थ्रीस्टार शीर्ष स्थानमा

थ्रीस्टार शीर्ष स्थानमा

काठमाडौं : थ्रीस्टार क्लब रेडबुल ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आइतबार भएको खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५-१ गोलले हरायो । टोलीका प्रभावशाली कप्तान विक्रम लामाले पुनरागमन गरेको एकपक्षीय खेलमा थ्रीस्टारले नवौं मिनेटमा पेनाल्टी गोलमार्फत खाता खोलेको थियो ।

थ्रीस्टारका नीराजन खड्कालाई डीबक्स भित्र ब्रिगेडमा रन्दीप पौडेलले फल हानेर लडाएपछि पाएको पेनाल्टीलाई रजिन धिमालले सदुपयोग गरेका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा चार गोल थपेको थियो । ५१औं मिनेटमा थ्रीस्टारका सुनील बलले दोस्रो गोल गरे । रञ्जन विष्टले ८४औं र नीराजन खड्काले ८९औं मिनेटमा गोल गरे ।

 इन्जुरी समयमा कप्तान विक्रम लामाले गोल गर्दै टोलीको जित सहज बनाएका थिए । विक्रमको १० महिनाअघि धरानमा भएको बूढासुब्बा गोल्डकप खेल्ने क्रममा दायाँ खुट्टा भाँचिएको थियो । त्यसपछि उपचार गराइरहेका विक्रम लामो वि श्रामपछि खेलमा फर्किएका हुन् । ब्रिगेडका लागि ७५औं मिनेटमा राजन तिवारीले सान्त्वना गोल फर्काए । थ्रीस्टारका सुनील बल म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

लगातार दोस्रो जितसँगै ६ अंक बनाएको थ्रीस्टार तालिकाको शीर्ष स्थानमा छ । समान अंक बनाएको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । थ्रीस्टारले पहिलो खेलमा फ्रेन्ड्सलाई २-१ गोलले हराएको थियो । दुुवै खेल गुमाएको ब्रिगेडले खाता खोल्न सकेको छैन । ब्रिगेड पहिलो खेलमा मनाङसँग ३-१ गेलले पराजित भएको थियो ।

खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले एक महिनापछि पुनः सुरु भएको खेलमा खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए । ब्रिगेडले पहिलो हाफमा राम्रै टक्कर दिएको थियो । तर हामीले बल पोसेसन र आक्रमण जारी राख्दा दोस्रो हाफमा धेरै गोल भयो,’ मेघराजले भने । मनाङसँगको आगामी खेल थप प्रतिस्पर्धात्मक हुने उनले बताए । ब्रिगेडमा प्रशिक्षक उर्जन श्रेष्ठले सुरुआतमै पेनाल्टी गोल खाँदा टोलीको लय गुमेको बताए । ‘थ्रीस्टार बलियो टोली हो । उसलाई हामीले बराबरीमा रोक्न चाहेका थियौं । विदेशी खेलाडीले पनि सोचेजस्तो खेल्न नसक्दा हार भयो,’ उर्जनले भने ।

यसैगरी आइतबारकै अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा आक्रामक देखिएको पुलिसले पहिलो हाफमा मात्र तीनवटा राम्रो गोल गर्ने अवसर खेर फालेको थियो । पुलिसविरुद्ध रक्षात्मक देखिएको मच्छिन्द्रले दोस्रो हाफमा सुधारिएको खेल खेले पनि गोल गर्न सकेन । पुलिसको गोल गर्ने प्रयास दोस्रो हाफमा पनि सफल बन्न सकेन ।

टोलीमा युवा खेलाडीको बाहुल्य रहेको पुलिसले दोस्रो हाफको अन्तिम १० मिनेट भोला सिलवाललाई उतारेको थियो । घाइते भएका कारण भोलाले दुई वर्षदेखि राष्ट्रिय टोली गुमाउँदै आएका थिए । उनी यही लिगमार्फत फुटबलमा फेरि जम्ने प्रयासमा छन् । बराबरीसँगै पुलिसले चार अंक बनाएको छ ।

पुलिसले पहिलो खेलमा जाउलाखेललाई १-० गोलले हराएको थियो । दुवै खेलमा बराबरी नतिजा आत्मसाथ गरेको मच्छिन्द्रले दुई अंक बनाएको छ । मच्छिन्द्रले पहिलो खेलमा च्यासलसँग गोलरहित बराबरी खेलेको थियो । खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले जितका लागि खेले पनि सम्भव नभएको बताए । ‘मिडिल लाइनमा रहन चाहने टोलीहरू बराबरीका नतिजाका लागि खेल्ने गर्दछन् । आज पुलिसले मच्छिन्द्रको रक्षापंक्ति तोड्न सकेन,’ अनन्तले भने । मच्छिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापतिले बराबरी नतिजाबाट सन्तुष्ट रहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.