनाउँदै आगामी दिनमा रकम वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले सानै रकम भए पनि खेलाडीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ओलम्पियन लक्ष्मी कुँवरले ढिलै भए पनि मासिक भत्ता पाएकोमा खुसी व्यक्त गरिन् ।