आगलागीपीडितलाई घरको आश्‍वासन

आगलागीपीडितलाई घरको आश्‍वासन

कालिकोट : कालिकोट जिल्लाको पलाँता गाँउपालिका–१ खाँडागाउँका दीप न्यौपानेको घर गाउँको माझमा थियो। राति उनको खरले छाएको दुई तले खर जल्यो। उनले सिरानी हालेको कोट समेत जल्यो। मुस्किलले ज्यान जोगाएर बाहिर निस्किन सफल भए।

गोठका गाईवस्तु पोलिए। घरमा रहेको अनाज, हुण्डा, ताउला लगायतका भाँडाकुँडा सबै नष्ट भए। पुर्खाको चिनोसमेत रहेन। उनी अहिले छिमेकीको गोठमा बस्न थालेका छन्। ‘घरमा भएको सारा सम्पत्ति पोलियो। १० जनाको परिवार छौँ। बिहानबेलुका खाने केही छैन,’ उनले भने, ‘ज्यान जोगाउनै मुस्किल भयो। छिमेकीले दिएको कपडा लगाए बसेका छौँ।’

गाउँका अरु ८७ परिवारको हालत पनि उही छ। उनी गाँस र बासविहीन भएका छन्। बेलुका लाखौँको सम्पत्ति भएकाहरु पनि बिहान खालीहात भए। ‘राति दुई बजेको थियो होला। कसरी ब्युँझिएँ थाहा भएन। बाहिर निस्किँदा घरमा आगो लागिसकेको थियो,’ अर्का पीडित कुसराज न्यौपाने भन्छन्, ‘आमा बुवालाई बोलाएँ र दौडिएँ। कट्टु मात्र लगाएर सुतेको थिएँ, त्यत्तिकै भागेँ।’

पहिलो चरणको राहत बाँडियो

मंगलबार खाडाका आगलागी पीडितलाई पहिलो चरणको राहत वितरण गरिएको छ। पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उपाध्यक्ष दानादेवी न्यौपानले जिल्ला प्रशासन, नेपाल प्रहरी, नेपाली सेना लगायतकाको रोहवरमा सामग्री बाँडे। हरेक परिवारलाई २ पोका चामल, १ पाल, १ सेट भाँडाकुँडा, २ सिरक, २ डसना, एक कोरियन कम्मल, २ साना कम्मल, हरेकलाई ज्याकेट, सुरुवाल, चप्पललगायतका सामग्री हस्तान्तरण गरियो।

गृहमन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स लगायतका निकायले राहत सामग्री संकलन गरेका थिए। ती सामग्री सेनाको हेलिकप्टरले खाँडा पुर्‍याएको थियो। खाँडा पुगेका सीडीओ चन्द्रबहादुर कार्कीले क्षतिको विवरण संकलन भइरहेको बताए। उनले पीडितलाई समस्या नपर्नेगरी प्रभावकारी राहत दिइने बताए।

नमुना बस्ती बनाइने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट नस्ट खाँडा गाउँलाई नमुना बस्ती बनाउने घोषणा गरेका छन्। राहत वितरण गर्न खाँडा पुगेका उनले गाउँको पुननिर्माण गरिने बताए। खरले छाएका कारण गाउँ नै सखाप भएको भन्दै उनले अब टिनले छाएर बनाइने बस्ती निर्माणको जिम्मा आफ्नो सरकारको भएको बताए। प्रदेश सरकारले यसअघि नै पीडितलाई प्रतिपरिवार २० हजार रुपैयाँ र खाद्यान्न वितरण गर्ने निर्णय गरिसकेको छ।

गाँउपालिका अध्यक्ष बमले प्रदेश सरकारको घोषणाअनुसार नमुना बस्ती बनाउन तत्काल सुरु गर्ने बताए। गाँउपालिकाको निर्माण कार्यदलमाआबद्ध एक सय जना युवा र अन्य क्षेत्रका ३० जना मिस्त्री लगाएर काम सुरु गरिने उनको भनाइ छ। खाँडाको पुननिर्माणमा अन्य स्थानीय तहले सहयोग गर्ने पनि उनले बताए।

मान्छे नबस्ने घरबाट लाग्यो आगो

मान्छे नबस्ने घरबाट आगलागी सुरु भएको स्थानीयले बताएका छन्। ‘राति करिब पौने २ बजे नवीन न्यौपानेको आगो सुरु भयो,’ स्थानीय अगुवा बिष्णु न्याैपानेले भने। नवीनको परिवार कैलालीमा बस्छ। प्रत्यक्षदर्सी धनादेवी न्यौपानेले पनि सबैभन्दा पहिले त्यही घरमा आगो लागेको देखेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.