बालीघरे प्रथा कायमै
सिन्धुली : दुधौली नगरपालिका–३ का पूर्णबहादुर विक गाउँभरीका कृषी औजार र हातहतियार तयार गर्ने एकमात्र ब्यावसायी हुन्। उनको यस्तो काम वर्षैभरी चल्छ। यतीधेरै काम भएपछि उनको कमाई पनि राम्रै हुन्छ होला भन्ने अनुमान लगाउन सकिन्छ। तर, उनी वर्ष भरिको आफ्नो पारी श्रमिक अन्नपात लिएर चिक्त बुझाउछन। उमेर ५० नाघिसकेका विकले वर्ष भरि गाउँका आफ्ना विष्ट(ग्राहक)को हषिया, कोदालो लगायत कृषि औजार बनाए वापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा अन्नपात लिने गरेका छन। त्य पनि वर्षमा दुई चार पाथीकै भरमा। उनले गाउँभरिका विष्टहरुको काम यसरी नै गर्दै आएका छन।
विक त एक प्रतिनिधी पात्र मात्र हुन उनी जस्तै ग्रामीण क्षेत्रका दलित समुदायले लुगा सिलाएको, कृषि औजार बनाएको पारी श्रमिक वापत अहिले पनि बालिघरे प्रथामै चित्त बुझाउनु परीररहेको छ। अर्का सुनकोसी गाउँपलिका स्थित झागाँझोली रातमाटा का सानुमान विश्वकर्मा पनि आरन चलाए वापत मकै र धानमा काम गरिरहेका छन।
उनले कामको पारी श्रमिक वापत वार्षिक विष्टसँग अन्न लिने गर्छन। सदियौ देखी चलिआएको बालिघरे प्रथा निर्मुल हुन नसक्दा आफुहरुले काम गरेवापतको मुल्य नपाएको उनीहरुको गुनासो छ। बालिघरे प्रथा अनुसार उनीहरु परीवारबाट भिन्न हुँदा ग्राहकको पनि अंशवण्डा गर्ने गर्छन। आफ्नो अंशमा परेका ग्राहकको वर्षदिनको औजार बनाउने तथा लुगा सिलाउने काम उनीहरु बालिघरे प्रथाको आधारमा गर्दै आएका छन।
परम्परादेखी चलिआएको बालिघरे प्रथा अझै हट्न सकेको छैन। सिन्धुलीका ग्रामीण क्षेत्रमा मात्र होइन सदरमुकाम वरपर पनि अहिले सम्म बालिघरे प्रथा कायम छ। अझै पनि ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा हट्न सकेको छैन त्यसमाथि सदियौ देखि चलिआएको बालिघरे प्रथामा उनीहरु चित्त बुझाउन बाध्य छन। मुलुकमा दलितको नाममा आन्दोलन र सवैलाई सम्मानका साथै काममा लगाएपछि परि श्रम अनुसार मुल्य दिनुपर्ने भाषणहरु नेताहरुबाट हुने गरेको भएपनि त्यस अनुसारको अझै परिवर्तन हुन नसकेको दलित समुदायको गुनासो छ। नेकपा सिन्धुलीका दलित नेता बिनोद विक अझै पनि ग्रामीण क्षेत्रमा बालिघरे प्रथा कामयै रहेको स्वीकार गर्छन।
‘ठुला मेसीन किन्न सक्नेले शुल्क तोकेर काम गरे पनि ग्रामीण भेगका गरीब दलितहरु अझै पनि बालिघरे प्रथाका कारण श्रम शोषणमा परीरहेका छन’, बिकले भने। दलित सम्बन्धी काग गर्ने दर्जनौं संस्था सदरमुकाममा सिमित भइदिदा ग्रामीण भेगका दलितहरु आफ्नो पारि श्रमिक लिन सकिरहेका छैनन्। ‘दलितका नाममा आएका अबौं रुपैयाँ सदरमुकाममा सभा सेमिनार गरेर सकिन्छ तर हाम्रो हितका लागी खासै काम गरेको नदेखिने गरेको बाहुनतिल्पुङ्गका बावुराम नेपालीले बताउँछन्। एकातिर जातीय छुवाछुत र अर्कातिर बालिघरे जस्ता प्रथाका कारण ग्रामीण भेगका दलितहरु श्रमशोषणमा परिरहेका छन।