सरकार नै धर्म परिवर्तनमा : कमल थापा
दमक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले धर्म परिवर्तन गराउन सरकार लागिपरेको बताएका छन्।
झापाको बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा नेता थापाले धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रममा सरकार सहभागी हुनु दुर्भाग्यपूर्ण रहेको बताए। उनले हिन्दूलाई नचिढ्याउन चेतावनी दिए।
‘सरकार आफैं धर्म परिवर्तन गर्ने संस्थाको कार्यक्रममा सहभागी हुनु दुःखद पक्ष हो’, उनले भने, ‘आइन्दा सरकारले यस्तो काम नगरोस्।’
उनले राप्रपा हिन्दू-राष्ट्र पुनःस्थापना अभियानमै रहिरहेको बताए। ‘राप्रपा हिजो पनि हिन्दू-राष्ट्रको पक्षमा थियो, आज पनि छ र भोलि पनि रहनेछ’, उनले भने, ‘कसैले शंका नगर्दा हुन्छ।’यो अभियान कुनै धर्मविरुद्ध नभएको उनको भनाइ थियो। उनले यो अभियान नेपालीको आस्था र विश्वास संरक्षणका लागि गरिएको दाबी गरे।
राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई भोट नभई सपोर्ट चाहिएको बताए। विदेशीहरू धार्मिक द्वन्द्व चर्काउन लागिपरेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !