ट्याक्सीमा मोहम्मद

ट्याक्सीमा मोहम्मद

मलेसियामा काम गरिरहेका धेरै नेपालीहरुको कथा नेपाली अखवारमा दिनैपिच्छे आउँछ। नआएका कथा कति होलान्?


नेपाली उखान ‘सस्तो बेसाहाले पखाला लाउँछ’ त्यसै बनेको हैन। तर यहाँ त शौचालय नै जानु नपर्ने भो। एशियन एयरको सस्तो टिकटवाला उडानले खाना त के पानी समेत नदिने रहेछ। किनेर खानुपर्ने, त्यो पनि असाध्यै महंगो। लुनालाई भनेँ, ‘सबै खर्च जोड्दा त सस्तो टिकटले उही महंगो टिकट बराबरको मूल्य नै खर्च गराउने रहेछ।’ एक डलरमा एउटा सुठुनी आकारको बोटलको पानी किनियो र त्यसैले उडान काट्ने निधो गरियो। क्वालालम्पुर अवतरणपछि भोजनको आश थियो।

यंगुनबाट क्वालालम्पुरको उडान २ घण्टा ४५ मिनेटको हो। यो उडान रहरको थिएन। हरेक ७० दिनमा विजनेस भिसावाला विदेशीहरुले म्यानमारको बोर्डर काटेर आउनुपर्छ। पर्यटकहरु २८ दिनसम्म मात्र बस्न पाउँछन्। र, यसलाई वन इन्ट्रि भिजा भनिदो रहेछ। एक पटक बाहिर गएर आएपछि फेरि नयाँ दिन गन्ती सुरु हुने रहेछ। मेरो भिसा सकिन अझै ४० दिन बाँकी थियो तर लुनाको भिसा भने सकिएकोले हामीले भिसाको बहानामा क्वालालम्पुर घुम्ने योजना बनाएका थियौँ।

केएल एयरपोर्टमा जहाज अवतरण भयो। सस्तो यात्रामा यात्रुहरुको वर्ग पनि त्यही किसिमको हुँदो हो। तडकभडक, महंगा पफर््युमको गन्ध छैन जहाजमा। मध्यम र निम्नमध्यम बर्गिय मानिसहरु छौँ सायद। यसो विचार आउँछ, जे गर्नु यो वर्गले गरेको हो। वर्ग संघर्षको कुरा गर्ने माक्र्स बुढा मरिगए तिनको सिद्धान्त पढेर टाउको कति दुखाउनु। हामी सस्तो टिकटवाला जहाजमा उड्नेहरु पनि महंगा जहाजमा उड्नेहरुझैँ क्वालालम्पुर त पुग्यौँ नै। एयरपोर्टबाट बाहिर निस्किएपछि सस्तो जहाजमा यात्रा गर्नेहरु भनेर ट्याग लागेको हुन्न क्यारे।

अघिल्ला यात्राहरुमा गुगल काकाले सहयोग गर्थे। तर यस पटकको घुमफिरको योजना टुरिस्ट सेन्टरबाट सुरु भयो। शहर र देशको बारेमा पनि धेरै खोजीनीति नगरी निस्किक्यौँ हामी। मलेसियामा काम गरिरहेका धेरै नेपालीहरुको कथा नेपाली अखवारमा दिनैपिच्छे आउँछ। नआएका कथा कति होलान् ? तर क्वालालम्पुरमा हामी कुनै दुःखी कथाको खोजीमा थिएनौँ। कुनै नेपालीसँग भेट होला भन्ने अनुमान पनि थिएन। संयोग कस्तो भने दुःखीहरुको कथा लेख्ने पत्रकार जनकराज सापकोटा क्वालालम्पुरमा रहेछन्। तिनको ट्विटर पोष्टबाट थाहा भयो।

चाइना मार्केट नजिकै कोतराय भन्ने ठाउँ रहेछ। कोतरायमा हाम्रो बसन्तपुर पाराको चौक रहेछ। त्यहाँ विभिन्न किसिमका कार्यक्रम पनि हुने रहेछन्। अर्को दिनको साँझ हामी त्यहाँ पुग्दा नृत्य कार्यक्रमको तयारी हुँदै थियो। त्यही ठाउँमा नेपालीले चलाएको मण्डला रेष्टुरेन्टमा भेटिए, जनकराज केही नेपाली मित्रहरुका साथमा। हामीले त्यही रेष्टुरेन्टमा बडो स्वादको नेपाली पाराको दाल भात सागको स्वागत पायौँ। त्यहाँ भेटिएका मित्रहरु चाहिँ दसौँ वर्षदेखि मलेसियामा व्यवस्थित जीवन बाँचिरहेकामध्ये रहेछन्। गतिलै उद्योगधन्दा गरेर बसेका नेपालीहरु भेट्दा खुशी लाग्ने नै भयो। एक दशकदेखि मलेसियामा रहेका राम गिरिबाट थाहा लाग्यो, ५ लाखभन्दा बढी नेपालीहरु रहेछन् मलेसियामा।

सहरको केन्द्रमा रहेछ कोतराय। घुमिफिरि हामी धेरै पटक त्यहाँ पुग्यौँ। नेपाली रेष्टुरेन्ट देख्दा खुशी लाग्नु स्वाभाविक हो। तर, विस्तारै देखिन थाले नेपाली नामका अरु थरी पसलहरु पनि। यहाँ अचम्मको पसल देखियो, ग्याष्ट्रिकको औषधि पाउने पसल। जहाँ लेखिएको थियो ‘यहाँ ग्याष्ट्रिकको औषधी पनि पाइन्छ। निको नभएमा ग्यारेन्टीका साथ पैसा फिर्ता गरिनेछ।’

हामीले क्वालालम्पुरको प्रसिद्ध मस्जिदबाट यात्रा सुरु गर्‍यौँ। पन्ध्र हजार तीर्थालुहरु एकै पटक ध्यानमा बस्न सक्ने क्षमता भएको मलेसियाको यो ‘नेसनल मस्क’ आम मानिसको लागि निःशुल्क प्रवेश रहेछ। ब्रिटिस साम्राज्यरहुन्जेल क्रिस्चियानिटीले दबाएर राखेको समाज ब्रिटिस शासनपछि खुल्ला भएछ। त्यसपछि चर्चको छेउमै बनाइएको रहेछ भब्य मस्जिद। मुस्लिम मात्रै हैन, अन्य जाति र समुदायका पर्यटकहरु पनि घुम्न आउने रहेछन् यहाँ। यसले धार्मिक सहिष्णुताको नमुना स्थापना गरेको छ। यहाँ छिर्दा विछट्टको आनन्द र शान्ति मिल्छ।

त्यसपछि अर्को महत्वपूर्ण ठाउँ इस्लामिक आर्ट म्युजियम गइयो। दक्षिण पूर्वी एसियाकै सबैभन्दा ठूलो ईस्लामिक म्युजियम रहेछ यो। कुरानको पाण्डुलिपि संग्राहलय र प्राचीन इस्लामका अनेकौँ सामग्रीहरु त्यहाँ रहेछन्। संसारभरीका विचित्रका भव्य र सयौँ वर्ष पुराना मस्जिदहरुका नमूना आर्किटेक्टहरु (मिनेचर) खडा गरिएका रहेछन्। कति कलात्मक, कति भब्य ती मस्जिदहरु। भब्यताले मानिसलाई एक किसिमको उत्साह दिन्छ। त्यही भब्यताभित्र ईश्वर छन् कि जस्तो लाग्ने रहेछ।

क्वालालम्पुर सहर सफा छ। सार्वजनिक बसहरु सहज छन्। अन्तर्राष्ट्रिय स्तरमा चलेको ट्याक्सी कम्पनीहरुको ग्र्याब र उभर जस्ता अनलाईन सेवाले यात्रुहरुलाई धेरै सहज बनाएको छ। सुविधा सम्पन्न टे«न सेवा छ। क्वालालम्पुरको यो विकास देखेर सपनामा मोनो रेल चढेर काठमाडौका मेयरलाई सम्झियौँ। तुलनात्मक रुपमा निक्कै सस्तो ट्याक्सी भाडा र हार्दिकता सहितको व्यवहारले ग्र्याबले सेवा प्रदान गरेको छ। त्यसमा पनि अत्यन्तै ज्ञानी ट्याक्सी चालकसहित।

हामी क्वालालम्पुरको एउटा ठूलो गुफा हेर्न जाँदै थियौँ, ‘बाटु केभ’। तामिल भाषामा बाटु भनेको नदी रहेछ। हजारौँ वर्षअघि गुफामाथिबाट नदी बग्दो रहेछ। यो गुफा चाहिँ हिन्दूहरुको भागमा परेको रहेछ भन्नु पर्‍यो। जसको मुखैमा संसारको दोस्रो ठूलो मूर्ति उभिएको छ ‘मुरगना’को। शिवपार्वतीका पुत्र कुमारलाई तामिलमा ‘मुरगना’ भनिँदो रहेछ। जुँगे महादेव त नेपालगञ्जमा छन्। यहाँ देव सेनामेनाका सबैका जुँगा रहेछन्। दक्षिण भारतीय अनुहारको प्रभाव प्रष्ट देख्न सकिन्छ यहाँका मुर्तिहरुमा। शिवजीको अनुहार पनि बेग्लै छ। एक सेमिनारमा प्राध्यापक अरुण गुप्तोले आफ्नो कार्यपत्रमा उल्लेख गरेका थिए, ‘कसरी मान्छेको समाज र संस्कृति अनुसार भगवानका शरीर र अनुहारमा प्रभाव पर्छ’ भनेर। हामी बसेको होटलबाट गुफासम्मको यात्रा करिव ४५ मिनेटको थियो। यो ४५ मिनेट विश्वविद्यालयमा विशिष्ट प्राध्यापकसँग लिएको दर्जनौँ कक्षा बराबरको भयो। विषय थियो, ‘रिलिजन एण्ड ह्युमानिटिज’ र प्राध्यापक थिए ट्याक्सी ड्राइभर जाकरिया। उनी वर्षौँदेखिका परिचित मित्रजस्ता हुन गए।

जाकरिया नेपाल गएका छैनन् तर नेपालको बारेमा उनलाई केही थाहा छ। नेपालको राजधानी काठमाडौ, सगरमाथा नेपालमा पर्छ भन्नेदेखि बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्ने पनि उनलाई थाहा रहेछ। नत्र विदेशका धेरै बुद्धमार्गीहरुलाई पनि बुद्ध भारतमा जन्मिएका हुन् भन्ने छ।

हामी म्यानमारबाट यता घुम्न आएको भन्ने थाहा पाएपछि उनले रोहिन्ज्याहरुप्रतिको चासो पनि देखाए। मलेसियासम्म रोहिन्ज्या शरणार्थीहरु पुगेका रहेछन्। बाराक ओबामा सन् २०१५ मा मलेसिया आउँदा ती शरणार्थीहरुलाई भेटेका रहेछन्। हामीलाई विश्वकै दोस्रो ठूलो कुमारको मूर्ति दर्शनमा लिएर हिंडेका यी ईस्लामिक युवा म्यानमारमा भैरहेको धार्मिक द्वन्द्वदेखि चिन्तित देखिए। ‘ह्वाई पिपुल फाइट फर रिलिजन ? ’ उनको प्रश्नको उत्तर दिनु हाम्रो लागि हाडे ओख्खर फोड्नुझै कठिन थियो। तर उनले आफैले उत्तर दिएर हाम्रो समस्या समाधान गरिदिए। ‘मलेसियामा ५३ मिलियन जनसंख्या छ। त्यसमध्ये ५ मिलियन त बाहिरका मान्छे छन्। चीन, थाइल्याण्ड, नेपालका मानिसहरु छन् यहाँ। तर हामी कहिल्यै झगडा गर्दैनौँ। चाइना टाउन जानु भयो भने किसिमकिसिमका मान्छे भेटिन्छन्। नेपालीसँग पनि भेट हुन्छ। मलाई सबै मिलेर बसेको नै राम्रो लाग्छ। किन झगडा गर्नु ? हाम्रो सरकारले पनि सबै धर्म मान्नेलाई समान व्यवहार गर्छ। हाम्रो सरकारको यो कुरा ठिक लाग्छ मलाई।’

यिनको मिठो कुरा सुनेर त्यस नौलो ठाउँमा झन सुरक्षित महसुस भयो। एउटा इलेक्ट्रिकल इन्जिनियरलाई हामीले ट्याक्सी ड्राइभरको रुपमा पाएका छौँ। जसको विचार साँच्चै उदार र सहज छ। ऊ ईस्लाम धर्म मान्छ तर बहुल समाजलाई आदर गर्छ। शब्दले बयान गर्न सकिरहेको छैन म, ऊ कति सहज थियो। सानो स्वरमा कति मिठासपूर्ण कुरा गथ्र्यो। के ऊ आधुनिक मोहम्मद हो, जसले हामीलाई सहिष्णुताको सन्देश दिइरहेको छ ? त्यसो त धेरै वर्षअघि नर्वेमा एकजना ट्याक्सी ड्राइवर फेला परेको थियो। ऊ भन्थ्यो, ‘यो संसारमा ईस्लाम मात्रै साँचो धर्म हो र अल्लाह मात्रै भगवान् हुन्।’ अतिवाद त जुन धर्ममा पनि छ। अतिकर्मकाण्डिय र रुढीवादी हिन्दुहरु मेरै परिवारमा पनि छन्। तर जाकरिया फरक थियो। साँच्चै उदार मनको। मलेसियामा ईस्लाम मान्नेहरु धेरै आधुनिक भैसकेका छन् सायद। बुर्का लगाएका महिलाहरु पनि मैले देखिन।

०००

दसैँको चहलपहल बढिसकेको थियो। कोतराय र चाइना मार्केट वरिपरि नेपाली बोलेको मनग्गे सुनिन्थ्यो। नयाँ सुटकेस र झोला किनेर लाने नेपालीहरु प्रसस्त देखिन्थे। सायद घर फर्किने चाँजोपाँजो मिलाउँदै थिए। एउटा पसल अगाडि केही मानिसहरु नेपाली भाषामा कुरा गरेको सुन्यौँ हामीले। उनीहरु भन्दै थिए, ‘बजार सुनसान हुन्थ्यो, अरु बेलाको शनिवार। आज किनमेल गर्न आएका नेपालीहरुले भरिएको छ।’

केएलको तेस्रो साँझ एयरपोर्ट पुग्नु अघि केही पुस्तक किन्नु थियो। म्यानमार बसाई लामै हुन गयो। यहाँको समसामयिक साहित्य पढ्ने कोसिसमा थिएँ। केही कविता, कथा, उपन्यास र आत्मकथा पढेँ। यो मौका थियो मलेसियन साहित्यको स्वाद चाख्ने। हुन त विदेशीहरुले सम्राट उपाध्याय र मन्जु श्री थापालाई पढेर नेपाली साहित्य बुझेजस्तो हुने हो मेरो ताल पनि। तर पनि पसलकी सेविकाको सहयोग लिएर केही मलेसियन लेखकका पुस्तक किनेँ। म्यानमारमा भन्दा निक्कै सस्तो रहेछ, केएलमा पुस्तकको मूल्य। तर नेपालमा त अझै सस्तो हो।

पुस्तक किनेपछि त्यसको बासना सुँघ्न मन लाग्छ। नयाँ पुस्तकमा एक किसिमको मादक वासना भेट्छु म। ‘न्यू मलेसियन राईटिङ’ लेखिएकाले मैले पुस्तकमा बेरिएको झिलझिले तोडेँ। पुस्तकको नाम थियो, ‘लिटिल बास्केट २०१६,’ जसको कभरमा केरा, भुइँकटर र ड्रयागन फ्रुट छ। अंग्रेजी भाषामा लेख्नेहरुको मलेसियन साहित्यिक जर्नल हो। फिक्सी नोभो यहाँको प्रसिद्ध प्रकाशन रहेछ।

भूमिकाको रुपमा प्रथम पृष्ठको पछाडि प्रकाशित ‘फिक्सी नोभो मेनिफेस्टो’को केही सूचनाले मलाई आकर्षित गर्यो। जहाँ लेखिएको छ, ‘हामी मलेसियाको शहरी जीवनका कथाहरु प्रकाशित गर्छौँ। यदि तपाईँ आफ्नी हजुरआमाको दोस्रो विश्व युद्धको कथा भन्न चाहनुहन्छ भने तिनलाई अरुतिर पठाउनुस्। के थाहा तपाईँले त्यसबाट बुकर प्राइज पनि जित्न सक्नु हुन्छ।’

‘हामी विशेष गरी पल्प फिक्सनलाई जोड दिन्छौँ। किनभने अपराध, भुतप्रेत, त्रास, विज्ञान कथा जस्ता कुराहरु पनि हाम्रा हुन्।’ अर्को बुँदा थियो, ‘हामी उपन्यास, कथा, संस्मरण, आत्मकथा, निबन्धहरु प्रकाशित गर्छौँ। कविता छाप्दैनौँ किनभने हामीलाई पैसा कमाउनु छ।’

फेरि २ घण्टा ४५ मिनेटको उडानमा यो पुस्तक साथी भयो। सुपर फेन्टासी, विज्ञान कथा, संस्मरण, कार्टुन्, स्केच वा कुनै विधा नतोकिएका रचनाहरु भएको यो पुस्तक साहित्यको बास्केट नै लाग्यो। यो फरक खालको काम देखेर फेरि आफ्नै देशको याद आयो। हामीकहाँ गतिलो साहित्यिक पत्रिकाहरु भएनन्। अचेल कि त अखवारहरुले तोकेको आकारमा शब्दहरु गनेर साहित्य लेख्नु पर्‍यो। कि त पुस्तक नै प्रकाशन गर्ने दुस्साहस गर्नु पर्‍यो। नेपालमा २५ सय शब्दमाथिका रचना छाप्न मिल्ने गतिला पत्रिकाहरु छैनन्। अविनाश दाइलाई सम्झिएँ। उनले समकालीन साहित्यलाई कस्तो गहकिलो र ईज्जतिलो बनाएका थिए।

मलाई लाग्छ त्यस पत्रिकाको हरेक अंग संग्रहणीय छन्। मेरो साहित्यिक शिक्षा त्यही पत्रिकाबाट सुरु भयो। धच गोतामे, रमेश विकल, अभि सुवेदी, धु्रवचन्द्र गौतम, सैलेन्द्र साकार, खगेन्द्र संग्रौला, नारायण ढकाल, विमल निभा, नयनराज पाण्डेदेखि कुमार नगरकोटीसम्मलाई मैले यही पत्रिकामा पढेको हुँ। यसै पत्रिकाबाट कति लेखक जन्मिए वा स्थापित भए। अविनाश दाइ साझा प्रकाशन पुगेर गरिमा पत्रिकालाई पनि त्यस्तै गतिलो बनाए। उत्तम कुँवरको रुपरेख, ऋद्धिबहादुर मल्लको शारदा मेरो पुस्ताले त भेटेन। अबको समयमा त्यस्ता पत्रिका कसरी निस्केलान् ? चिन्ता लागेर आउँछ, देशमा एउटा गतिलो साहित्यिक पत्रिका छैन।

केही दिनपछि फर्किँदा म्यानमारको बैदेशिक नीति परिवर्तन भैसकेछ। हामीले २८ दिनको लागि मात्रै भिसा पायौँ। अघिल्लो पटक पाएको भिसाको हिसाबले मेरो अझै ३५ दिन भिसा बाँकी थियो। ३ दिन बाहिर गएर आउँदा त भएको भिसाको दिन पनि घटेर गएछ। प्रतिप्रश्न गर्नुको कुनै अर्थ छैन। चित्त बुझाउने बाटो छ, यहाँका गुम्बा, स्तुपा र भिक्षुहरुको भेषले हामीलाई लोभ्याएकै छ। सम्झँदै छु फेरि आफ्नै देश नेपाललाई। छिमेकी देशहरुको स्थिति हेर्दा हामीले पाएको स्वतन्त्रता कति मूल्यवान् छ र त्यो स्वतन्त्रतालाई कसरी धज्जी उडाएर बाँचिरहेका छौँ हामी। राणा त्यसपछि शाह निरंकुश सासनका विरुद्धमा लामो संघर्ष गरे सहिदहरुले। अरु धेरै मानिसहरुले। वीपीलाई सम्झिरहेछु।

भूमिगत आन्दोलनमा यिनले म्यानमारदेखि हतियार मगाएर आन्दोलन गरेका थिए। पछि त्यही हतियार बंगलादेशसम्म पुग्यो भनेर उनले आत्मकथामा उल्लेख गरेका छन्। एउटै बन्दुकले ३ वटा देशको स्वतन्त्रताको लागि काम गरेछ। त्यस हिसाबले उनीहरुभन्दा हामी निक्कै र छिट्टै स्वतन्त्र भएछौँ। तर देश विकासका लागि हामीमा हामी भावना अझै आएन कि ? वीपीले आफ्ना सबै कृतिहरुमा ‘हामीहरु‘ लेखेका छन्। व्याकरण संच्याउनेहरुले ‘हामी’बाट ‘हरु’ हटाई दिन्छन्। तर, वीपीले लेखनको प्रवाहमा ‘हामीहरु‘ नै लेखे। आजको नेपाली समाजमा हामी हामी मात्रै हैन, वीपीको ‘हामीहरु’ मलाई झन् अर्थपूर्ण लागिरहेछ।

जाकरियाका पवित्र बोली मनभरी बसेको छ। अब २८ औँ दिनमा फेरि नयाँ गन्तब्य खोज्नुपर्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.