दोलखामा साढे तीन करोडको किवी
चरिकोट : दोलखामा यस वर्ष किवीको उत्पादन ५० प्रतिशतले बढेको छ। उत्पादन बढेसँगै बजारीकरणमा सहजता र राम्रो मूल्य प्राप्त हुन थालेपछि किसान उत्साहित भएका छन्। आव २०७५/०७६ मा जिल्लामा एक सय ८५ मेट्रिक टन किवी उत्पादन भएको छ। गत आवभन्दा यो वर्षको उत्पादन ९१ मेट्रिक टन बढी हो। गत वर्ष साविक कृषि विकास कार्यालयको तथ्यांकअनुसार ९४ मेट्रिक टन मात्र किवी फल उत्पादन भएको थियो।
जिल्लाका मुख्य बजारक्षेत्रका व्यापारीले फलफूलका नाममा स्याउ, केरा र अनार मात्र बिक्री गर्ने गरेकामा यस वर्षबाट किवी पनि बिक्री गर्न थालेका छन्। विगतमा लगाइएका बोटले क्षमताअनुसारकै उत्पादन दिन सुरु गरेका कारण यो वर्ष किवी उत्पादनमा उल्लेख्य वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ किवीजोन दोलखाका प्रमुख गोविन्द पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार अहिले किसानले बोटबाट सीधैं प्रतिकेजी एक सय ८० रुपैयाँमा किवी बिक्री गरिरहेका छन्। यो वर्ष दोलखामा करिब तीन करोड ३३ लाखको किवी उत्पादन भएको छ। दोलखाको स्थानीय बजारमा किवी प्रतिकेजी दुई सय रुपैयाँमा बिक्री भएको पाइएको छ।
अहिले जिल्लामा हिमाली आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण किवी जोन कार्यक्रममार्फत तथा व्यक्तिगत रूपमा समेत किसान किवीखेतीतर्फ आकर्षित भइरहेका छन्। लहरामा फल्ने प्रकृतिको फल भएकाले सामान्य मेहनतले पनि उत्पादन बढाउन सकिने, मूल्य पनि राम्रै पाइने कारण किसान किवीतर्फ आकर्षित भएका किवीजोन दोलखाका प्रमुख पोखरेलले बताए।
किवी उत्पादक संघ दोलखाका अध्यक्ष एवम् जिल्लाका पहिलो किवी किसान श्याम खड्काका अनुसार अहिले दोलखामा पाँच सयभन्दा बढी फर्म तथा व्यक्ति किवीखेतीमा सक्रिय छन्। हालसम्म किवीखेतीमा सामान्य पात डढ्नेबाहेक अन्य रोग नदेखिएको र दोलखामा यो खेतीको भविष्य राम्रो रहेको किसान खड्काको भनाइ छ।
किवीको माग काठमाडौंका होटलमा उच्च रहेको र व्यापार प्रवद्र्धन गर्न सके किवीको व्यापार अन्तर्राष्ट्रियस्तरमा समेत गर्न सकिने भएकाले किवी बजारको समस्या नरहेको खड्काको भनाइ छ। ग्रेडिङ गरी उच्चस्तरका किवी काठमाडौंका होटल तथा डिपार्टमेन्टल स्टोरमा पु¥याउने तयारी भइरहेको उनले बताए।
दोलखाको भीमेश्वर नगरपालिका, विगु गाउँपालिका, जिरी नगरपालिका, मेलुङ गाउँपालिकाका स्थानमा व्यावसायिक रूपमा किवीको उत्पादन भइरहेको छ। किवीफल अत्यन्त पोषिलो, मधुमेह रोगीसमेतले पनि खान मिल्ने फल मानिन्छ साथै यसबाट उच्च गुणस्तरको वाइन तथा जुस समेत बनाउन पनि सकिन्छ।
दोलखामा हेवार्ड, एलिसन, मन्टि, ब्रुण, रेड, एबोड, गोल्डेन तथा मिनी किवी गरी आठ प्रकारका किवीखेती हँुदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ किवी जोन दोलखाका अनुसार हाल दोलखामा दुई सय ५२ हेक्टरमा किवीखेती भइरहेको पाइएको छ।
प्रतिक्रिया दिनुहोस !