महिलालाई कमजोर देखाउनै पर्ने ?

महिलालाई कमजोर देखाउनै पर्ने ?

‘महिला कमजोर हुन्छन्। फिल्मले देखाउन खोजेको, भन्न खोजेको र पुष्टि गर्न खोजेको यही हो त ? ’

फिल्म ‘प्रसाद’ हेरिरहँदा पटकपटक दिमागमा यो प्रश्न घुमिरह्यो। फिल्म सकिएपछि पनि यो प्रश्नलाई ‘आचमन’ गर्न सकिएन। यो फिल्म समीक्षा होइन। किनभने, म फिल्म समीक्षक होइन। सिद्धान्तसँग म परिचित छैन। म त फगत दर्शक हुँ, सामान्य दर्शक। तर, हरेक सामान्य दर्शकसँग प्रश्न गर्ने एउटा साधारण खुबी त हुन्छ नै (मसँग पनि छ)।

फिल्मले जे देखायो, त्यही बुझेर म हलबाट बाहिरिएँ। म तिनै दर्शकमध्ये एक हुँ, जो समीक्षा पढेर फिल्म हेर्न हलसम्म पुग्छन्। ‘प्रसाद’को चौतर्फी प्रशंसा (कहीँकहीँ करिब–करिब जयजयकार, कहीँकहीँ पूर्णतः जयजयकारसम्म) ले मलाई हलसम्म पुर्‍यायो। समीक्षामा फिल्मलाई ‘आफ्नै नेपाली कथा’, ‘मौलिक स्वाद’ भनिएकाले ‘कस्तो रहेछ त हाम्रो मौलिक स्वाद ? ’ भनेर आकर्षित भएँ, जान्न चाहेँ। फिल्म हेर्दा लाग्यो– हो त रैछ, फिल्ममा हाम्रै नेपाली कथा रहेछ। नेपाली महिलाको अवस्थालाई लेखक सुशील पौडेल र निर्देशक दिनेश राउतले पर्दामा दुरुस्तै उतारेका रहेछन्।

अभिनेता विपिन कार्की उम्दा कलाकार हुन्। उनको प्रतिभामा संशय रहेन। फिल्ममा बाबुराम परियारको भूमिकामा उनको अभिनय दमदार र सानदार छ। यसमा पनि कुनै शंका छैन। उनको अभिनयबाट प्रभावित भए पनि मेरा आँखाले नारायणी (नम्रता श्रेष्ठ) लाई पछ्याइरहे। हाउभाउ, अभिनयभन्दा पनि नारायणीको स्थितिमा मेरो ध्यान गइरह्यो। उनी खाना पकाउँछिन्, लुगा धुन्छिन्, श्रीमान्का जुत्ता सफा गर्छिन्, तीजको व्रत बस्छिन् अनि श्रीमान्लाई आर्थिक भार कम होस् भनेर मन्टेश्वरीमा काम गर्छिन्। हो त, यी सबै काम नेपाली महिलाले गर्छन्। त्यसैले भनिएको हो– नेपाली महिलाको अवस्थालाई पर्दामा दुरुस्तै उतारेका छन्, लेखक र निर्देशकले।

फिल्मका केही कुराले सुखद अनुभूति गरायो। जस्तैः फिल्ममा दुई ठाउँमा नारायणी मजबुत देखिएकी छिन्। एक, क्षत्रीकी छोरीले दलितसँग बिहे गर्ने साहस गरेकी छिन्। यस्ता घटना सामान्य होइनन्, अपवादका रूपमा मात्रै हुन्छन्। नारायणीले आफ्नो जीवनसाथी आफैं रोजेर ‘महिलालाई स्वनिर्णयको अधिकार छ’ भन्ने प्रमाणित गरेकी छिन्। अर्को, गर्भमा रहेको बच्चा जन्माउने वा नजन्माउने निर्णय महिलाको मात्र हो भन्ने धारणा उनले स्थापित गर्न खोजेकी छिन्। गर्भमाथिको आफ्नो अधिकारमा उनी दृढ देखिएकी छिन्।

फिल्मका कतिपय दृश्यले मुटु नै कटक्क खाने गरी पिरो र नरमाइलो पनि महसुस गराए। ती दृश्यमाथि प्रश्नैप्रश्न खडा भए। ‘के साँच्चै महिला कमजोर र पुरुष शक्तिशाली हुन्छन् ? ’ महिलाले आफ्नो सुरक्षा आफैं गर्न सक्दैनन् भन्ने कुरा फिल्मले श्रीमान् नहुँदा श्रीमतीको बलात्कार हुनुबाट जनाएको छ। महिलालाई बिहेअघि बुबा, दाइभाइको आडभरोसा हुन्छ भने बिहेपछि श्रीमान्को। यी नहुँदा महिला असहाय हुन्छे। यसै सोचलाई बल पुर्‍याएको छ यौन हिंसाको दृश्यले।

उपल्लो र तल्लो जात भनी संकीर्ण सोच राख्ने समाजका लागि दलितसँग बिहे गर्नु ‘दुस्साहस’ हो। जो नारायणीले गरेकी छिन्। प्रेमका लागि समाजसँग लड्न सक्ने उनले आफूमाथि यौन हिंसा हुँदा मुखसमेत नखोलेको देख्दा अचम्म लाग्छ। ‘थाहा पाए श्रीमान्ले छोड्छ’ तर्कमा बलात्कारजस्तो जघन्य अपराधविरुद्ध नबोल्दा उनी निरीह देखिन्छिन्। आफूमाथि भएको दुव्र्यवहार सहिरहन्छिन्। भनिन्छ– ‘अपराध सहनु पनि गर्नु सरह पाप हो।’ नारायणीले जघन्य अपराध सहेकी छिन्, लुकाएकी छिन्। तसर्थ, उनले पाप गरेकी छिन्।

फिल्ममा उनी पेसाले शिक्षिका हुन्। त्यो पनि स–साना नानीबाबुकी। घरपरिवार पछि स्कुल यस्तो ठाउँ हो, जहाँबाट बालबालिकाले नयाँनयाँ कुरा सिक्छन्। ज्ञान प्राप्त गर्छन्। आफूलाई सुरक्षित महसुस गर्छन्। ‘यदि यस्तै शिक्षिका मेरी छोरीले पाइन् भने...’ फिल्म हेर्दै गर्दा मेरो दिमाग रन्थनियो। बूढापाका भन्छन्– ‘मान्छेले त्यही दिन्छ, जे ऊसँग हुन्छ।’ यस अर्थमा नारायणीजस्ता शिक्षिका भए भने उनले त कलिला नानीहरूलाई ‘यौनहिंसा सहनुपर्छ’ भनेर ज्ञान देलान्। यो सोचेर म रनभुल्ल छु।

नारायणी शिक्षिका हुन् अर्थात् उनी पढेलेखेकी सक्षम महिला हुन्। ‘ श्रीमान्ले छोड्ला’ भन्ने डरले उनले यसरी दुव्र्यवहार सहनु र त्यसविरुद्ध नबोल्नु कत्तिको उचित हो ?

श्रीमतीमाथि यौन दुव्र्यवहार भएको कुरा सुनेर बाबुराम जंगिएर फलामको रड बोकेर बलात्कारीलाई तह लाउन उसको घर पुग्छन्। प्रहरीमा उजुरी दिने, त्यो कुरा रमेशकी श्रीमतीलाई सुनाइदिने धम्की दिन्छन्। यत्ति कुरा नारायणीले भन्न सकिनन्। मलाई लाग्यो, यस कुराबाट फिल्मले पुष्टि गर्न खोजेको छ– ‘शक्ति महिलाको होइन, पुरुषको गुण र विशेषता हो।’

बाबुराम बुबा बन्न असमर्थ छन्। घरबार बिग्रिने डरले यो कुरा श्रीमतीबाट लुकाउने सल्लाह दिन्छन्, पुरुष डाक्टर। ‘बच्चा जन्माउन तिम्रो श्रीमतीमा केही खराबी छैन, तिमीमा छ,’ डाक्टर बाबुरामलाई भन्छन्। यदि श्रीमान्को साटो श्रीमतीमा खराबी भएको भए के ती पुरुष डाक्टर बाबुरामलाई बाहिर पठाएर नारायणीलाई यसै गरी एक्लैमा श्रीमान्लाई नभन्ने सल्लाह दिन्थे होला त ! महिलामा समस्या भए दुवैका सामु कुरा गरिन्थ्यो होला। यहाँनिर ‘दुई पुरुषले मिलेर महिलाको ‘राइट टु नो’ हनन् गर्न खोजेका छन्।’ मैले यहीँ बुझेँ।

नारायणी शिक्षिका हुन् अर्थात् उनी पढेलेखेकी सक्षम महिला हुन्। ‘ श्रीमान्ले छोड्ला’ भन्ने डरले उनले यसरी दुव्र्यवहार सहनु र त्यसविरुद्ध नबोल्नु कत्तिको उचित हो ?

बाबुराम नारायणीलाई ‘तिमी’ भनेर सम्बोधन गर्छन्। सुन्दा मीठो लाग्छ। आफू बाबु बन्न असमर्थ तर श्रीमती गर्भवती भएपछि उनी सीधै नारायणीलाई ‘चरित्रहीन’ भएको दाबी गर्छन्। ‘तिमी’बाट ‘तँ’ मा झर्छन्। एकचोटि पनि ‘के, कसरी’ सोध्न आवश्यक ठान्दैनन्। उनी घरबाट निस्कन्छन्, रक्सी खान्छन्, राति मात्तिएर घर फर्कन्छन्। आफ्नो ‘टेन्सन’ पोख्छन्। अनि, श्रीमती घर रुँगेर बस्छिन्। अपराधबोध गरी श्रीमान्लाई फकाउन थाल्छिन्, नारायणी। यहाँनेर पीडित नै अपराधबोध गर्छ। मेरो बुझाइ– ‘पुरुष नै शक्तिशाली, महिला कमजोर’ देखाउन खोजिएको हो।

रमेश (निश्चल बस्नेत) महिलाप्रति आशक्त पुरुष। घरमा श्रीमती हुँदाहुँदै विवाहेत्तर सम्बन्ध बनाउँदै हिँड्ने, साथीकी श्रीमतीमाथि यौन हिंसा गर्ने ‘बलशाली’ पुरुष। श्रीमान्बारे सबै कुरा थाहा हुँदाहुँदै पनि चुप लागेर, सहेर बस्ने श्रीमती। बेइमान श्रीमान्लाई ‘हजुर’ भनेर सम्बोधन गर्ने, श्रीमती। सुन्दा नि हाँसउठ्दो ! दाम्पत्य जीवनका समस्या आफैं सुल्झाउन नसक्ने श्रीमान्लाई ‘बाबालाई भनिदिन्छु’ भन्दै ससाना नानीले जस्तै गुनासो गर्ने महिला।

जो बुबा/श्रीमान्माथि निर्भर छ। उसको आफ्नै कुनै अस्तित्व छैन। ‘धोकेबाज श्रीमान्बाट अलग्गिने निर्णय पनि बाबुले गर्नुपर्ने। अनि, बुबाको निर्णयलाई शिरोधार्य गर्ने छोरी। एकचोटि फेरि लेखक र निर्देशकले देखाएका छन्– ‘पुरुष शक्तिशाली, महिला कमजोर।’

साथीलाई भेट्न जाँदा ‘केही खाएर गए हुन्थ्यो। म पसलमा व्यस्त भएँ, पकाउन सकिनँ’ भन्छिन्, बाबुरामको साथीकी श्रीमती। साथीले बाबुरामलाई एक कप चियासमेत पकाएर खुवाउन सकेनन् अर्थात् पकाउने काम महिलाको मात्र हो। पुरुषले भान्छाको काम गर्नु हुँदैन भन्ने सोचलाई फिल्मको यस दृश्यले देखाएको छ।

अभिनय, निर्देशनको पक्ष उत्कृष्ट देखिए पनि महिलालाई बलियो देखाउन चुकेका छन्, लेखक र निर्देशक। धेरै मानिसलाई एकै पटक कुरा बुझाउन सक्ने असल माध्यम हो, फिल्म। जसले मानिसको दिमागमा गम्भीर छाप छोड्छ। त्यसैले फिल्मले दिने सन्देश सकारात्मक भएको राम्रो हो। संसारभरि ‘ह्यासट्याग मि टू’ अभियान चलिरहेका बेला ‘यौनहिंसाविरुद्ध बोल्नु हुँदैन, सहनुपर्छ’, ‘महिला कमजोर र पुरुष शक्तिशाली हुन्’ भन्ने सन्देश हामी कसरी प्रवाह गर्न सक्छौं ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.