ईपीएल : भैरहवाको लगातार दोस्रो जित
काठमाडौं : भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा लगातार दोस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले दोस्रो जित निकालेको हो।
जितसँगै भैरहवाले चार अङ्क जोडेको छ। भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो।
चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे। शाहब आलमले नटआउट १६ रन बनाए।
बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले दुई-दुई, रायन टेन डेसचाटे र अभिनाश बोहराले एक-एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९।३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो।
भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदिप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले १२-१२ रन जोडेका थिए।
चितवनका सागर ढकालले तीन र जर्ज स्कटले दुई विकेट लिएका थिए। जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो। बुधबार पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसबीच खेल हुनेछ।