निर्मला हत्या प्रकरण : पुनर्बहाली गर्न एसपी विष्ट र इन्स्पेक्टर भट्टको माग
काठमाडौं : निर्मला पन्त हत्याको घटना अनुसन्धानमा लापरवाही गरेको आरोपमा बर्खास्त एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले पुनर्बहालीको माग गरेका छन्।
दुवैले पुनर्बहाली माग गर्दै गृह मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराएका हुन्।
विष्टले गत आइतबार मन्त्रिपरिषद्मा निवेदन दिएका हुन् भने भट्टले मंगलबार निवेदन दिएका छन्। ‘प्रहरी नियमावलीअनुसार बर्खास्त गरेको ३५ दिनभित्र पुनर्बहालीका लागि निवेदन दिन सकिने भएकाले हामीले यो कदम उठाएका हौं’, विष्टले भने, ‘अब मन्त्रिपरिषद् निर्णयको प्रतिक्षामा छौं, त्यहाँबाट निर्णय आएपछि आगामी कदमबारे सोच्नेछौं।’
गृहमन्त्रालय स्रोतले पनि दुवै जनाको निवेदन आएको जनाउँदै मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिएको छ। ‘दुवै जनाले गृहमार्फत् मन्त्रिपरिषद्मा निवेदन दिएका छन्’, स्रोतले भन्यो, ‘थप कारवाही र निर्णयका लागि निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका छौं।’
कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अनुसन्धानमा गम्भीर लापरवाही गरेको निचोडसहित दुवै जनालाई आईजी सर्वेन्द्र खनालले गत असोज २९ मा सेवाबाट निस्कासन गर्न गृहमा पत्राचार गरेका थिए।
प्रहरी महानिरीक्षकको पत्रअनुसार गृह मन्त्रालयले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गरेको थियो।
घटना अनुसन्धानमा विष्ट नेतृत्वको जिल्ला प्रहरी कार्यालयको टोलीले गम्भीर लापरवाही गरेको निचोड प्रहरी प्रधान कार्यालयले निकालेको थियो।
गृह मन्त्रालयले कात्तिक ८ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गरेको थियो।
त्यसपछि एसपी विष्ट, डीएसपी ज्ञानबहादुर सेठी र अंगुर जीसी, इन्स्पेक्टर एकेन्द्र खड्का र जगदीश भट्ट तथा असइ रामसिंह धामी निलम्बनमा परेका थिए। प्रधान कार्यालयले निलम्बितमध्ये विष्ट र भट्टलाई बर्खास्त गरेको थियो।
दुवै जनाले पूर्वाग्रह राखी आफूहरूलाई बर्खास्त गरेको आरोप लगाउँदै कानुनी उपचारमा जाने बताएका थिए। ‘हामीलाई पूर्वाग्रही तवरबाट कारवाही चलाई सेवाबाट हटाइएको पहिले नै भनिसकेका छौ्र’, विष्टले भने, ‘मन्त्रिपरिषद्बाट पुनर्बहाली नभए अन्य कानुनी उपचारको विकल्प खोज्छौं।’
दुवैको मागअनुसार मन्त्रिपरिषद्बाट निर्णय नभए अदालत जाने बाटो खुल्नेछ। प्रहरी प्रधान कार्यालयले यस प्रकरणमा जोडिएका एसपी विष्ट, उनका छोरा किरण विष्ट, भीमदत्तनगर नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, स्थानीय दीलिपसिंह विष्ट र चक्र बडुलसहित ९ जनाको डीएनए परीक्षण गरेको थियो। सबैको रिपोर्ट नेगेटिभ निस्किएपछि हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन।
गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट गाउँको उँखुबारीमा भेटिएको थियो। त्यसयता चलेको आन्दोलनमा महेन्द्रनगरमै एक जनाको ज्यान गइसकेको छ। निर्मलालाई न्यायका लागि देशभर आन्दोलन भइरहे पनि प्रहरीले अपराधीको पहिचान गर्न असफल भएको छ।
प्रतिक्रिया दिनुहोस !