डेढ अर्ब लगानीमा तारे होटल
भैरहवा : बुद्धको जन्मस्थल लुम्बिनीमा पाँचतारे होटल भिलाजियोको निर्माण थालिएको छ। स्थानीय युवाको एक अर्ब ५९ करोड १० लाख ८७ हजार रुपैयाँको लगानीमा लुम्बिनीमा पाँचतारे होटल सञ्चालनमा आउन लागेको हो।
‘लुम्बिनीमा आउने पर्यटकको बसाइ सुखद बनाउन राम्रा होटल आवश्यक रहेकाले लगानी गरेका छौं’, होटल भिलाजियो प्रालिका अध्यक्ष अम्रिक चौधरीले भने, ‘राम्रो सेवा सुविधा दिई पर्यटकको बसाइ लम्ब्याएर लुम्बिनीको पर्यटन क्षेत्रमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो।’
यस होटलको व्यवस्थापन अस्ट्रेलियाको अर्गाइली होटल ग्रुपले गर्नेछ। यो ग्रुप अन्तर्राष्ट्रिय चेन ग्रुप हो। सात बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटलमा प्रेसिडेन्सियल सुइट रुम दुईवटा, एक्जुकेटिभ रुम १०, डिलक्स ९०, साधरण सुइट २३ रुम र रेस्टुरेन्ट तीनवटा रहने कम्पनीले जनाएको छ। एक सय ३० वटा रुम रहने यस होटलमा दुई सय ५० वटा बेड संख्या रहने बताइएको छ।
यस होटलमा चार सय वर्गमिटरको ध्यान केन्द्र र पर्यटकीय वातावरणसहितको बगैंचा रहनेछ। होटलमै ध्यान गर्न सकिने संरचना तयार हुने अध्यक्ष चौधरीले बताए। प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गरी होटलको शिलन्यास गरेको छ। लुम्बिनीको पर्यटनमा टेवा पुर्याउनुका साथै बिदेसिने युवालाई समेत यही रोजगार दिने लक्ष्य राखिएको छ। होटलमा रोजगारीका लागि पहिलो प्रथामिकता स्थानीयलाई दिने र स्थानीयबाट पूर्णता नभए मात्र बाहिरी जिल्लाबाट जनशक्ति ल्याउने चौधरीले बताए।
प्रालिका आर्थिक व्यवस्थापन प्रमुख मकसुद शाहले स्थानीय क्षेत्रबाटै उत्पादित कृषि वस्तु होटलमा प्रयोग गर्ने प्रतिबद्धता जनाए। जसले गर्दा होटलको मात्र नभई स्थानीयको समेत होटलमा सहभागिता रहने र उनीहरूको पनि स्तरोन्नति हुने विश्वास लिइएको उनले बताए। शिलान्यास कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री लिला गिरीले स्थानीयको पहल र सहभागिताबिना लुम्बिनीको विकास सम्भव नरहेको बताए। उनले लुम्बिनीमा विदेशीको चाहनाअनुसारको व्यवस्था नरहेको भन्दै यस होटलले पूर्णता दिनेमा विश्वास व्यक्त गरे।
लुम्बिनी क्षेत्रमा यसअघि पनि पाँचतारे होटल सञ्चालनमा आइसकेका छन्। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै होटलमा लगानी बढेको हो। विदेशी लगानीकर्ताले समेत लुम्बिनी क्षेत्रमा होटलमा लगानी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !