खेलाडी संघको सम्मानमा परेन क्रिकेट
काठमाडौं : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरेक वर्ष आयोजना गर्दै आइरहेको वर्षको उत्कृष्ट खेलाडीको सम्मानमा क्रिकेटलाई भने समावेश गरिएको छैन। संघले बिहीबार पत्रकार सम्मेलन मार्फत यो वर्ष सम्मानित हुने खेलको सूची सार्वजनिक गर्दा क्रिकेट भने छुटेको छ।
संघले गत वर्ष (२०७४) आयोजना भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी संघलाई सम्मानित गर्ने घोषणा गरे पनि गत वर्ष नै इतिहासमै पहिलो पटक एक दिवसीय टोलीको मान्यता हासिल गरेको नेपाली क्रिकेट भने सम्मानित हुने खेलको सूचीमा परेको छैन। राष्ट्रिय क्रिकेट टोलीले गत चैतमा जिम्बावेमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप छनोट प्रतियोगितामा एसोसिएट टोलीमध्ये (नेदरल्यान्ड्स बाहेक) शीर्ष तीनभित्र रहँदै पहिलो पटक एकदिवसीय टोलीको मान्यता सुरक्षित गरेको थियो।
संघले गत वर्ष भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपमा समावेश २९ वटा खेललाई मात्रै सम्मान गरिने खेलाडीको सूचीमा समावेश गरेको छ। संघका अध्यक्ष दीपक श्रेष्ठले राखेपमा दर्ता भएका सबै खेललाई समावेश गर्न मुस्किल भएकाले राखेप च्याम्पियनसिपलाई आधार मान्दा क्रिकेट छुटेको जानकारी दिए। ‘हामीलाई राखेपमा दर्ता रहेका सबै खेललाई सम्मानका लागि समावेश गर्न मुस्किल हुने भएकाले राखेप च्याम्पियनसिपलाई आधार बनाएका हौं’, पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने, ‘राखेप च्याम्पियनसिपमा समावेश नभएकाले क्रिकेट समावेश हुन सकेन।’
संघले हरेक वर्ष सम्बन्धित खेल संघको सिफारिसमा प्रत्येक खेलको एक÷एक खेलाडीलाई उत्कृष्ट खेलाडीको रूपमा सम्मान गर्दै आइरहेको छ। जसका लागि यस पटक गत राखेप च्याम्पियनसिपमा समावेश भएका २९ खेलहरू फुटबल, पौडी, भलिबल, टेबुलटेनिस, सुटिङ, बक्सिङ, भारत्तोलन, लनटेनिस, सफ्ट टेनिस, कबड्डी, फन्सिङ, हक्की, स्क्वास, सेपाकताक्रो, साइक्लिङ, खोखो, बास्केटबल, आईटीएफ तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, ह्यान्डबल, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती सम्मानका लागि छनोट भएको छ।
यी संघले पठाएको आफ्नो एक÷एक उत्कृष्ट खेलाडीलाई खेलाडी संघले वर्षको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गर्नेछ। यस्तै तीमध्येबाट एक पुरुष र एक जना महिला खेलाडीलाई वर्षको सर्वाेत्कृष्ट खेलाडीको रूपमा संघले सम्मानित गर्नेछ। उत्कृष्ट घोषित हुने खेलाडीले जनही १० हजार प्राप्त गर्नेछन्। सर्वाेत्कृष्ट खेलाडीले पाउने रकम सार्वजनिक नगरिए पनि अध्यक्ष श्रेष्ठले जनही २५ हजारभन्दा बढी रकम प्राप्त गर्ने जानकारी दिए।
आगामी पुस १३ गते ललितपुरको पाटन दरबार स्क्वायरमा विशेष कार्यक्रमको आयोजना गरी खेलाडीहरूलाई सम्मान गर्ने योजना बनाएको खेलाडी संघले नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित २५ हजार राशिको आदर्श खेलाडी सम्मान र खेल पत्रकारिता पुरस्कारलाई पनि निरन्तरता दिने जनाएको छ।