आगलागीमा वृद्धको मृत्यु
चरिकोट : जिल्लाको उत्तरी विगु गाउँपालिकामा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।विगु गाउँपालिका-८ चिलंखाको थामीचागुमा टेन्टमा आगलागी हुँदा ७५ वर्षीय बलबहादुर थामीको मृत्यु भएको हो। प्रहरीका अनुसार टेन्टमा आगो तापेर बसेका थामीको सोमबार राति करिब १० बजेतिर आगलागीमा परी मृत्यु भएको हो।
मृतक थामीको निजी आवास पुनरनिर्माणको क्रममा रहेकाले घर नजिकै त्रिपालको अस्थायी कटेज बनाइ बस्दै आएका थिए। सोही त्रिपालको कटेजमा आगो ताप्ने क्रममा सोलारको व्याट्रीसमेत पड्किन गई आगलागी हुँदा जलेर थामीको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए।
मृतककी श्रीमती छैनन्। उनीसँग २ नाती बस्छन्। उनीहरु खाना खान माथिल्लो घरमा गएको बेला आगलागी भएको स्थानीयले बताए। आगलागीबाट सोही कटेजमा रहेको सोलार व्याट्री, नगद तीन लाख २० हजार, एक तोला सुन, २५ तोला चाँदीको हारी समेत गरी करिब चार लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !