राजनीतिज्ञका लागि
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन विशेष चर्चित रह्यो। निर्वाचनपूर्व गरिने पूर्वानुमान र नतिजा स्वयम् अमेरिका र विश्व जगत्का लागि अनपेक्षित रह्यो। अमेरिकी निर्वाचनपछि विश्व राजनीतिमा उथलपुथल जारी छ। विश्वस्तरमै मूलधारका राजनीतिक दल तथा नेतृत्वमाथि अनेकौं प्रश्न उब्जिएका छन्।
यसै क्रममा ३० लाख लोकप्रिय मत बढी पाउँदा पनि हार बेहोरेकी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिकी उम्मेद्ववार हिलारी क्लिन्टनद्वारा लिखित पुस्तक ‘ह्वाट हेपेन’ (के भयो) मा चुनावी समीक्षा गरिएको छ। चुनावमा के–के भयो ? अमेरिका राजनीतिक रूपमा किन यति विभाजित छ ? भन्ने विषयमा पुस्तक केन्द्रित छ। पुस्तक ६ खण्डमा, चार सय ९२ पृष्ठमा प्रकाशित छ।
क्रेमलिन (रुस) बाट चलाइएको सूचना युद्ध डेमोक्रेटिक पार्टीमाथि अमेरिकाको संघीय अनुसन्धान विभाग (फेडरल इन्भेस्टिगेसन ब्युरो) ले निर्वाचनका बेला गरेका ‘अभूतपूर्व हस्तक्षेप’ भयो। पराजय पछिको पीडामा पनि जीवन्त उद्देश्यलाई निरन्तर जारी राख्न सक्नुपर्छ भन्ने मान्यता प्रस्ट रूपमा हिलारीले उल्लेख गरेकी छन्। राजनीतिकर्मी र कार्यकर्ता सौम्य, सरल र लगनशीलताका साथ भविष्य निर्माणमा अगाडि बढ्न आवश्यक रहेको उनको सुझाव छ।
राष्ट्रपति ट्रम्पको शपथग्रहणमा जाने कि नजाने दुविधाका बीच सहभागी भएर नयाँ योजना र सम्भावनाहरूको सोच आउने आशा नभए पनि सक्ने जति हाँसो देखाएर सहभागी भएको कुरा उल्लेख गरेकी छन्। राष्ट्रपति ट्रम्पको उद्घाटन भाषणले देशलाई विभाजित र तिक्ततापूर्ण अवस्थामा पुर्याएको उनको अनुभूति छ।
अमेरिकाको राष्ट्रपति चुनाव ‘म्यासिभ इन्टरप्राइज’ भएको र यसमा हजारौं कार्यकर्ता, विज्ञ र जनता समावेश हुने गर्छन्। चुनावमा ‘जेन्डर’को कुरा गर्दै उनले लेखेकी छन्, यसले पनि फरक पार्यो होला, यसभन्दा अगाडि कहिल्यै ठूला पार्टीले यसरी महिलालाई राष्ट्रपतिको उम्मेद्ववार बनाएका थिएनन्। सायद त्यसैले हुन सक्छ, ‘मेरो नेतृत्व शैली पनि समय अमिल्दो हुन सक्छ। मैले खुलेरै विषयवस्तुको व्याख्या नगरेकी हुन सक्छु। साथै मतदाताका जिज्ञासा मेटाउन र आफ्ना योजना बुझाउन नसकेकी हुन सक्छु’, भन्ने उनको आत्मआलोचित स्वीकारोक्ति छ।
राजनीतिमा महिला हुनुको असर पनि छ (पृः१११ देखि १४५)। महिलालाई राजनीतिमा सजिलो छैन, यो जटिल र निराशापूर्ण भए पनि उनका लागि अद्भुत सिकाइको निरन्तर प्रक्रिया भएको छ। सन् १९३८ मा कानुन संकायमा अध्ययनका लागि भर्ना हुन जाँदाको अनुभव पनि उनले पुस्तकमा उतारेकी छन्। त्यसबखत उनलाई कसैले भनेछ, ‘तिमी कानुनका क्षेत्रमा आउन आवश्यक छैन। जाऊ र विवाह गरेर घरमैं बस।’ कानुनको विद्यार्थी हुने उनको अभिलाषाले उनी हार्वाड ‘ल’ स्कुलमा भर्ना लिन जाँदा फेरि कसैले उनलाई ‘हामीलाई धेरै महिलाको आवश्यकता छैन’ भनेछ। त्यसपछि उनी येल विश्वविद्यालयमा ‘ल’ को विद्यार्थीे भइन्।
पुरानो ‘ल’ फर्ममा काम गर्ने पहिलो महिला बन्न पुगेकी उनी मानवअधिकार, महिला अधिकारका मुद्दामा सशक्त आवाज उठाउन सफल रहिन्। साथै प्रथम महिला भएर सांसद (सिनेटर) र विदेश मन्त्रीका रूपमा काम गर्दा उनले राम्रै काम गरेका अनुभव जीवन्त छन्। आफ्ना पतिले राष्ट्रपति पद छाड्नुअगावै न्युयोर्कबाट निर्वाचित भएर शपथ लिएका जस्ता सुखद र सफल अनुभव त्यस अवधिमा उनीसँग रहे।
हिलारीले अमेरिकाको प्रजातन्त्र र निर्वाचन प्रणाली बारेमा सटिक विश्लेषण गरेकी छन्। संसारकै शक्तिशाली मुलुक अमेरिकामा पनि समकालीन समयमा महिलाको अवस्था उनीहरूप्रतिको समाजको दृष्टिकोणलगायतका प्रसंग छन्।
ट्रम्पका समर्थकहरूले हिलारीलाई जेल हाल्ने भनेका घटनालाई उनले पीडाका रूपमा पोखेकी छन्। चुनावमा पराजित भए पनि ठूलो पार्टीबाट महिला राष्ट्रपति उम्मेद्ववार भएकोले, महिला राष्ट्रपति बन्ने सम्भावना बढेको उनको अनुभव छ। चुनावी रातबारे लेख्दै हिलारी भन्छिन्, प्रथम निर्वाचित महिला राष्ट्रपतिको रूपमा भाषण दिन तयार भइरहँदा टिपेका बँदाहरू सान्दर्भिक छन्। अमेरिकी सपना सबैको लागि र सबै अटाउने हो भन्दै भाषण दिने तयारी गरिरहँदा चुनावको ‘अप्रत्याशित’ नतिजा आइपुग्छ। चुनावी नतिजा आइरहँदा बिहान १ः३५ बजे ट्रम्पलाई फोन गरेर, सम्मानजनक रूपमा जनमतको स्वीकार गरेँ।
पेन्सालभेनिया, मिचिगन, विस्कन्सिन राज्यमा ४० हजार मतदाताको मन जित्ने सकेकी भए चुनाव हिलारीको पक्षमा हुने थियो। ३० लाख लोकप्रिय मत बढी प्राप्त गरे पनि इलोक्ट्रोकल कलेजबाट निर्णय हुने हुँदा चुनावमा पराजित भइन्।
राजनीतिमा विकृति र विभाजन ‘पपुलिज्म’ र राजनीतिप्रतिको वितृष्णामा प्रभावकारी सन्देश दिन नसक्नुलाई उनले आफ्नो कमजोरीका रूपमा स्वीकारेकी छन्। आप्रवासन (इमिग्रेसन) बारे जनताको सोचाइ, अश्वेत जनसंख्याप्रतिको दृष्टिकोण, मुस्लिम मतदाताप्रतिको सोचाइ, राष्ट्रपति ओबामा अमेरिकामा जन्मेका होइनन् भन्ने आरोप ट्रम्पको गलत आरोपसहितका सूचनाको तत्काल प्रवाहलाई उनले हारको कारण बताएकी छन्। जस्तोसुकै नतिजा आए पनि उनी लेख्छिन्, ‘स्वतन्त्र समाजमा जति मन नपर्दा र रिस उठ्दा कुरा भए पनि ‘राइट टु भोट’ मतदाताका लागि आधार स्तम्भ हो। यही मताधिकारको रक्षा गर्नु, प्रजातन्त्रलाई सदृढ र रक्षा गर्ने जिम्मेवारी एक महत्वपूर्ण कार्य हो।’
सबैको सद्भाव, सहयोग, समर्थन लिएर काम गर्नुपर्ने उनको निचोड छ। ट्रम्पपक्षीय प्रायोजित समाचारलाई खण्डन गर्दै वास्तविकतालाई प्रस्तुत गरेको उनका अनुभव छन्। प्रजातन्त्र भनेकै नागरिकलाई सुसूचित गर्दै छलफलमा नागरिकको स्वतन्त्र सहभागितालाई प्रभावकारी र अर्थपूर्ण बनाउन उनले जोड दिएकी छन्। अफ्रिका महादेशको प्रचलित भनाइलाई स्मरण गर्दैं उनले भनेकी छन् ‘यदि छिटो जानु छ भने एक्लै जाऊ, यदि टाढासम्म जानु छ भने सँगसँगै जाऊ।’
पुस्तक हिलारीको नितान्त व्यक्तिगत संस्मरण हो। चुनावी अभियानमा आफूबाट भएका गल्ती, कमी/कमजोरी ट्रम्पसँगका राष्ट्रपति बहसलगायतका पक्षलाई जीवनका पाठका रूपमा प्रस्तुत गरेकी छन्।
हिलारीको चुनावी अभियानमा इमेल प्रकरण प्रायोजित तवरबाट पुनरावृत्ति भइरह्यो। इमेलको प्रकरण र चुनावमा रसियन हस्तक्षेपको चर्चा गर्दै जाँदा आधुनिक इतिहास कुनै विदेशी शक्तिले खतरामा पुर्याएको छ। त्यसैले हिलारी भन्छिन्, ‘म हाम्रो प्रजातन्त्रबारे चिन्तित छु। झुट र भ्रष्टाचारले विधिको शासन, राष्ट्रका संस्थाहरू र हाम्रा आधारभूत मूल्य मान्यतालाई चुनौती दिइरहेको छ।’
इमेल प्रकरणलाई हिलारीले वाटरगेटभन्दा पनि खराब भनेकी छन्। जुन २०१७ मा जिम काल्परलाई सोधिएको थियो, ‘कसरी रसियन काण्ड वाटरगेट काण्डसँग तुलना हुन्छ।’ उनी भन्छन्,‘मलाई वाटरगेटबारे थाहा छ, त्यतिबेला म एयर फोर्समा काम गर्थें, म अधिकृत थिएँ। त्यो डरलाग्दो समय थियो।’ अहिले हामीले भोगिरहेको कुरा वाटरगेटसँगै तुलना गर्दा मिल्छ।’
पुस्तक हिलारीको नितान्त व्यक्तिगत संस्मरण हो। चुनावी अभियानमा आफूबाट भएका गल्ती, कमी÷कमजोरी ट्रम्पसँगका राष्ट्रपति बहसलगायतका पक्षलाई जीवनका पाठका रूपमा प्रस्तुत गरेकी छन्। विदेशी समाचारबाट चुनावमा भएको हस्तक्षेप, इमेल प्रकरणलाई विरोधी र अनुसन्धानकर्ताहरूले समेत अनावश्यक र अनायस बढाइचढाइ गरेको पक्ष उजागर गरेकी छन्। ट्रम्पलाई लक्षित गर्दै उनी लेख्छिन्, ‘२०१६ को चुनावले एकदमै कम अनुभव भएको, एकदमै कम जानकारी राख्ने र एकदमै प्रतिस्पर्धा नभएको व्यक्तिलाई सत्ता केन्द्रमा ल्याएको छ।’
पुस्तकको सान्दर्भिकता
विश्वमान चित्रमा सरसर्ती हेर्दा भू–राजनीति छिटोछिटो बदलाव भइरहेको देखिन्छ। विश्व व्यवस्था अस्तव्यस्त र अव्यवस्थित छ। राष्ट्रहरू अन्तर्मुखी भएका छन्। जनता आफ्नो पहिचान खोजिरहेका छन्। सबैतिर तनाव छ। असमानताले सबैतिर पिरोलेको छ। विश्वव्यापीकरणको नतिजा सबैका लागि प्रभावकारी हुन नसकेको अनुभव भएको छ।
चीनलगायतका राष्ट्रले यसबाट लाभ उठाउन सकेता पनि धेरै राष्ट्रहरूमा सुशासनमा आर्थिक सुरक्षा र सामाजिक एकतामा खलल पुर्याएको देखिँदैछ। वर्तमान विश्वको विवाद राष्ट्रराष्ट्रबीच नभएर सम्पन्न र निमुखाबीच केन्द्रित हँदै गएको देखिन्छ। यसैमा उग्रदक्षिण र उग्रवामपन्थी आगोमा घिउ थप्ने काम गर्छन्। अहिलेको चुनौती झर्रो राष्ट्रवाद नै देखा परेको छ। आफूसँग सहमत नहुनेहरू सबै विरोधी हुने राष्ट्रविरोधी हुने उनीहरू मान्यता राख्छन्।
यसअघिका विवाद वामपन्थी र प्रजातन्त्रवादी, पश्चिमा र पूर्वका राष्ट्रहरूबीच हुने गरेको थियो। तर यतिबेला ‘हामीहरू र तिमीहरू’का ‘विरुद्ध’ भन्ने भावना बढ्दो छ। जसरी अमेरिकाको राष्ट्रपति निर्वाचनमा हारपछि समीक्षासहित हिलारीले आगामी दिनका लागि बटमलाइन के हो ? भन्ने कुरा पुस्तकमार्फत सार्वजनिक गरेकी छन्। आफ्ना कमजोरी लुकाउनभन्दा अरूका लागि समेत पाठ हुने गरी उनले प्रस्तुत गरेकी छन्।
सस्तो नारा दिएर सत्तामा पुग्नेहरूले जनविश्वास छिटो गुमाउँछन्। विश्वासको आधार छिटो स्खलित हुन्छ। उग्रराष्ट्रवाद र सत्ताको नारा दिनेवालाहरू सत्तामा पुग्न आफ्ना विरोधीलाई भ्रष्ट, अनैतिक र पतीत चित्रण गर्छन् भने सत्तामा पुगेपछि विरोधीको अस्तित्व र वैधानिकता इन्कार गर्छन्।
आफ्ना अनुकूलका समाचार नभए ‘फेक न्युज’ अर्थात् झुटो समाचार भन्छन्। म नै राज्य हुँ, भन्ने भ्रमपूर्ण अहंकार र दम्भ देखाउँछन्। संवैधानिक सर्वोच्चता, विधिसंगत प्रक्रिया, संस्थागत संरचना निर्माण, पारदर्शी कार्यशैली र जवाफदेहितालाई सस्तो लोकप्रियताबादी नेताहरूका लागि सरोकारका विषय हँदैन भन्ने सन्देश पुस्तकले दिएको छ।
चुनावी रणनीतिमा चासो राख्नेहरूका लागि हिलारीको अनुभवबाट पाठ सिक्न सकिन्छ। त्यसैले पनि राजनीतिज्ञका लागि पुस्तक अझै पठनीय हुन सक्छ। नेपालको सन्दर्भमा सम्पन्न स्थानीय, प्रदेश र संघको निर्वाचनमा सस्ता पपुलिस्ट नाराबाट जनतालाई भ्रमित गरेको सत्य र तथ्य बंग्याउनेलाई कम्युनिस्टको चुनावी रणनीतिलाई झुट भन्न नसक्नु प्रतिपक्षीको स्पष्ट कमजोरीका रूपमा देखिएको छ।
विचार, तर्क, सत्य र तथ्यलाई प्रस्तुत गरेर शब्दले समेत प्रतिकार गर्न नसकेको सन्दर्भ र चुनावी समीक्षा गर्दा पनि सामूहिक जिम्मेवारी लिनुपर्ने मानसिकता बोकेको ‘नेपाली कांग्रेसको नेतृत्वका लागि पराजयबाट पाठ सिक्न पुस्तक पठनीय छ। कांग्रेसले चुनाव हारेको हो, मैदान हारेको हैन।’ भन्ने तर्कलाई नेतृत्वले आफ्ना कमी कमजोरी लुकाउन खोजेको देखिन्छ।
अमेरकामा प्रजातान्त्रिक संस्थाहरू बलिया छन्। त्यहाँसमेत राष्ट्रिय चुनावमा विदेशी हस्तक्षेप र पैसाको कुरा बहसमा आइरहँदा नेपालजस्तो दुई उदीयमान मुलुकहरूको बीचमा अति संवेदनशील भौगोलिक अवस्थिति भएको देशमा उम्मेद्ववारीदेखि लिएर जित र हारसम्म कुनै मुलुकसँग जोडेर हेर्न प्रचलन सामान्य हो। यसले प्रजातन्त्र कमजोर पार्ने र अरूकै स्वार्थमा प्रयोग हुन सक्ने खतराप्रति सजग हुन जरुरी देखिन्छ।
वैचारिक स्पष्टताका साथ प्रस्तुत भएर सत्य तथ्यलाई जनसमक्ष बुझाउन सक्ने र हिम्मत राख्ने, राजनीतिक दलले मात्र देशलाई सस्तो लोकप्रियताबाट निकास दिने क्षमता राख्छन्। राजनीतिकर्मी, राजनीतिक दल, नेता, गल्तीबाट पाठ सिक्न चाहनेहरू, सस्ता नाराबाट हुने नोक्सानीसम्मका कुरा थाहा पाउन पुस्तकको महत्व देखिन्छ।