दार्चुला र बैतडीमा ओेखर बगैंचा

दार्चुला र बैतडीमा ओेखर बगैंचा

बैतडी : फलफूलबाट किसानको आयस्तर बढाउन बैतडी र दार्चुलामा ओखर बगैंचा स्थापना गरिने भएको छ। कृषि ज्ञान केन्द्र बैतडीको अनुदान सहयोगमा बैतडीको ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैंचा स्थापना गर्न लागिएको हो।

चालु आर्थिक वर्ष दुवै जिल्लामा ओखरको बगैंचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। ‘फलफूलखेतीबाट किसानको जीविकोपार्जनमा सुधार ल्याउन ओखरखेतीमा अनुदान दिन लागिएको हो। हामीले अनुदानका लागि प्रस्तावसमेत आह्वान गरिसकेका छौं’, उनले भने, ‘एकजना किसानले कम्तीमा आधा हेक्टर जमिनमा ओखरखेती गरेमा मात्रै अनुदान पाउनेछ।’

ओखरका बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने चन्दले बताए। बगैंचा स्थापना गर्ने किसानलाई प्रस्ताव ल्याउन आग्रह गरिएको छ। ओखरमा जिल्लालाई आत्मनिर्भर बनाउने र किसानको आम्दानी बढाउने उद्देश्यले प्रदेश सरकारले त्याएको कार्यक्रम अन्तर्गत अनुदान दिन लागिएको चन्दले बताए। ‘ओखरको बजार राम्रो छ। महँगो पनि छ। यसले किसानको आय वृिद्ध हुनेछ’, चन्दले भने, ‘ओखरखेती हुने स्थान छनोट गरेर हामीले प्रस्ताव आह्वान गरिसकेका छौं।’

बैतडीको सूर्नया गाउँपालिका–२ र ३, दशरथचन्द नगरपालिका–९, वासुदेव मावि लिस्किटाको नर्सरी, दोगडाकेदार गाउँपालिकाको–४, पाटन नगरपालिका–१ र ९, सिगास गाउँपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा बगैंचा स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट कार्यक्रम स्वीकृत भएको छ।

यस्तै दार्चुलाको दुहू गाउँपालिका–४ र ५, मालिकार्जुन गाउँपालिकाको–४ र ८, व्यास गाउँपालिकाको सुनसेरा, नौगाडको सुण्डमुण्ड, महाकाली नगरपालिकाको पौनेखोला, मार्मा गाउँपालिका र शैल्यशिखरमा ओखरको बगैंचा स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।

सुक्खा फलफूलमध्ये छोटो समयमा बढी र राम्रो उत्पादन दिने फलफूलका रूपमा ओखरलाई लिने गरिन्छ। ‘बैतडी तथा दार्चुला जस्ता पहाडी जिल्लामा ओखरखेतीका लागि उपयुक्त हावापानी छ, किसानले ओखरबाट पाँच वर्षमै उत्पादन लिनसक्छ’, सतबाँझ सुक्खा फलफूल विकास केन्द्र प्राविधिक अर्जुन खड्काले भने। पछिल्लो समयमा ओखरका बिरुवाको मागसमेत बढेको खड्काले बताए। उनले भने, ‘ओखर, बजारमा ६ सय देखि ८ सय प्रतिकेजीका दरले बिक्री भइरहेको छ। यसले गर्दा किसानको ओखरखेतीमा आकर्षण बढेको हो।’

ओखरको बगैंचा स्थापना गर्ने ठाउँमा कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग पुर्याउने चन्दले बताए। उनले भने, ‘हामी किसानलाई अनुदानमा बरुवा मात्रै वितरण गर्दैनौं उनीहरूलाई आवश्यक प्राविधिक सीपसमेत दिनेछौं। यसले गर्दा किसानलाई व्यावसायिक बनाउन हौसला मिल्नेछ।’

पहाडी क्षेत्रका लागि उपयुक्त

पहाडी क्षेत्रका लागि ओखर किसानको जीविकोपार्जन उपयुक्त हुनसक्ने कृषि प्राविधिकले बताएका छन्। पहाडी क्षेत्रमा ओखरको सम्भावना राम्रो रहेको र यसले किसानको जीवनस्तरमा सुधार ल्याउने सुक्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख चन्द्रसिंह ठगुन्नाले बताए। उनले भने, ‘पहाडी क्षेत्रमा सुक्खा फलफूलमध्ये उपयुक्त ओखरखेती हो। अहिले यसलाई विस्तारका लागि विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल भइरहेको छ।’

ओखरबाट किसानको जीवनमा परिवर्तन ल्याउन सकिने बैतडीका अगुवा किसान देवदत्त भट्टले बताए। उनले भने, ‘हामीले बिरुवा उत्पादन गरेर आम्दानी गरिरहेका छौं। कृषि ज्ञान केन्द्रले बगैंचा स्थापनाका लागि अनुदान दिनु राम्रो हो।’ ओखरखेतीका लागि एक महिना पहिला खाल्डो तयार पार्नुपर्ने प्राविधिक खड्काले बताए। उनले भने, ‘ओखरको बिरुवा रोप्न एक घनमिटरको खाल्डो निर्माण गर्नुपर्छ। त्यसमा कृषि चुन, मालाथिन धूलो र प्रशस्त मात्रामा प्रांगारिक मल राखेर तयार पार्नुपर्छ। यसले गर्दा ओखरका बिरुवा मर्दैन।’

स्वास्थ्यका लागि लाभदायक

ओखर स्वास्थ्यका लागि निकै लाभदायक रहेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका डा.नवीन्द्र ढकालले बताए। ओखरमा पाइने पोषक तत्वले मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई थप बलियो बनाउने डा.ढकालले बताए। उनले भने, ‘ओखरमा पाइने चिल्लो पदार्थले रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। हामीले नियमितरूपमा ओखरको गुदी खाएमा नसाको वृद्धिविकासमा सहयोग पुग्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.