सुनसहित पक्राउ परेका तामाङलाई राजश्व अनुसन्धानमा पठाइयो
नुवाकोट : सुन तस्करीमा आवद्ध रसुवामा पक्राउ परेका युवक राजश्व अनुसन्धान विभाग चलान गरिएको छ। रसुवागढी नाका हुँदै अवैधरुपमा सुन भित्राउने कार्यमा संलग्न धादिङका युवकलाई मंगलबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
रसुवाको पासाङल्हामु मार्गको त्रिशूली-धन्चे सडकखण्डमा अवैध सुनसहित धादिङको तिप्लिङ घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका- ५ स्याफ्रुबेँसीमा बस्दै आएका ३९ वर्षीय जलबहादुर तामाङ सोमबार पक्राउ परेका थिए।
स्याफ्रुवेशीबाट नुवाकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा८२प ५११४ भिआर मोटरसाइकलबाट सुनसहित उनलाई पक्राउ गरिएको राजश्व अनुसन्धान विभाग परिचालन गरिएको रसुवा प्रहरीले जनाएको छ।
सडकमार्गमा नियमित चेकजाँचको क्रममा रसुवाको दक्षिणी भेगमा रहेको कालिका गाउँपालिकाको कटुञ्जेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए। पैतालामा कागजले बेरेर जुत्ताभित्र लुकाएको अवस्थामा ३ सय ७२ ग्राम सुनसहित तामाङलाई पक्राउ गरिएको हो।
रसुवागढी नाका काठमाडौंदेखि एकसय ५२ किलामेमिटर उत्तर भोटेकोशी नदी किनारा पूर्वी मोहडामा रहेको छ। नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा विस्तार भइरहेको रसुवागढी नाकामा अवैधरुपमा सुन तस्करी बढेसँगै प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !