मन्त्रीका पीएकहाँ सांसदको भीड

मन्त्रीका पीएकहाँ सांसदको भीड

काठमाडौं : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिवको कार्यकक्ष। ठूलो भीडले उनलाई घेरेको थियो। पूर्वमन्त्रीदेखि सांसदसम्म, नेतादेखि कर्मचारीसम्म त्यहाँ पुगेका थिए। उनीहरू त्यहाँ धाउनुको कारण थियो, कर्मचारी सरुवा।

मन्त्री पण्डित कार्यकक्षमा थिएनन्। उनी प्रदेश १ गएका थिए। त्यसैले भेट्न आउनेहरू स्वकीय सचिववरिपरि झुम्मिएका थिए। ‘हामीले भनेको मान्छे किन सरुवा नभएको ? ’ कोही उनलाई केरकार गरिरहेका थिए। उनीहरू सरुवा गर्नुपर्ने कर्मचारीको नाम टिपाइरहेका थिए। स्वकीय सचिव खुरुखुरु टिपिरहेका थिए।

बैतडीका सांसद एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी कर्मचारी सरुवा गराउन त्यहाँ पुगेका थिए। नेकपाका युवा नेता भण्डारीले आफू पूर्वमन्त्री भएको परिचय दिए। उनले स्वकीय सचिवलाई भने, ‘मैले भनेको कर्मचारी जसरी पनि सरुवा गरिदिनुपर्‍यो।’

भण्डारीले भनेको कर्मचारी अन्यत्रै गइसकेको जानकारी स्वकीय सचिवले दिए। ‘त्यसोभए हामीलाई राम्रो कर्मचारी छिटो चाहियो,’ भण्डारीले फेरि भने। उनी गृहजिल्ला बैतडीको एक स्थानीय तहका प्रशासकीय अधिकृतको सरुवा गराउन त्यहाँ पुगेका थिए।

‘बैतडीको अधिकांश स्थानीय तहमा कर्मचारी अभाव छ। त्यसैले म यहाँ आएको हुँ,’ उनले अन्नपूर्णसँग भने। स्थानीय तह साविक जिल्ला विकास समितिका विकासे कर्मचारीको जिम्मामा छोडिएको उनको भनाइ। ‘कर्मचारी पठाओ भन्दा कर्मचारी जान मान्दैनन्, आफैँ खोजेर ल्याउनुहोस् भन्छन्,’ उनले भने, ‘त्यही भएर मन्त्रालय आउनु परेको हो।’

मन्त्रीका स्वकीय सचिवलाई घेर्नेमा प्रदेश सांसद धर्म पौडेल, अमरबहादुर थापा, टीकाराम रेग्मीलगायतका युवानेता र कर्मचारी थिए। उनीहरू स्थानीय तहका खरिदारदेखि प्रशासकीय प्रमुखसम्मको सरुवा मागिरहेका थिए। ती सबै आफ्नो जिल्ला, क्षेत्रअन्र्तगतका स्थानीय तहमा आफू अनुकूल कर्मचारी पुर्‍याउन चाहन्थे।

स्वकीय सचिव भने कर्मचारी सरुवाका लागि मन्त्रालय नधाउन सबैलाई सल्लाह दिइरहेका थिए। ‘अध्यादेशमा लोकसेवाले सहमति दिइसक्यो। एक महिनाभित्र कर्मचारी समायोजन हुन्छ। अब सरुवामा नलाग्नु होस्,’ उनी भन्दै थिए। तर सांसद तथा नेताहरूले भनेको नाम भने उनी टिपिरहेका थिए। एक युवा नेता चाहिँ ‘त्यसलाई त्यहाँबाट जसरी पनि हटाउनुपर्‍यो’ भनेर दबाब दिइरहेका थिए।

यो दृश्य सामान्य प्रशासन मन्त्रालयको मात्रै होइन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालयमा पनि सरुवाका लागि धाउने नेताहरूको भीड हुन्छ। नीति निर्माणको जिम्मा पाएका सांसद कर्मचारी सरुवाका लागि भनुसुनमै दिन बिताउँछन्। आफू अनुकुल कर्मचारी सरुवा गर्न दबाब समेत दिन्छन्।

प्रायः मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवको काम नै कर्मचारी सरुवाको नाम टिप्ने हुन्छ। एक मन्त्रीका स्वकीय सचिवले कर्मचारी सरुवामा धेरै दबाब आउने गरेको बताए। ‘मन्त्रालयमा त सरुवाभन्दा अरु काम गर्नै नपाइने भो।’ उनले भने।

मन्त्री लालबाबु पण्डित भने नेताहरू अनेकथरिका काम लिएर मन्त्रालय आउने गरेको बताए। नेताले जनताको समस्या दिएर मन्त्रालय आउनु स्वाभाविक भएको उनको भनाइ छ। ‘परिचय गर्न आउँछन्, गुनासो पोख्न आउँछन्, कतिले कर्मचारीकै कुरा लिएर पनि आउँछन्,’ झापा पुगेका मन्त्री पण्डितले भने, ‘जनताका नेता मन्त्रालय नआएर कहाँ आउँछन् त !’ उनले कर्मचारी समायोजनपछि सरुवाका लागि धाउने समस्या समाधान हुने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.