एपीएफ चौथो पटक च्याम्पियन
काठमाडौं : ‘प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता’ को उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। भद्रकालीस्थित आर्मीको मैदानमा बुधबार भएको फाइनल खेलमा एपीएफले आयोजक त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हरायो।
एपीएफ लगातार चौथो पटक च्याम्पियन बनेको हो। निर्धारित समयको खेल १–१ गोलका बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
प्रस्पिर्धात्मक खेलमा एपीएफले पहिलो हाफमा गोल गरेको थियो। निर्धारित समयमा एपीएफका लागि अनिता बस्नेतले सुरुआती गोल गरेकी थिइन्। आर्मीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। आर्मीका लागि विमला चौधरीले बराबरी गोल फर्काएकी थिईन्।
आर्मी पेनाल्टीमा भने जम्न सकेन। पेनाल्टीमा एपीएफ चार प्रहारमा सफल भयो। आर्मीले दुईवटा मात्र गोल गर्न सक्यो। उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँमा चिक्त बुझायो।
प्रतियोगितामा आर्मीकी पुनम गर्जामगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले यामाहा स्कुटर पुरस्कार पाइन्। प्रतियोगितामा विभागीय टोलीको आयोजक आर्मी, एपीएफ नेपाल पुलिस क्लब, सात प्रदेश र भारतका दुई पाहुना टोलीसहित १२ टोलीले भाग लिएका थिए। विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कार प्रदान गरे।