अंग्रेजी भाषाको मोहत्याग कहिले ?
त्रुटिपूर्ण अंग्रेजी भाषाको प्रयोगबाट आफ्नो बौद्धिक पहिचान स्थापित गर्न खोज्नु औचित्यहीन अभ्यास सावित हुन्छ
केही दिनअघि एक अर्धसाहित्यिक कार्यक्रममा सहभागी हुने अवसर जुर्यो। त्यहाँ नेपाली श्रोताको बाक्लो उपस्थितिबीच भारतीय दार्शनिक लेखक गुरुचरण दास प्रमुख अतिथिका रूपमा उपस्थित थिए। मीठो अंग्रेजीभाषी नेपाली महिला उद्घोषकले कार्यक्रम सञ्चालन गरेकी थिइन्। सुरुमै प्रमुख अतिथिले संवाद नेपाली भाषामा होस् भन्ने चाहेका थिए, जसले नेपालीलाई सहज हुने उनको आशय थियो। दासले त आफूले नेपाली बुझ्ने र बोल्ने जानकारीसमेत गराएका थिए, तर पनि वक्ताहरूले अंग्रेजीमै भाषण गरे। विशेष अतिथि रहेका पर्यटनमन्त्रीज्यूले आफ्नो पालो आउँदा खल्तीबाट कागज निकालेर अंग्रेजीमा वाचन गर्न सुरु गरे। सँगै बसेका एक सज्जनले सोधे, ‘उहाँले अंग्रेजीमा किन बोल्नुभएको होला ? ’ मन्त्रीज्यूले अंग्रेजी शब्द उच्चारण तोडमोड गरेर नबोलिदिएको भए सायदै तिनले त्यो प्रश्न उठाउने थिए।
त्यतिबेला मलाई केटाकेटी हँुदा हेटौंडा बजारमा भएको एउटा घटना स्मरण भयो। एक दिन बेलुका बजारमा बुवासँग एकजना सुटेड–बुटेड व्यक्तिले अंग्रेजीमा कुरा गर्दै मात्र के थिए, बुबाले वक्तालाई रोक्दै भन्नुभयो, ‘बाबु अंग्रेजी भाषा बडो मिठासपूर्ण छ, किन तोडमोड गरी बिगारी दिनुहुन्छ ? ’ तिनले थाहा पाइहाले, ‘तपाईं पढेलेखेको हुनुहुँदो रहेछ। कमसेकम मजस्तो नेपालीसँग आफ्नै भाषामै बोल्ने कृपा गरिदिँदा तपाईंको बौद्धिक पहिचानको ओजन घट्दैन।’
त्यसको केही दिनपछि बुवाले हिन्दी भाषाको ‘धर्म युग’ साप्ताहिक पत्रिका थमाउँदै भन्नुभयो, ‘ल यो राम्रोसँग पढ्।’ त्यसमा प्रकाशित भारतीय समाजवादी नेता डा. राममनोहर लोहियाको लेख पढ्न लगाउनुभयो। त्यो लेखमा डा. लोहियाले अंग्रेज साम्राज्यको बिदाइ गरेका भारतका विद्वान्ले भने आफूहरूले ‘अंग्रेजको गुलामी’ त्याग्न नसकेकाले बोलीचालीमा अंग्रेजी भाषाको प्रयोग गर्छन् भनी कटाक्ष गरेका थिए। नेपाल त स्वतन्त्र राष्ट्र, त्यसमा पनि एक सय २३ भाषाभाषीको संगमस्थल भए पनि अधिकांशले नेपाली भाषा प्रयोग गर्नेहरूको देश !
सिराक्युस विश्वविद्यालयमा अध्ययनरत छोरीलाई भेट्न सन् २००४ मा अमेरिका पुगेको थिएँ। छोरीले त्यही दिन कोर्नेल विश्वविद्यालयमा विद्यार्थी नेता गगन थापाको भाषण सुन्न ‘जाम्’ भनिन्। त्यहाँ पूर्वविद्यार्थी नेता थापाले प्रहरीलाई ढुंगा हान्न लागेको तस्बिर देखेको थिएँ। त्यसपछिका दिनमा भने सीएनएन टेलिभिजनको एसियाका उदीयमान नेतासम्बन्धी विशेष कार्यक्रममा गगन थापा तथा रामकुमारी झाँक्रीलाई प्रस्तुत गरिएको थियो। कार्यक्रमको फुटेजमा युवा नेता थापाले कीर्तिपुरको जनसमुदायलाई सम्बोधन गरेको अत्यन्त प्रभावकारी दृश्य पनि सामेल थियो। यात्राको थकाइ बिर्सेर ज्वाइँछोरीसँगै कोर्नेल विश्वविद्यालय पुगे। खचाखच भरिएको विश्वविद्यालयको सभाकक्षमा अमेरिकी र नेपाली (मूलका) श्रोताको संख्या बराबरीजस्तै थियो।
उद्घोषक प्राध्यापकले अंग्रेजी भाषामा गगन थापाको छोटो परिचय दिँदै तिनलाई माइक थमाइदिए। प्रस्ट अंग्रेजी भाषामा गगनले सञ्चालकसँग आफूलाई नेपाली भाषामा बोल्दा सहज हुने भएकाले नेपालीमा बोल्न अनुमति मागे। सञ्चालकले तिनलाई नेपालीमा बोल्न अनुमति दिँदै श्रोताहरूसँग आग्रह गरे, ‘दोभाषेको प्रबन्ध नभएकाले नेपाली भाषा बुझ्ने श्रोताहरूले आफूसँगै बसेका नेपाली भाषा नबुझ्नेलाई सानो स्वरमा थापाको भाषणको अनुवाद गरिदिनुहोस्।’ त्यसपछि नेपाली नबुझ्ने विदेशी श्रोताहरू नेपालीहरू खोजी–खोजी सँगै बस्न गए। ‘राजाहरूले पटक–पटक जनतालाई धोका दिएर प्रजातन्त्र खोसेकाले अबको आन्दोलन गणतन्त्रकेन्द्रित हुनुपर्छ’ भन्ने थापाको भाषणको सार थियो। भाषणबीच खुबै ताली घन्किएकाले गगनले बेलाबेलामा रोकिनुपरेको पनि थियो। भाषणपछिको प्रश्नोत्तर कार्यक्रममा भने गगनले अंग्रेजी भाषाको प्रयोग गर्ने नेपाली प्रश्नकर्ताको उत्तर नेपाली भाषामै दिए भने गोराहरूको उत्तरचाहिँ अंग्रेजीमा।
प्रख्यात अमेरिकी विश्वविद्यालयले आयोजना गरेको गगन थापाको उक्त कार्यक्रम हुनुभन्दा २–३ वर्षपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अमेरिका भ्रमणमा हँुदा सीएनएनले तिनको ‘लाइभ’ अन्तर्वार्ता प्रसारण गर्यो। अन्तर्वार्तामा कोइरालाले अंग्रेजी भाषा प्रयोग गरेका थिए। त्यो अन्तर्वार्ता बहुचर्चित रह्यो। विडम्बना अन्तर्वार्ता चर्चित हुनुको कारण नेपाली प्रधानमन्त्रीको सन्देश नभएर तिनले प्रयोग गरेको अस्पष्ट, अशुद्ध टुटे–फुटेको अंग्रेजी भाषा थियो। विश्वव्यापी प्रतिक्रिया थियो, ‘अंग्रेजी भाषा कमजोर हुने व्यक्तिले किन उक्त भाषाको प्रयोग गरेर आफ्नो व्यक्तिगत तथा राष्ट्रको छवि धमिल्याएका हुन् ? ’ प्रधानमन्त्रीको उक्त अन्तर्वार्तापछि अमेरिकाका लागि तत्कालीन नेपाली राजदूतको जागिर गुम्यो। त्यतिखेर आएको टीकाटिप्पणीअनुसार प्रधानमन्त्री गिरिजाप्रसादले अन्तर्राष्ट्रिय मिडियामा सुनियोजित तरिकाले आफूलाई ‘एक्स्पोज’ गरिदिएको आरोप राजदूतलाई लगाएका थिए। राजदूतको आकस्मिक बर्खास्तीको वास्तविक कारणसँग पंक्तिकार अझै अनभिज्ञ छ।
अन्तर्वार्ताको अन्तिम चरणमा पुगेपछि चिनियाँ राष्ट्रपतिलाई अंग्रेजी भाषामा सन्देश दिन अनुरोध गरियो। उक्त अनुरोध अस्वीकार गर्दै जेमिनले चिनियाँ भाषामै भने, ‘मानवहरूको बाँच्ने अधिकार नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो।’
नेता र राष्ट्रिय भाषा
सन् १९७७ मा जनता पार्टीको सरकार गठनसँगै भारतीय कांग्रेस पार्टीको स्वतन्त्रता प्राप्तिपछि उसले कायम गरेको वर्चस्वको अन्त्य भयो। जनता दलको सरकारमा मोरारजी देशाई प्रधानमन्त्री तथा विदेशमन्त्री अटल बिहारी बाजपेयी थिए। भारतीय परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसंघको बत्तीसौं साधारणसभामा हिन्दी भाषामा सम्बोधन गरे। हिन्दी भाषामा तिनको सम्बोधनले राष्ट्रसंघ सचिवालयमा खैलाबैला मच्चायो। राष्ट्रसंघले औपचारिक प्रयोगका लागि मान्यता दिएका भाषा ६ वटा मात्र छन्– अंग्रेजी, स्पानिस, फ्रेन्च, अरबिक, रूसी र चिनियाँ। राष्ट्रसंघले आयोजना गर्ने बैठकमा वक्ताहरूले यिनै ६ मध्ये एक भाषाको प्रयोग गर्ने परम्परा छ। दोभाषेहरूले अन्य पाँच भाषामध्ये एकमा वक्ताले बोल्दाबोल्दै गर्दा उल्था गर्छन् अन्य श्रोताहरूका निमित्त। वाजपायीले हिन्दी भाषामा महासभाको बैठकमा सम्बोधन गर्ने निर्णयले निम्त्याएको जटिलताको वर्णन त्यसबखत भारत सरकारको राष्ट्रसंघस्थित कूटनीतिक नियोगका पदाधिकारी शिवशंकर मेननले आफ्नो पुस्तक ‘च्वाइसेज’ मा वर्णन गरेका छन्। बाजपेयीको हिन्दी भाषामा भएको उक्त सम्बोधनको निन्दा भने भएन, बरु चौतर्फी प्रशंसा र ‘साहसिक कदम’ मानियो।
सीएनएन टेलिभिजनमा क्रिस्टियान अमानपुरले चीनका शक्तिशाली राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासजिव जियाङ जेमिनसँग सन् २००२ मा लिएको लामो अन्तर्वार्ता प्रत्यक्ष प्रसारण गरिएको थियो विश्वभर। इन्जिनियरिङ विषयमा उच्च अध्ययन गरेका जियाङ जेमिनको परिचयका क्रममा उनी रूसी, फ्रेन्च, रुमानियनलगायत अंग्रेजी भाषामा पोख्त छन् भनिएको थियो। अमानपुरको प्रत्येक प्रश्नको जवाफ जेमिनले चाहिँ चिनियाँ भाषामा दिए। अन्तर्वार्ताको अन्तिम चरणमा पुगेपछि अमानपुरले चिनियाँ राष्ट्रपतिलाई अंग्रेजी भाषामा विश्वभरिका दर्शक र श्रोतालाई आफ्नो सन्देश दिन अनुरोध गरिन्। चिनियाँ राष्ट्रपतिले टाउको हल्लाएर तिनको आग्रह अस्वीकार गर्दै चिनियाँ भाषामै भने, ‘मानवहरूको बाँच्ने अधिकार नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो।’ उनको त्यो भनाइसँगै अन्तर्वार्ता टुंगियो।
रूसका पूर्वराष्ट्रपति एवं शक्तिशाली प्रधानमन्त्री भ्लादिमिर पुटिनको सन् २०१० मा सीएनएनकै प्रसिद्ध कार्यक्रम ‘ल्यारी किङ शो’ मा एकल सहभागिताको प्रत्यक्ष प्रसारण गरिएको थियो। ल्यारी किङसँगको झन्डै एक घन्टा लामो उक्त कार्यक्रममा पूर्वसोभियत युनियनको खुफिया एजेन्सी केजीबीका कर्णेल तथा पूर्वजर्मन राष्ट्रको स्टेसन कमान्डरसमेत रहेका पुटिनले एउटा अंग्रेजी शब्द पनि उच्चारण गरेनन्। लारी किङले विश्वभरि छरिएका करोडौं श्रोता र दर्शकलाई अंग्रेजी भाषामा छोटो सन्देश दिन पुटिनलाई आग्रह गरे। तर पुटिनले अस्वीकार गरे। त्यसपश्चात् लारीले पुटिनलाई जर्मन भाषामै भए पनि आफ्नो भनाइ राखिदिन अनुरोध गरे। त्यो अनुरोधलाई पनि पुटिनले लत्याइदिए।
यसै सन्दर्भमा स्मरण गर्नलायक अर्को उदाहरण दोस्रो विश्वयुद्धका नायकहरू बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल तथा फ्रेन्च राष्ट्रपति चाल्र्स डेगलबीच हुने गरेको संवाद हो। चर्चिल फ्रेन्च भाषामा तथा तिनका समकक्षी फ्रान्सका राष्ट्रपति चाल्र्स डेगल अंग्रेजी भाषा पोख्त थिए। तर दुवैबीच दोभाषेको माध्यमबाट संवाद हुने गथ्र्यो। दोभाषेको प्रयोगको मुख्य फाइदा भनेको उसले उल्था गर्दा लाग्ने समयलाई सोचेर जवाफ दिने अवसरका रूपमा सदुपयोग गर्न सकिन्छ भन्ने मान्यता हो। माथि उल्लिखित उदाहरणले प्राज्ञिक क्षेत्रमा होस् अथवा विश्व राजनीतिक मञ्चमा स्थापित हुन अंग्रेजी नै बोल्नुपर्छ भन्ने मान्यता राख्नु केवल भ्रम मात्र हो भन्ने पुष्टि गर्छ।
भाषा र सामिप्यता
नेपाली भाषा नजान्ने भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण क्रमको सम्बोधनमा केही नेपाली भाषाका शब्दको प्रयोग गरेर धेरै श्रोताको मन जिते। त्यसो त, सन् १९९८ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले फ्रान्सको राष्ट्रिय सदनमा शुद्ध फ्रेन्च भाषामा सम्बोधन गरेका थिए। तिनको उक्त कार्यले ऐतिहासिक कालदेखि चल्दै आएको फ्रान्स–बेलायत कूटनीतिक सम्बन्धलाई न्यानो तुल्याउन योगदान पुर्याएको ठहर विश्लेषकहरूको थियो। हाम्रा नेताहरूले पनि भारतीय समकक्षीसँगको संवादमा हिन्दी भाषाको प्रयोग गर्छन् भन्ने सुनिन्छ। तर औपचारिक भाषणचाहिँ अंग्रेजीमा गर्न रुचाउने पद्धति बसालिएका छन् जबकि केही हिन्दी भाषाका शब्दको प्रयोग गरे पनि श्रोताको मन जित्न उनीहरू सफल हुने थिए।
हाम्रा अधिकांश नेताले अंग्रेजीमा बोल्दै गर्दा उनीहरूले भोगेको असहजता टड्कारो रूपमा श्रोताले थाहा पाउँछन्। हाम्रो पढाइको माध्यम अंग्रेजी भाषामा हुँदैन। जेजति पठनपाठन हुने गर्छ, त्यो पनि बोलीचालीको भाषामा हुँदैन। अंग्रेजी उच्च शिक्षाको विषयमै अध्यापन गर्ने कतिपय प्राध्यापकलाई समेत अंग्रेजी भाषामा बोलीचाली गर्न सकस पर्छ। विश्व समुदाय र खासगरी छिमेकी राष्ट्रका नागरिकलाई हामी अंग्रेज साम्राज्यको गुलाम कहिल्यै पनि भएनौं भन्ने थाहा छ। त्यसैगरी उनीहरूलाई अंग्रेजी भाषा हाम्रो कहिले पनि दोस्रो भाषासमेत हुन सकेन भन्ने पनि ज्ञान छ। बौद्धिकताको पहिचान प्रस्टसँग आफ्ना धारणा प्रस्तुत गर्दा मात्र हुन्छ। त्रुटिपूर्ण अंग्रेजी भाषाको प्रयोगबाट आफ्नो बौद्धिक पहिचान स्थापित गर्न खोज्नु औचित्यहीन अभ्यास सावित हुन्छ।
प्रतिक्रिया दिनुहोस !