टुकीको भरमा जुम्ली

टुकीको भरमा जुम्ली

जुम्ला : देश लोडसेडिङमुक्त घोषणा भइसक्दासमेत जुम्लावासी क्यान्डलको भरमा रात काट्न विवश छन्। आठ स्थानीय तहसहित करिब एक लाख २० हजार जनसंख्या रहेको जुम्लाका १८ हजारमध्ये ५ हजार घरधुरी मात्रै विद्युत्को पहुँचमा छन्। जुम्लाबाट प्रतिनिधित्व गर्दै आएका सांसदले पाँच वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाउने उद्घोष गरेका थिए। तर, अधिकांश जुम्लीले भने क्यान्डल, टुकी, झरो र सौर्य ऊर्जाको भर पर्नुपरेको छ।

दैनिक १४ घण्टाको लोडसेडिङ हटाउन भन्दै घुघुतीस्थित साना जलविद्युत् मर्मत गर्न थालेपछि सदरमुकामसँगै चन्दननाथ नगरपालिका एक महिनादेखि अँध्यारो बनेको हो। लोडसेडिङले कार्यालयको सेवा प्रवाहमा समेत समस्या परेको चन्दनाथ नगरपालिकाका नायब सुब्बा लक्ष्मीचन्द्र न्यौपाने बताए। उनले भने, ‘विद्युत्को भर छैन, कार्यालयको काम सहज होस् भनेर वैकल्पिक ऊर्जा सोलारको व्यवस्था गरेका छौँ।’ सदरमुकाम बसेर कक्षा ११ मा अभ्ययनरत धनसरा शाहीले लोडसेडिङले अध्ययन प्रभावित भएको बताइन्। उनले भनिन्, ‘भाडाको घरमा वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा मोबाइलसमेत चार्ज गर्न पाइँदैन, जसले गर्दा आफन्तसँग पनि सम्पर्कविहीन हुनुपरेको छ।’

 बिजुली आउँदैन, बिल आउँछ

सदरमुकामस्थित साना जलविद्युत्का अधिकांश ग्राहकले बिजुली नबले पनि महसुल तिर्ने गरेको बताएका छन्। पाँच सय घरधुरीका लागि उत्पादित दुई सय किलोवाट क्षमताको विद्युत्का ग्राहक ३५ सय पुगेपछि समस्या भएको हो। तत्कालीन राजा वीरेन्द्र सरकारको सहयोगमा ०४० माघ २० बाट विद्युत् सञ्चालनमा आएको थियो। उपभोक्ता शेरबहादुर बुढाले भने, ‘कतिखेर विद्युत् आउँछ, जान्छ पत्तो हुँदैन, विद्युत् नबालेरै हाम्रो पैसा सकिन्छ, वैकल्पिक ऊर्जा सोलार र दियालोको जोहो गर्ने समस्या टरेको छैन।’ साना जलविद्युत्का लागि उपलब्ध जुगाड खोलामा पानीको बहाव घट्दै जानु र विद्युत्गृहको मेसिन जीर्ण हुनुले विद्युत् उत्पादन घटेको समितिका इन्चार्ज हर्कबहादुर बोहराले बताए।

साना जलविद्युत् उपभोक्ता समितिद्वारा आपूर्ति हुँदै आएको विद्युत् मर्मत भइरहेकाले एक महिनापछि जिल्ला सदरमुकाममा लोडसेडिङ अन्त्य हुने समितिले जनाएको छ। समितिको पावर हाउसमा नयाँ मेसिन जडान भइरहेको छ। भारतीय दूतावासको सहयोगमा खरिद गरिएको मेसिन ३५ वर्षपछि जडान गरिएको हो। पुस दोसो्र साताभित्र विद्युत् सञ्चालनमा आउने समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए। उनका अनुसार मेसिन ३९ करोड ९ लाख लागतमा जडान गरिएको हो।

यस्तै, जिल्लाका स्थानीय तहले उज्यालो अभियानको नारासँगै आ-आफ्नो तहलाई पुग्ने गरी विद्युत् उत्पादनमा जोड दिइरहेका छन्। दुई वर्षभित्र तातोपानी गाउँपालिकालाई पनि अँध्यारोमुक्त बनाउने गरी पालिकाले योजना र बजेट व्यवस्थापन गरेको अध्यक्ष नवराज न्यौपानेले बताए। जिल्लालाई नै अँध्यारोमुक्त बनाउने उद्देश्यले कर्णाली प्रदेश सरकारको लगानीमा एक मेगावाटको चुकेनी जलविद्युत् आयोजना पनि तीव्र रूपमा अघि बढिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.