कांग्रेस महासमितिसँग पाँच अपेक्षा

कांग्रेस महासमितिसँग पाँच अपेक्षा

कांग्रेसले कम्युनिस्टहरूसँग कुनै पनि मोर्चामा सहकार्य र कार्यगत एकता गर्ने छैन भन्ने स्पष्ट राजनीतिक दिशा महासमितिबाट तय गर्नु आवश्यक छ


नेपाली कांग्रेसको चीरप्रतीक्षित महासमिति बैठक हुँदैछ। नेपालको संसदीय राजनीतिमा यतिबेला कांग्रेसको कमजोर उपस्थिति छ। संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्षणमा कांग्रेस राष्ट्रिय राजनीतिको किनारामा पुगेको छ। कांग्रेसभित्र छटपटी छ। त्यसैले पार्टीको सान्दर्भिकता र औचित्यमा बहस चलिरहेको छ। कांग्रेस नेतृत्व, नीति, संगठन र कार्यशैलीमा यथास्थितिमा रहिरहन सक्दैन। यसको पुनर्निर्माण जरुरी भनिँदैछ। कांग्रेसको महासमितिले केही महत्वपूर्ण र गम्भीर राजनीतिक मुद्दामा आफूलाई स्पष्ट पार्न र निश्चित मार्गदर्शन गर्न सक्नुपर्छ।

संविधानबारे

संविधानसभाबाट जारी संविधान कांग्रेसको सिद्धान्त संस्थागत भएको दस्ताबेज हो। लोकतन्त्रका आधारभूत मान्यता समेटिएको यो संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको हो। तत्कालीन सभापति सुशील कोइरालाको कठोर प्रतिबद्धता, समन्वयकारी नेतृत्व क्षमता र दृढ संकल्पित व्यवहारका कारण नै संविधान जारी भएको इतिहासलाई कांग्रेसले गौरवपूर्ण रूपमा उल्लेख गर्न सक्नुपर्छ।

संविधानलाई कांग्रेसले पुनः एकपटक दृढ समर्थन गर्नुपर्छ। संविधानले गरेका राजनीतिक परिवर्तन गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता र अधिकार सम्पन्न स्थानीय तहलाई सार्थक पार्न यो संविधानको इमानदारी र प्रभावकारी कार्यान्वयन आजको राष्ट्रिय प्राथमिकता हो। अब नेपाल संवैधानिक प्रक्रियाबाट मात्र गतिशील लोकतान्त्रिक राजनीतिक मार्गमा अगाडि बढ्नुपर्छ। फेरि संवैधानिक अस्थिरतातर्फ देशलाई धकेल्नु कदापि उचित हुँदैन। संविधानका कतिपय व्यवस्थाप्रति असन्तोष रहेका क्षेत्र, समुदाय र जनताको भावनालाई समेट्न, लोकतन्त्रका मूल्यमान्यतालाई थप सबल बनाउन एवं बहुलवादी समाजको बृहत्तर एकता र हित रक्षाका लागि आवश्यक संशोधन र सुधार गर्न कांग्रेस सदैव खुला र सकारात्मक रहेको स्पष्ट पार्न आवश्यक छ।

यसैगरी संविधान तर्जुमा गर्ने समयमा कम्युनिस्ट पार्टीहरूको अलोकतान्त्रिक वैचारिक भ्रमका कारण संविधानमा पर्न गएका कतिपय अलोकतान्त्रिक शब्दावली र प्रावधानमा टेकेर संविधानको मर्मविपरीत हुने असंवैधानिक नीति, कानुन निर्माण र सोचको सूक्ष्म निगरानी, त्यसको विरोध र संविधानको रक्षा गर्नु कांग्रेसको कर्तव्य हो। यो संविधानलाई कम्युनिस्ट अतिक्रमणबाट जोगाउनु, दक्षिणपन्थी अतिवादको आलोचनाबाट प्रतिरक्षा गर्नु तथा निरन्तर बहुलवादी र लोकतान्त्रिक मार्गबाट सुधार र संस्थागत गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ सार्थक बनाउने अभिभारा बहन गर्न कांग्रेसले स्पष्टरूपमा राजनीतिक स्वामित्वबोध उद्घोष गर्नुपर्छ।

नेकपासँग सहकार्यबारे

लोकतान्त्रिक आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीको योगदान सकारात्मक छ। लोकतान्त्रिक विधिबाट संसद्मा दुईतिहाइसरहको शक्ति आर्जन गरेपछि एकाएक एउटै पार्टी निर्माणमा जुटेको नेकपाको लोकतन्त्रप्रति विश्वास र निष्ठा नरहेको अनुभूति हुन थालेको छ। ०७ सालको जनक्रान्तिमा कम्युनिस्टहरूको उल्लेखनीय भूमिका थिएन। तर जनक्रान्तिपछिको राजनीतिक वातावरण बिथोल्न कम्युनिस्टहरूको नकारात्मक भूमिकाले मद्दत पुग्यो। ०१५ को संसदीय निर्वाचनमा सहभागी हुनु कम्युनिस्ट आन्दोलनको पहिलो सकारात्मक कदम थियो। ०

१७ को ‘कु’ पछि कम्युनिस्टहरू अनेक धारमा विभाजित भए। पुष्पलाल र उनका अनुयायीहरू संसद् प्रतिस्थापनको मागमा कांग्रेससँग सहमत भई संघर्षमा संलग्न भए पनि बहुसंख्यक कम्युनिस्ट समूहहरू राजा महेन्द्रको संरक्षणमा हुर्किए। ०३६ सालको जनमतसंग्रहमा समेत कम्युनिस्टहरू विभाजित भई पञ्चायतको पक्षमा प्रयोग भए। ०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चामा संगठित भई कांग्रेसको आह्वानमा आन्दोलनमा सहभागी हुनु र कार्यगत एकतामार्फत प्रजातन्त्र पुनस्र्थापनाको संघर्षमा समाहित हुन नेपाली कम्युनिस्ट आन्दोलनको सकारात्मक परिवर्तन थियो। तर कतिपय कम्युनिस्ट समूह कांग्रेसको नेतृत्वभन्दा पृथक् रही उग्र नारामार्फत आन्दोलन असफल गराउन सक्रिय भएका थिए।

कालान्तरमा ०४६ को परिवर्तनविरुद्ध सशस्त्र युद्धमै उत्रिए। प्रजातन्त्र, शान्तिपूर्ण मार्ग र प्रतिस्पर्धात्मक राजनीतिमा समर्थन गर्ने कम्युनिस्टलाई कांग्रेसले एक प्रतिस्पर्धी शक्तिका रूपमा राजनीतिक सम्बन्ध र सहकार्य गर्दै आयो भने बहुदलीय संसदीय प्रजातन्त्रविरुद्ध सशस्त्र युद्धमा संलग्न कम्युनिस्टसँग भने कांग्रेसले सशक्त प्रतिकार गर्न सकेन। अन्ततः उससँग बाह्रबुँदे सहमतिमार्फत सहकार्य गर्न कांग्रेस बाध्य भयो।

२०५९ पछि संसद् विघटन र निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्नु तथा २०६१ पछि देशमा निरंकुश सत्ता कायम गरेपछि नेपाली राजतन्त्रले संवैधानिक राजतन्त्रको मूल्य र मान्यतालाई पूर्णतः परित्याग गरी लोकतन्त्रसँग दुस्मनी लियो। अर्कोतर्फ कम्युनिस्ट सशस्त्र विद्रोहले देशमा हत्या, हिंसा र आतंकले उग्ररूप लियो। शान्ति, लोकतन्त्र र राष्ट्रियताका निम्ति कांग्रेसले कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गर्नुपर्‍यो, यो उसको बाध्यता थियो। राजाको निरंकुशताको अन्त्य र विघटित संसद्को पुनर्स्थापन गर्ने संघर्षमा कम्युनिस्टसँग सहकार्य भयो। शान्तिस्थापना गर्ने, संविधानसभाबाट नयाँ संविधान बनाउने र लोकतन्त्र सुनिश्चित गर्ने उद्देश्यले कम्युनिस्ट पार्टीका विभिन्न घटकबीच कांग्रेसको कार्यगत सम्बन्ध हुन पुग्यो।

रूपमा कोही उग्र देखिए पनि सारमा सबै कम्युनिस्ट लोकतान्त्रिक वातावरण र लोकतान्त्रिक शक्तिहरूविरुद्ध गोलबन्द हुँदै गएको प्रस्ट छ।

संविधान तर्जुमा गर्ने र संविधान कार्यान्वयनका लागि देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत संघीय, प्रादेशिक र स्थानीय सरकार खडा गर्ने विषयमा कांग्रेसको कम्युनिस्टहरूका मुख्य घटकहरूबीच प्रतिस्पर्धा र एकताको सम्बन्ध निरन्तर रह्यो। तीन तहको निर्वाचनका समयमा आएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकाएक मोर्चाबन्दी भयो र अन्ततः पार्टी एकताको स्थिति देखा पर्‍यो। यो एकताको मुख्य उद्देश्य नै लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट सत्ता र राज्यमा कम्युनिस्टहरूको एकतर्फी वर्चश्व स्थापित गराउनु थियो। निर्वाचनपछि कम्युनिस्टहरूको एउटै दल बनाउने र राज्यलाई कम्युनिस्ट पार्टीअन्तर्गत चलाउने काम तीव्ररूपमा अगाडि बढिरहेको छ। देशमा अहिले जेजति कम्युनिस्ट पार्टी छन्, ती सबै एउटै मोर्चा र ध्येयमा जुटेका छन्।

रूपमा कोही उग्र देखिए पनि सारमा सबै कम्युनिस्ट लोकतान्त्रिक वातावरण र लोकतान्त्रिक शक्तिहरूविरुद्ध गोलबन्द हुँदै गएको प्रस्ट छ। यसैले कांग्रेसले कम्युनिस्टहरूको लोकतन्त्रीकरण एउटा छलछाम र धोखाधडीका रूपमा मात्र रहेछ भन्ने बुझ्नुपर्छ। कम्युनिस्टहरू लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय छन् र उनीहरू नेपाललाई लोकतन्त्रका अवसरहरू प्रयोग गरी लोकतन्त्र मास्दै एकदलीय सर्वसत्तावादतर्फ अगाडि बढाउन क्रियाशील देखिन्छन्। तसर्थ कांग्रेसले कम्युनिस्टहरूसँगको सम्बन्धमा स्पष्ट वैचारिक संघर्ष सुरु भएको ठान्नुपर्छ। र, अब कम्युनिस्टसँगको राजनीतिक दूरी स्पष्ट गर्न सक्नुपर्छ। वर्तमान संविधानको रक्षा गर्ने मूल मुद्दामा कुनै कालखण्डमा आवश्यक परेबाहेक अब कांग्रेसले कम्युनिस्टहरूसँग कुनै पनि मोर्चामा सहकार्य र कार्यगत एकता गर्ने छैन भन्ने स्पष्ट राजनीतिक दिशा महासमितिबाट तय गर्नु आवश्यक छ।

बहुलवादी खुला र समतावादी संस्कृति

नेपाली समाज बहुलवादी संस्कृतिले भरिपूर्ण छ। विविधताको सम्मान नै एकताको आधार हो भन्ने कांग्रेसले भन्र्दै आएको छ। भाषा, संस्कृति, जाति, समुदाय र सभ्यताको समेत पृथक्पृथक् तर एकअर्कामा अन्तर सम्बन्धित भएर नेपाली सभ्यता अगाडि बढिरहेको छ। पहिचानको सम्मान, सहिष्णुता र सद्भावको उत्प्रेरणा, आपसी एकता र अन्तरनिर्भरताको आधार नै बहुलवादी समाजको विशेषता हो। कांग्रेसले बहुलवाद, समाज, संस्कृति, राजनीति र सभ्यताको सम्मि श्रणको प्रतीकको हो भन्ने स्पष्ट सन्देशसहित बहुलवादी समतावादी संस्कृति निर्माणमा जुट्नु आवश्यक छ।

नेपाली समाजले विभेद र भेदभावको संस्कृति अस्वीकार गर्छ। लोकतन्त्र सामन्तवादी सोच, शैली, संस्कार तथा वर्गवादी घृणाजन्य सोच र चिन्तन दुवै समाजका लागि घातक छन्। गणतन्त्रले सबैको सम्मान, समानता र ऐक्यभावमा आधारित सामाजिक मूल्य पद्धति र संस्कृतिको माग गर्छ। सबैको सम्मान हुने, सबैको विविधतापूर्ण पहिचान रहने समतामूलक संस्कृतिको प्रवद्र्धन आजको माग हो। लोकतन्त्र केवल राजनीतिक प्रणाली र पद्धति मात्र होइन, यो त सामाजिक व्यवस्था हो, जो समग्रमा समानताको आधारमा सञ्चालित हुन्छ। समानताको यो मूल्य सांस्कृतिक जागरणबाट मात्र दिगो बन्छ। कांग्रेसले बहुलवादी, समतावादी, खुला समाज प्रवद्र्धन गर्नुलाई आफ्नो महत्वपूर्ण राजनीतिक जिम्मेवारी ठान्नुपर्छ। खुला समाजको जगेर्ना गर्न अपरिहार्य राजनीतिक उदारता र उदार एवं खुला शासकीय प्रणाली सुनिश्चित गराउनु कांग्रेसको ध्येय हो भन्ने स्पष्ट पार्नु आवश्यक छ। सभ्य समाज निर्माण गर्न कांग्रेसले यी मूल्यहरूको निरन्तर रक्षा र प्रवद्र्धन गर्दै उक्त दायित्वलाई आफ्नो एक मूल राजनीतिक कर्तव्य मान्नुपर्छ।

शान्ति, अहिंसा र न्यायबारे

बाह्र वर्षदेखि जारी शान्ति प्रक्रिया अझै तार्किक निश्कर्षमा पुग्न सकेको छैन। यो गम्भीर चिन्ता र चासोको विषय हो। द्वन्द्वको मारमा परेका पीडितजन र तिनका परिवारले न्यायको महसुस गर्न सक्ने परिस्थिति निर्माण गर्नु अपरिहार्य छ। तर अझै पनि द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न सकेका छैनन्। बेपत्ता पारिएकाहरूको परिवारजनको चीत्कार अझै सम्बोधन हुन बाँकी छ। सत्य निरूपण तथा मेलमिलापका संयन्त्रहरू प्रभावकारी हुन सकेका छैन। द्वन्द्वको सन्तोषजनक समाधान हुन नसके अशान्तिको बीउ जिउँदै रहन्छ। मधेस आन्दोलनका पीडितको न्याय प्राप्तिको विषयले पनि सार्थक निष्कर्ष पाइसकेको छैन। यो स्थितिमा शान्तिको सुनिश्चितताको विषय दूर हुँदै गएकोमा कांग्रेस गम्भीर देखिएको छैन।

शान्ति प्रक्रियाको एक जिम्मेवार पक्ष कांग्रेस हो। त्यसैले कांग्रेसले यो जिम्मेवारी बिर्सनु हुँदैन। शान्ति, अहिंसा र न्यायको वातावरण सुनिश्चित गराउन असफल भएमा परिवर्तनले स्थायित्व पाउन सक्दैन। न्यायको सुनिश्चितताले मात्र दिगो शान्तिको वातावरण निर्माण गर्छ। अनि मात्र समाजमा अहिंसाको महत्व र सान्दर्भिकता स्थापित हुन सक्छ। कांग्रेसले सम्पूर्णरूपमा शान्ति, अहिंसा र न्यायमा विश्वास जाहेर गर्नुपर्छ। यो एउटा सच्चिने अवसर पनि हो। यसका लागि समर्पित भई सक्रिय हुनु आफ्नो कर्तव्य ठान्नुपर्छ। अहिंसाको संस्कृति निर्माण गर्न कांग्रेसले वैचारिक जागरण अभियान चलाउने जिम्मेवारी पनि लिनुपर्छ। निराशा, हतास र घृणाको सञ्चार व्यापकरूपमा विषसरह समाज र सभ्यतामै फैलिएको छ। यो नेपाली सभ्यता र राष्ट्रिय भावनाका लागि ठूलो चुनौती हो। यो चुनौतीको सामना गर्न न्यायको सुनिश्चिताको प्रत्याभूति गराउन आवश्यक छ। त्यसैले कांग्रेसले न्याय, शान्ति र अहिंसाको एकताबद्ध शब्दावलीलाई आफ्नो निष्ठाको मूलतŒव हो भनेर महासमितिबाट स्पष्ट गर्नुपर्छ।

नागरिक स्वतन्त्रताबारे

व्यक्तिका राजनीतिक तथा नागरिक स्वतन्त्रता सदैव अक्षुण्ण रहनुपर्छ भन्ने मान्यतामा कांग्रेसले आफ्नो दृढ समर्थन व्यक्त गर्न आवश्यक छ। कुनै पनि बहानामा नागरिक अधिकार र स्वतन्त्रताको अतिक्रमण हुन सक्दैन। विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, राजनीतिक दल र संगठन सञ्चालन गर्ने हक, आम नागरिकहरू संगठित भई संघसंस्था सञ्चालन गर्न पाउने हक, पेसा–व्यवसाय रोज्न पाउने हक तथा देशका सबै भूभागमा सबै नेपालीको विनारोकतोक घुमफिर गर्न पाउने स्वतन्त्रता एवं नागरिकहरू भेला हुने, बैठक गर्ने, विरोध गर्नेजस्ता मौलिक स्वतन्त्रताको जगेर्नाविना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन। यी आधारभूत स्वतन्त्रताको संवद्र्धन र रक्षाका लागि कांग्रेस हरदम सचेत रहनुपर्छ। स्वतन्त्र न्यायालयको रक्षा, स्वतन्त्र प्रेसको संरक्षण, संवैधानिक अंगहरूको स्वायत्तताको प्रत्याभूति, विश्वविद्यालय एवं प्राज्ञिक जगत्को स्वायत्तताको सम्मान र कदर तथा नागरिकको संगठित भएर अभिव्यक्ति गर्ने संस्कृतिको संवद्र्धन पनि कांग्रेसको मूल राजनीतिक जिम्मेवारी नै हो।

यस्तै भाषा, संस्कृति, धर्म, कला, रहनसहन, ज्ञान, विज्ञान र सीर्जनशीलताका क्षेत्रको स्वायत्तता, स्वतन्त्रता र तिनको संवद्र्धन तथा प्रवद्र्धन गर्ने उदार लोकतान्त्रिक राज्यको प्रत्याभूति दिने कुरा कांग्रेसको विश्वास र आस्थाकोे पक्ष हो। तर कांग्रेस यस्ता प्रश्नमा केही समयदेखि अन्योलग्रस्त रहँदै आएको छ। कांग्रेसले मानवीय सभ्यताका यी सुन्दर र संवेदनशील पक्षहरूको संवद्र्धन र विकास आफ्नो कर्तव्य हो भनेर सम्झने मात्रै होइन, निसंकोच अग्रसर हुनुपर्छ। यी स्वतन्त्रताका मूल्यमाथि हुने राज्य– दमन, अतिक्रमण वा हस्तक्षेपको कांग्रेसले विरोध गर्न सक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.