पुष्पलाल स्मृति ब्याडमिन्टन : रत्नजितलाई सातौं उपाधि
काठमाडौं : त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौं उपाधि जितेका छन् । शनिबार सम्पन्न फाइनलमा एपीएफका दिपेश धामीलाई २१–११, २१–१६ ले पराजित गर्दै रत्नजितले सातौंपटक उपाधि जितेका हुन् ।
रत्नजितले प्रतियोगिताको पहिलो संस्करणबाहेक सबै प्रतियोगिता जितेका छन् । पुरुष एकलको विजेता रत्नजितले ५० हजार रुपैयाँ प्राप्त गरे । उपविजेता दिपेशले २५ हजार र तेस्रो स्थान हात पार्ने आर्मीका नवीन श्रेष्ठ र रुकेश महर्जनले जनही १० हजार पुरस्कार पाए ।
यसैगरी महिला एकलको उपाधि पनि आर्मीकै नङ्सलदेवी तामाङले जितिन् । उनले आफ्नै क्लबकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि जितेकी हुन् । प्रतिस्पर्धात्मक खेलमा नङ्सलले २२–२०, १५–२१, २१–१८ ले जित हात पारिन् । नङ्सलले नगद ५० हजार, दोस्रो भएकी रसिलाले २५ हजार र तेस्रो भएका एपीएफका शोभा गौचन र जेसिका गुरुङले जनही १० हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी पुरुष युगलको उपाधि आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले जित्यो । रत्नजित र नवीनको जोडीले एपीएफका दीपेश धामी र विजित थापामगरको जोडीलाई २२–२०, २०–२२, २१–११ ले हरायो । आर्मीका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपीएफका गौतम कठायत र सुनील जोशीले तेस्रो स्थान हात पारे । यस्तै महिला युगलमा एपीएफका पूजा श्रेष्ठ र जेसिका गुरुङको जोडीले आर्मीका नङ्सल तामाङ र रसिला महर्जनको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि जिते । जेस्ट ब्याडमिन्टन एकेडेमीका सीता राई र बाँकेकी सम्झना शर्मा तथा आर्मीका अमिता गिरी र अनुमाया राई तेस्रो भए । शीर्ष तीन स्थान हात पार्ने जोडीले नगद २० हजार, १० हजार र पाँच हजार पुरस्कार पाए ।
यू–१७ छात्रमा सिल्क ग्रुपका प्रिन्स दाहाल पहिलो भए । उनले आर्मीका दिवस शंकरलाई २१–१६, २१–५ ले पराजित गरे । जेस्टका प्रियान्सुसिंह क्षत्री र पेम्बा शेर्पा तेस्रो भए ।
यसैगरी छात्राको खेलमा आर्मीकी रसिला महर्जनले उपाधि जितिन् । उनले आफ्नै क्लबकी रञ्जना भट्टलाई २१–५, २१–५ ले पराजित गरिन् । मोरङकी रोज पाण्डे र सीमा राजवंशी तेस्रो भए । यू–१७ छात्र तथा छात्रा स्पर्धाका विजेताले १५ हजार, दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हात पार्नेले पाँच हजार पुरस्कार पाए ।
यसैगरी मास्टर्स ४५ वर्षमाथिको उपाधि आर्मीमा सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडीले हात पा¥यो । उनीहरूले जेस्टका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीलाई १६–२१, २१–१६, २१–१६ ले हराए । जेस्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडी तेस्रो भए । यस विधाका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद २० हजार, १० हजार र पाँच हजार प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे ।