जन्मसिद्धका सन्तानलाई नागरिकता दिलाउन एकमत

जन्मसिद्धका सन्तानलाई नागरिकता दिलाउन एकमत

जनकपुरधाम : जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउन प्रदेश २ को सभामा रहेका दल एकमत भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकले यसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रस्ताव पेस गरेका थिए । प्रतिपक्ष नेकपा र कांग्रेस सांसदले पनि समर्थन गरेपछि प्रस्तावमा सर्वसम्मति जुटेको हो ।

यो प्रस्ताव संघीय सरकारलाई पठाएर नागरिकतासम्बन्धी कानुन अविलम्ब बनाउन दबाब दिइने भएको छ । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन नसक्दा उच्च शिक्षाबाट वञ्चित भएको, बैंक खाता खोल्न नसकेको र वैदेशिक रोजगारीमा जान नपाएको सांसदहरूले बताए ।

नेकपाका रामचन्द्र महतोले नागरिकता समस्या सधैंका लागि समाधान गर्नुपर्नेमा जोड दिए । ‘कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गर्न नहुने संविधानमा उल्लेख छ’, सांसद महतोले भने, ‘तापनि, नागरिकताबाट वञ्चित भएकाहरूले अनेकौं समस्या झेलिरहेका छन् । अब पनि नागरिकता दिन ढिलो भए उनीहरू विद्रोह गर्ने सम्भावना छ ।’

नेकपाकै दिलीप साहले नागरिकतासम्बन्धी कानुन छिटो बनाउनका लागि सबै दल एकजुट भई संघीय सरकारलाई दबाब दिनुपर्ने बताए । आरोप÷प्रत्यारोप छाडेर नागरिकता समस्या समाधानका लागि केन्द्रमा डेलिगेसन जानुपर्ने सुझाव उनले दिए । भने, ‘समस्या समाधान गर्न संघीय सरकारले अविलम्ब कानुन ल्याउनुपर्छ ।’ २०६३ सालमा गरिएको नागरिकता वितरणको छानबिन गरेर गलत ढंगबाट लिएकालाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

राजपाका उपेन्द्र महतोले विभेदकारी सोचका कारण मधेसका थुप्रै युवा नागरिकताबाट वञ्चित भएको बताए । उनीहरूको भविष्य बर्बाद हुन लागेको उनको भनाइ थियो । ‘काठमाडौंमा नारा लाग्दै छ– सरकार भेटियो, न्याय भेटिएन’, सांसद महतोले भने, ‘हामी भन्दै छौं– संविधान भेटियो, अधिकार भेटिएन ।’

संघीय समाजवादी फोरमका रामआशिस यादवले नागरिकतासम्बन्धी प्रस्ताव विशेष परिस्थितिमा आएको बताए । २ हजार २ सय किलोमिटर खुला सिमानाको सुरक्षा गर्नेहरू नागरिकताबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो । ‘खोक्रो राष्ट्रवाद अब स्वीकार्य हुँदैन’, सांसद यादवले भने ।

आमाको नामबाट नागरिकता नदिँदा कैयन् युवायुवती विभिन्न अवसरबाट वञ्चित भएको सांसद सरस्वती चौधरीले बताइन् । ‘बुवाको निधन भयो र आमासँग वंशजको नागरिकता छ भने तिनका छोराछोरीले नागरिकता पाउने कि नपाउने ? ’, उनले प्रश्न गरिन्, ‘तिनीहरूलाई पनि नागरिकता दिनुपर्छ तर सीडीओहरू बुवा खोज्छन् ।’ बुवाको निधन भएकाहरूलाई आमाको नामबाट सहज रूपमा नागरिकता प्रदान गर्नुपर्ने उनको माग थियो ।

प्रदेश २ सरकारले जन्मसिद्ध नागरिकता प्राप्त गरेकाहरूका सन्तानलाई नागरिकता दिन आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो । तर, सीडीओहरूले निर्देशनअनुसार काम गरेका छैनन् । बरु प्रदेशको पत्र उनीहरूले संघीय सरकारलाई पठाएका थिए । संघीय सरकारले जवाफ पठाएको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.