महोत्तरीमा जिप र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, एक घाइते
बर्दिबास :महोत्तरीमा मोटरसाइकल र जिप ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार बिहान गौशलाबाट बर्दिबास जाँदै गरेको बा १८ च नम्बरको जिप र माइस्थानबाट गौशलातर्फ जाँदै गरेको ज १२ प ११०१ नम्बरको मोटरसाइकल गौशला–१ रामनगर जंगलमा एक आपसमा ठक्कर खाइ दुर्घटनामा परेका हुन् । जिप र मोटरसाइल दुवै तीब्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका लालगढका २७ वर्षीय आशीष थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बार्दिबास डीएसपी नकुल पोखरेल जानकारी दिएका छन् । गम्भीर घाइते थापालाई उपचारका लागि बर्दिबास हस्पिटल लगिएको र अस्पतालले मृत्यु भएको पुष्टि गरेको डीएसपी पोखरेलले बताए ।
मोटरसाइकलमा सवार घनुषा मिथिला नगरपालिका कै २८ वर्षीय सन्तोष बुढाथोकी घाइते भएका छन् । उपचारका लागि बार्दिबासको जनसेवा हस्पिटल लगिएका बूढाथोकीलार्इ थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।