सांसद विकास कोषका योजना छनोट
ओखलढुंगा : संघीय सांसद विकास कोषअन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड रुपैयाँ सडक तथा पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ। यसका लागि जिल्लाबाट २० वटा योजना छानिएको हो। छनोटमा परेका योजनामा खिजीफलाटे– श्रीचौर सडक निर्माण ५१ लाख, यसम–नर्कटेभञ्ज्याङ सडक निर्माण ५० लाख, मिसन मालिंगे, भिजन–२१०० का लागि १० लाख, सदरमुकामस्थित श्रष्टा पार्क निर्माण तथा व्यवस्थापन २० लाख, श्रीचौर खेल मैदान १० लाख, मानेभञ्ज्याङ–उदयपुर–उँबु सडक १० लाख, मोलुङ गाउँपालिका पूर्वाधार विकास ३० लाख, सिद्धिचरण नगरपालिका पूर्वाधार विकासका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी रुम्जाटार पावर हाउस जाने सडक १० लाख, खेलकुद विकास समिति पूर्वाधार विकास १० लाख, केत्तुके–पंखु–खाटा–मोली–निशंखे सडक १५ लाख, हिलेपानी सोलार ग्रिड निर्माण १५ लाख, कटुञ्जे–च्यानम–पोखरी भञ्ज्याङ सडक १० लाख, पारिजात आधारभुत विद्यालय माम्खाको भौतिक पूर्वाधार विकासका लागि १० लाख, मि श्रभञ्ज्याङ–तीनतले सडक १५ लाख, सहिद क्याप्टेन यज्ञबहादुर थापा स्मृति सभाहल निर्माणमा १० लाख रुपैयाँ रकम विनियोजन गरिएको छ।
त्यस्तै पात्ले–दोराखर्क–खुदुर्के–फाक्से सडक १० लाख, आँपस्वारा–ठोट्नेखोला–भदौरे सडक १० लाख, जनज्योति आधारभुत विद्यालय निभारेको भवन निर्माण १० लाख र सिस्नेरी भञ्ज्याङ–खानी–माटे–आरुभञ्ज्याङ–पुनटार सडकमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
सदरमुकामस्थित सांसद तथा स्थानीय सरकारका प्रमुखको भेलामा प्राप्त मागका विषयमा छलफल भएको थियो। निर्देशक समितिको छलफल र परामर्श समितिको सुझावका आधारमा प्रदेश र स्थानीय सरकारले अघि बढाउने योजनामा नदोहोरिने गरी पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड बजेट विनियोजन गरेको संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले जानकारी दिए। उनका अनुसार अहिलेको बजेटले सम्बोधन नभएका माग र आवश्यकता पहिचान गरेर प्रदेश र स्थानीय तहको बजेटबाट सम्बोधन गर्ने विषयमा निर्देशक समितिका सदस्यबीच सहमति भएको छ। निर्देशक समितिको संयोजक संघीय प्रतिनिधि सभाका सांसद रहने व्यवस्था छ।
संघीय संसदका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुुंगामा दुई सयभन्दा बढी साना–ठूला योजना माग भएका थिए। त्यसमध्ये २० वटा योजना छनोट गरेर बजेट विनियोजन गरिएको हो। छनोट गरिएका २० योजनामध्ये १० सडक निर्माण र १० अन्य पूर्वाधार निर्माणका छन्।
जिल्लाका अन्य योजना प्रदेशसभाका सांसदले विनियोन गर्न पाउने दुई करोड बजेटबाट सम्बोधन हुने प्रदेश सांसद मोहन खड्काले बताए। कार्यविधि आएपछि ती योजना छनोट हुनेछन्।