कविता : जिज्ञासा
म तपाईको टोल/छिमेकको त हुँदै होइन
तपार्इंको निर्वाचन क्षेत्र र प्रदेशको बासिन्दा पनि होइन
होइन !
म तपाईको पार्टीको कार्यकर्ता
र, नजिक वा टाढाको नातेदार पनि होइन
म नागरिक र तपाई मन्त्री हुनुहुन्छ यो देशको
मन्त्री हुनुको कारण
अहिले मेरो स्वास्थ्य तपाईको जिम्मामा छ
मेरो शिक्षा तपाईको अधीनमा छ
मेरो रोजगारी तपाईको बन्दोबस्तीमा भर पर्छ
मेरो भविष्य तपाईको आदेशले निर्धारण गर्छ
फेरि पनि तपाईसँग मेरो पहुँच छैन
र, पहुँच नहुनेहरूको पीडा तपाईको आँखाले देख्तैन
पहुँच नहुनेहरूको संवेदना तपाईको मनले अनुभूत गर्दैन
फूल बरु बिझाउला
पहुँच नहुनेहरू माथिको अन्याय तपाईलाई बिझाउँदै बिझाउँदैन
म, यो देशको स्वतन्त्र नागरिक !
स्वतन्त्र हुनुको अर्थमा
म आफ्नो चेतनाको लुतो कन्याउन स्वतन्त्र छु
तपाईको संरक्षणमा हुने
घिनलाग्दा कर्तुतहरू हेरेर दिग्मिगाउन स्वतन्त्र छु
अलकत्रा बिर्साउने
यो कालो समय ओढ्न र ओछ्याउन स्वतन्त्र छु
स्वतन्त्र छु म !
असमानताका कान्लाहरूबाट गुर्मुरिएर
रात÷रातभरि छट्पटाउन स्वतन्त्र छु
पर्दाभित्र र बाहिर
तपाईको दोहोरो चरित्र देखेर
आफैंभित्र मुर्मुरिन स्वतन्त्र छु
स्वतन्त्रताको यस्तो उपयोग गर्दागर्दा
अब त—
खोकिलामा काउसो लुकाउन सक्ने भइसकेको छु
अब त—
मुर्दाहरूसँग संवाद गर्न सक्ने भइसकेको छु
भैगो ! अब मेरो कुरा छोडिदिनुस् !
तपाईलाई भोट हाल्नेबाहेक अरूले
स्वीकार्न इन्कार गरे भने
तपाईको अहिलेको पदीय हैसियत
भन्नुस् न !
भत्भती ! मन पोल्छ कि पोल्दैन तपार्इंको ?
भक्भकी ! मन पाक्छ कि पाक्दैन तपाईको ?
माननीय मन्त्रीज्यू !
यो एउटा जिज्ञासा भनेँ
अझै पनि मनमा लिएरै बाँचेको छु !
माननीय मन्त्रीज्यू !
यो एउटा जिज्ञासा भनेँ
अझै पनि मनमा लिएरै बाँचेको छु !!