मनाङलाई पछ्याउँदै आर्मी, हिमालयन शेर्पा २-१ ले पराजित

मनाङलाई पछ्याउँदै आर्मी, हिमालयन शेर्पा २-१ ले पराजित

काठमाडौं : कप्तान भरत खवासले दुई गोल गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको रोचक खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २-१ गोलले हरायो।

लिगमा अपराजित यात्रा कायम राखेको आर्मी जितसँगै दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले पाँच खेलबाट १३ अंक बनाएको छ। शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको १५ अंक छ। 

हिमालयन शेर्पाले भने आर्मीसँगको हारसँगै लिगमा अपराजित यात्रामा पूर्णविराम लगाएको छ। शेर्पाको पाँच खेलबाट १० अंक छ।

३३ औं मिनेटमा सन्तोष तामाङको कर्नरमा अनमार्क हेड गोल गर्दै भरतले आर्मीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए। त्यसअघि पनि भरत गोललाइन नजिकबाट गोल गर्न चुकेका थिए। 

भरतले ८५ औं मिनेटमा दिनेश हेम्जनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई जित नजिक पुर्‍याएका थिए। दोस्रो हाफमा रक्षात्मक रणनीति अपनाएको आर्मीमाथि शेर्पाले पनि लगातार पोस्ट प्रहारको अवसर बनाएको थियो।

हिमालयन शेर्पाका लागि अफ्रिकी खेलाडी उलरिच सिवेले ८७औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए। उलरिचले डिबक्स छेउबाट गरेको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले नियाल्न समेत भ्याएनन्। 

खेलको अन्तिम मिनेटसम्म आर्मीलाई कडा टक्कर दिएको शेर्पाको थप गोल फर्काउने प्रयास भने सफल हुन सकेन। पहिलो गोलदेखि नै रक्षात्मक देखिएको आर्मीले दोस्रो हाफमा केही दबाब झेलेको थियो। आर्मीका कप्तान भरत म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफमा अग्रता लिएकाले तीन अंक जोगाउन दोस्रो हाफमा रक्षात्मक खेल खेलेको बताए। 

‘हामीले हेर्ने भनेको मनाङलाई हो। आजको तीन अंकले मनाङसँगको दुरी केही कम भएको छ। दोस्रो हाफमा रक्षात्मक र काउन्टर एट्याकको खेल खेल्दा हामी सफल भयौं,’ नवीनले भने। हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले आर्मीजस्तो टोलीसँग खेलाडीले राम्रो खेलेको बताए। ‘हामीले पनि उत्तिकै मौका पाएका थियौं। गोल नहुँदा पछाडि परियो,’ सुवासले भने।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.