स्वीकृति र निषेधबीचको फूलकाँडा

स्वीकृति र निषेधबीचको फूलकाँडा

दार्शनिक तथा सामाजिक मापदण्डमा प्रेम अस्तित्वको वास्तविक कसौटी ‘के’ मा केन्द्रित भएको हुन्छ ?      

हुन त, यस प्रश्नको उत्तरले आफैंमा जटिल अवधारणा बोकेको हुँदो हो। प्रेमलाई रोमाञ्चकारी अनुभवसित समेटिएको कोमल भाव मानिन्छ, जहाँ केवल संवेदनाको मोल हुन्छ। तर, वास्तविक तथा भौतिक आधारमा प्रेम कुशल शिल्पकार हो, जसको स्पर्श मात्रले व्यक्तिको आत्मचिन्तन, सोचाइ, व्यवहार आदिमा व्यापक प्रभाव पर्छ। प्रेमको यस्तो मनोवेगले प्रेमीमा त्यस क्षण समस्त रुढिवादी परम्पराको व्यूह तोड्ने शक्ति दिन्छ। त्यतिखेर व्यक्ति सामान्यबाट असामान्य व्यक्ति बनिसकेको हुन्छ।

प्रेमको आध्यामिक पक्ष

हिन्दु रहस्यवादमा भगवान् श्रीकृष्णलाई प्रेम सिद्धान्तको मुख्य सूत्रधार मानिन्छ तर यो भौतिक संसारमा सबै चिजको सीमा छ। प्रेमको पनि निश्चित सीमा हुन्छ। तर त्यो सीमारेखा भिजुवल हुँदैन। भिजुवल नभएकोले नै प्रेम रहस्यमय हुन्छ।

प्रेमको अवधारणालाई भौतिक विज्ञानको सिद्धान्त चन्द्रशेखर लिमिटको दृष्टिबाट हेर्दा भौतिक संसारमा विद्यमान क्वान्टम कणहरू माझमा रहेको आकर्षण अनि प्रेमको चुम्बकीय आकर्षणलाई एकै मापदण्डमा राखेर हेर्न सकिन्छ। यस भौतिक प्रकृतिको विशाल प्रतिमान, आकाश गंगामा हजारौं ग्रह अनि ताराहरू आपसको चुम्बकीय आकर्षणमा केन्द्रित रहेर सुचारू रूपमा विस्तारित देखिन्छन्। यी ताराहरू एकदेखि अनेकौं हुन्छन्। तर, समयान्तरमा एक निर्धारित अवधिपछि फेरि सबै एकत्र भएर एक रूपमा जम्मा हुने गर्छ। बिग ब्याङको बृहत् विस्फोटको निम्ति। जसबाट फेरि नूतन आयामको सिर्जना हुने गर्छ।

प्रेमी श्रीकृष्णलाई पनि यी ताराहरूझैं अनेकौं रूप लिएर अनेकौं गोपिनीहरूसित रासलीलामा वशिभूत देखाइएको छ। प्रत्येक प्रेमलीला जीवनमा बृहत् विस्फोटको रूपमा आउँछ अनि फेरि त्यहीँबाट नयाँ सिर्जनाको प्रक्रिया सुरु हुन्छ।

त्यो विस्फोटपछि प्रेमी कृष्ण एकमा अनेक हुन्छन्। प्रेमिल कृष्णको यस प्रेमलीलामा, उनको बाँसुरीबाट निस्किएको प्राणवायुलाई पनि प्रेमसित जोडेर हेरिन्छ। जसअन्तर्गत यो भौतिक बाँसुरीबाट निस्किएको प्राणवायु पनि शिवत्व एवं उत्थानको सुमधूर ध्वनिको रूपमा भौतिक संसारमा व्यापक प्रेमसम्बन्धको आधार बनेको मानिन्छ।

सुफी समन्वयवाद र प्रेम

सुफी समन्वयवादी सिद्धान्तमा पनि प्रेमलाई भक्तिरसको रूपमा अनुनय गरिन्छ। जहाँ प्रेमीले प्रेमलाई विवेक अनि वैराग्य तत्वको मार्गमा हिँडाएर ईश्वरसँग सम्मिलित गराउँछ। सुफी समन्वयवादी सिद्धान्तमा ईश्वरबोधी रति या प्रेममा ईश्वरलीलाको आनन्दोमुख भावविभावको सार्थक चर्चा हुन्छ। मन भावशून्य बन्दै संसारको विषयवस्तुदेखि विरक्त रहन्छ अनि अन्ततिर बन्धनको शिथिलताबाट मनले भक्तिरसको आरोह अवरोहको क्रममा हिँडेर समाधि पाउँछ, यो सिद्धान्तको निचोड यो हो। त्यतिखेर सिद्ध बनेको चित्त र मनले प्रेमको त्यो उज्ज्वल अनि प्रौढ अवस्थालाई भेटाउँछ। जसलाई, बौद्ध रियालिज्मन्तर्गत ‘निर्वाण’ मानिन्छ।

विवाह, एक प्रेम संस्था

प्रेमले स्वार्थको भाषा बुझ्दैन। स्वार्थ चाहे सम्बन्धबाट उम्रिएको होस् वा प्रेमबाट, त्यसले मानव ‘फिल’लाई चोट पु¥याएको हुन्छ। यसैले प्रेमले भौतिक समाजमा न्यानो सम्बन्धतिर संकेत गर्छ, जसलाई समाजमा ‘विवाह’ नामले फ्रेमिङ गरिएको छ। त्यसैले ‘विवाह’ लाई सामाजिक संस्था मानिन्छ, जहाँ प्रेमको साथ अन्य जिम्मेदारीलाई पनि प्रमुखता दिइन्छ तर वैचारिक रूपमा हेर्दा प्रेम भावना मात्रै हो।

त्यतिखेर, स्वतः मनमा बारम्बार प्रश्न उब्जिन्छ, के बद्लिँदो समयसापेक्षमा पनि यो विवाह बन्धनबाट हुर्किएको प्रेम आपसमा बाँचिरहन्छ ? त्यसो भए, जुन जिन्दगीमा केवल ‘एड्जस्टमेन्ट’ मात्रै हुन्छ, त्यहाँ वैवाहिक–प्रेम सम्बन्धको मान्यताले कस्तो रूप लिँदो हो ?      

दाम्पत्य जीवनमा जीवनसाथी र पार्टनरको कयरिङलाई प्रेमभन्दा सर्वोपरि मानिन्छ। त्यसैले होला, दाम्पत्य जीवनमा प्रेम जीवित रहन यसमा पर्याप्त प्रेमको खाद्य अनि सिँचाइ चाहिन्छ। अनि मात्रै निर्दिष्ट समयपछि दाम्पत्यमा प्रेम मौलिँदै, भविष्यमा गाँजिएर अन्त जीवनतिर हुर्किँदै, न्यानो तथा बलियो छहारी बन्न पुग्छ।

जब व्यक्ति करियर, पैसा अनि ख्यातिको पछि दौडन्छ, त्यसक्षणदेखि प्रेम संवेदनाको कुनै अर्थ रहँदैन। हुन पनि सम्बन्धमा प्रेमले त्यतिञ्जेल मात्रै साथ निभाउँछ, जबसम्म यसमा प्रेमतत्व (समर्पण, त्याग भाव, जिम्मेदारी, सम्झौता) जीवित रहेको हुन्छ। जुन दिनदेखि प्रेममा कुनै पनि एक तत्व मिसिङ पाइन्छ, त्यही दिनदेखि प्रेमले ‘प्रेम’ हराउँछ। सम्बन्ध मर्छ। जहाँ केवल सम्बन्ध वा जीवन हराएको भग्नावषेश मात्रै बाँकी रहन्छ, शून्य बन्छ मानवसम्बन्धित संवेदना।

सात्र्र भन्छन्, जब मनुष्य कुनै स्त्रीसित विवाहबन्धनमा बाँधिन्छ, त्यसक्षणदेखि नै व्यक्तिले आफ्नो स्त्रीबाट पतिव्रत पालन भइरहोस् भन्ने चाह राख्न थाल्छ अनि स्त्रीलाई दायित्व, सम्बन्ध, लज्जा, परम्पराको बोझमुनि दबाएर राख्ने प्रयास सुरु हुन्छ। समयान्तरमा यही दायित्वबोधको भावनाले स्त्रीको मनमा गहिरो वेदना अनि निराश उत्पन्न गराउँछ। स्त्रीले लगातार यस प्रकारको भावनामा थिचिएर आफ्नो अन्तनिर्हित क्षमता अनि अस्तित्व गुमाउँछ।

आफ्नो परिचय हराएर, कसैले दिएको उपनामभित्र बाँच्ने केवल कृत्रिम परिचय मात्र बन्छ स्त्री। यस प्रभावले सम्बन्धमा तनाव बढाउछ। सायद ऊ यस प्रकारको सम्बन्धबाट जन्मेको भावना अनि थिचोमिचोबाट उन्मुक्त बन्न, स्वतन्त्र परिपेक्षतर्फ आकर्षित बन्ने बाटोमा लाग्छ। र, सायद यसरी दाम्पत्य जीवनबाट प्रेम हराएर जिम्मेदारी मात्रै बाँकी रहेको खोक्रोपनबाट अन्ततिर एक्स्ट्रा मैरिटिअल अफेयरतिर आकृष्ट बन्छ। त्यसक्षण आकर्षणको पृष्ठभूमिमा स्त्री–पुरुषमाझ रहेको त्यो छायारूपी प्रेम स्वाभाविक ठहरिन्छ।

त्यतिबेला दाम्पत्य जीवनको दायित्वबोधमुनि कैयौं वर्ष समर्पित रहेको पतिपत्नीको प्रेमसम्बन्धमा पहिलेझैं रोमान्टिक अनुभूतिको स्तर घटेर लगभग शून्य बनिसकेको हुन्छ। समयसाथ गृहस्थ जीवनमा बढेको जिम्मेदारी वा सामाजिक दायित्व निर्वाह गर्ने होडबाजीले दाम्पत्य जीवन समाजको बन्धनमा बाँधिएको एक संस्थामात्रै बन्छ।

समाजको भाषामा एक्स्ट्रा मैरिटिअल अफेयर भनिने आकर्षणतिरको तीव्रताले ‘प्रेम’को रेडिमेट अर्थ भंग गर्छ। जति नै मर्यादित होस्, यस प्रकारको सम्बन्धलाई समाजले स्वीकार्दैन।

एक्सट्रा मैरिटिअल अफेयरमा प्रेमको अस्तित्व छायाझैं हुन्छ। यस सम्बन्धमा प्रेम अनुभूतिको आफ्नै भोगाइ, अस्तित्व र भावनाको गहिरो प्रभाव हुन्छ। यस्तो सम्बन्धमा परेका प्रेमीजोडीलाई भलिभाँती थाहा भइसकेको हुन्छ, कुनै दिन समाजको ऐनामा ‘सम्बन्ध’ देखिन्छ, त्यो स्वतः अमर्यादित प्रेममा परिभाषित बन्छ। त्यतिखेर ‘प्रेम’ले यथार्थको पृष्ठभूमिमा आफ्नो मौलिक स्वरूप गुमाउँछ, सम्बन्ध दोषी बन्छ। तर प्रेमको कुनै परम्परा हुँदैन। विशाल परम्परा बोकेको समाजले जब प्रेमलाई परम्पराको खोरमा हाल्छ, प्रेम विद्रोही बन्छ। जेल तोडेरै बाँच्छ प्रेम। वास्तवमा प्रेमको बाटो जोखिमकै हुन्छ।

यी सब भएर पनि हृदयले किन खोजिरहन्छ त्यो अस्तित्वविहीनको प्रेम क्षितिज ? किन तिर्खाउँछन् प्रेमिल जोडी ? हुन पनि, प्रेम स्वतन्त्र तत्व हो। प्रेमले कसैमाथि अधिपत्य जमाउँदैन। त न प्रेमले कसैको अधीनता नै स्वीकार्छ, न प्रेमले भत्काउँछ।

रति या प्रेम

हुन त, सूक्ष्मभन्दा सूक्ष्मतर स्तरमा प्रेमको सचेतरूप यौनसम्बन्धतिर टिकेको बुझिन्छ। फेरि प्रेमभन्दा यौनलाई ‘हट फिलिङ’ मानिँदो हो। त्यसैले जब संसारले न्यानो प्रेमबारे चर्चा गर्छ, त्यसक्षण एक्लो बनेको प्रेम चिसो अनुभूति मात्रै बनिसकेको हुन्छ। तर, प्रेम मृत्युझैं चिसो अनुभव त होइन, यो त आत्मालाई शीतलता दिने तत्व हो र यौन चाहिँ प्रेमीलाई एक अर्कोसित बन्धनमा राख्ने अनौठो अनुभूति।

अनि जब प्रेममा स्वतः यौन जोडिनु पुग्छ, त्यसपछि यो बोधगम्य भावनामा प्रेमी जोडा शारीरिक तथा मानसिक रूपले एक बन्छन्। त्यतिखेर प्रेमले परस्पर सम्बन्धको मर्म बुझ्छ। हुन पनि, एक्लो प्रेमबिनाको यौन क्रीडा इलेक्ट्रिकल सम्यक अनुभूति मात्रै हुन्छ। कारण भावानात्मक आधारमा प्रेमभन्दा काम भावना नै संसारको समस्त क्रियाको मूल अभिव्यक्ति मानिन्छ। त्यसैले सिग्मन्ड फ्रायडले जीवनमा यौन परितुष्टिलाई नै प्रमुख चालक शक्ति माने। तर व्यक्ति यही काम तुष्टिको पछि भागेर समाजबाट अस्वीकृत पनि बन्न पुग्छ। व्यक्तिले जब सामाजिक मर्यादाको सीमारेखा बाहिर यौन चित्तवृतिलाई पूर्ण गर्ने मार्ग खोज्छ, त्यसक्षण व्यक्ति समाजबाट उत्प्रेरित स्त्रीको सौन्दर्यतर्फ आकर्षित हुँदै जान्छ।

त्यसैले समाजमा यौनलाई व्यापक सावित गराउन ‘देवदासी’, ‘कृष्णदासी’, जापानमा ‘गेयशा’ जस्ता विभिन्न प्रथा प्रचलित छन्। जुन प्रथाले अन्ततिर स्त्रीलाई भोग्यवस्तुको निरन्तर कैदी बनाउँछ, जहाँ स्त्रीलाई आफ्नो अस्तित्व गुमाउन बाध्य तुल्याउँछ।

आखिर, कस्तो बन्छ जीवन यी प्रथाहरू भित्र लादिएर बाँच्नु पर्दा ? सायद यहाँ स्त्रीको भावना सधैं तितरबितर बन्दो हो। जापानमा ‘गेयशा’ प्रथा अहिले मिथजस्तै बनिसकेको छ। वास्तवमा गेयशा वेश्या हुन् या होइनन् ? यसको मापदण्ड कसैकोमा छैन। वास्तवमा, असली प्रशिक्षित ‘गेयशा’ वेश्या होइन, यी स्त्रीहरू पुरुषलाई थकित र व्यस्त जीवनबाट एकैछन उन्मुक्त पार्न आफ्नो कलाजस्तै सति, नृत्य आदि शैलीमा निपूर्ण बनेका हुन्छन्। गेयशा स्त्रीहरू कला, मातृत्व भावना, सेवा अनि केयरिनेसको प्रतिमूर्ति बनिसकेका हुन्छन्। ‘आनसेन’ गेयशा चाहिँ प्रशिक्षण नगरी नै वेश्यावृत्तितिर निर्लिप्त रहन्छन्।

स्त्रीलाई समाजमा ‘वेश्या’ भनेर कसले निर्धारण गर्छ ? हुन पनि, स्त्रीलाई समाजले नै भोगाइको परिप्रेक्ष्यमा वेश्याको बीभत्स प्रतीक बनाइदिन्छ। मर्यादित सम्बन्धमा बाँधिएका पुरुषलाई सायद कुनै दुर्वल स्त्रीको कमजोर स्थितिले सम्मोहित गरेको हुन्छ होला, कारण यस्तो सम्बन्धमा कुनै प्रकारको उत्तरदायित्वबाट उब्जिने बाध्यता भोग्नु पर्दैन, यहाँ स्वतन्त्र हुन्छ व्यक्ति, अनि यस्ता सम्बन्धमा रस आनन्द भरपूर भए तापनि मानव भावनाको कदर चाहिँ हुँदैन। भोगाइको चाहनाबाट उब्जिएको प्रेमसम्बन्धमा त्यस स्त्रीबाट सायद व्यक्तिले पर्फेक्ट रतिक्रीडा चाहिँ भेट्टाउँछ होला, तर त्यस भोगाइमा प्रेमको त्यो आलिंगन वा प्रेमिल न्यानोपन कतै हुँदैन। हुन्छ त केवल यौन उत्तेजना।

यसैले प्रेमलाई सामाजिक, नैतिक अनि धार्मिक बन्धनभित्र मात्रै आनन्दप्रदायिनी सूत्र मानिने परम्परा छ। जसलाई मानव मस्तिष्कको इपिडस ग्रन्थी अनि इलैक्ट् ग्रन्थीले पनि मान्यता दिन्छ। यस बाहिर उब्जिएको प्रेमले केवल निरन्तर संघर्ष भोगिरहनुपर्छ। त्यसैले समाजबाट सर्वस्वीकृति नपाउँदा नै भावात्मक आधारमा प्रेमीजोडीले निराश स्थितिको सामना गर्नुपर्छ। यसरी अवचेतन मनले नभेटाएको प्रेमबाटै जन्मिनु पुग्छ वासना र यसरी नै लगातार लुटिन्छ फिलिङ अनि मानवमूल्य र नैतिकता। तर यस सबै वृत्तिपछाडि प्रेमको मनोविश्लेणात्मक आधार चाहिँ सन्तोषजनक ‘केयरिङगनेस’ मात्रै हुन्छ। कामले जब सम्बन्धमा प्रेमिल भावना समन्वय गर्छ, तब यसले व्यक्तिमा प्रत्यक्ष सन्तुष्टि दिन्छ र यही सम्बन्धको पनि समाजमा मर्यादित मान्यता रहन्छ। सायद, यसैलाई समाजले वैवाहिक समबन्धको माधुर्य नामले पनि चिनाउँछ।

प्रेम परिमेय

व्यक्तिको दमित तथा अतृप्त कामेच्छामा नै व्यक्तिको समस्त, सामाजिक दृष्टिकोण अडिएको हुन्छ। यस अवस्थामा प्रेम, सम्बन्धको थिचोमिचोमा केवल निस्सारताको अनुभूति मात्रै बनेको हुन्छ। तब के उपेक्षित भई विपरीत दिशातिर बगेको प्रेमलाई ‘आइडियलिस्ट’ मानिन्छ ? के प्रेमको अस्तित्व त्यतिखेर भोगाइभन्दा पनि माथिल्लोस्तरमा नगण्य बन्छ ? त्यसपछि के भावनात्मक आधारमा प्रेमभावना गतिशील बन्न सक्छ ? के प्रेमपासमा अचेत बनेर, भावुकतावश वा विवेक हराएर, भ्रममा वैवाहिक सम्बन्ध बाहिर हुर्किएर छायारूपमा बाँच्छ ? पत्नी र पतिप्रति लुकाउनुपर्ने हुँदा समयान्तरमा हीनभावनाले दबिँदै, भविष्यमा लुप्त हुँदै जान्छ ?      

यो स्वाभाविक हो जीवनमा ‘प्रेम, शोक, पराजय, भ्रम, क्रूरताभन्दा माथि हुन्छ, त्यसैले सम्बन्धको साङ्लीले गुत्थेको चेतनाविपरीत बगेको हुन्छ प्रेम। हुन पनि स्वतन्त्र आत्मगत भावनाको भाषा हो प्रेम। तरै पनि फेरि भावना कहिले, कत्तै स्थायी हुँदैन, यो समयसापेक्ष बद्लिन्छ। त्यसैले सम्बन्धको प्रणयानूभूति बाहिर पनि मनुष्य मनमा प्रेम जन्मिनु स्वाभाविक मानिनु पर्छ।

प्रेममा व्यक्तिले नाफा नोक्सानको हिसाब छाडेर सबैको खुसीको कामना गर्छ। प्रेम जब चरममा पुग्छ, त्यसक्षण व्यक्तिबीच तेरो–मेरो, तिमी–म, बिछोड–मिलन आदि मानव अन्तर्विरोधी दृष्टिकोण स्वाभाविक रूपमा हटेर जान्छ। यतिखेर दृष्टि निरपेक्ष बन्छ।

बौद्धिक स्तरमा ‘प्रेम’को अर्थले विभिन्न रूप देखाएको, लेखकवृत्तबाट केही उदाहरण राख्न सकिन्छ।

देवकोटा र प्रेमप्रसंग

देवकोटा लेख्छन्, ‘कलाको ज्योति स्त्रीबाटै फुत्केर बलेर आउँछ।’ देवकोटा दाम्पत्य जीवनमा गाँसिए पनि नारीप्रति उनको विशेष मोह थियो। उनले आजीवन पत्नी मनदेवीलाई पनि उत्तिकै आदर गरे। दुवैबीच प्रेम पनि घनिष्ट थियो। यतिसम्म कि देवकोटा घरबाट बाहिर जाँदा वा घरमा पस्ता पहिले मनदेवीको गाला चुम्थे। यस्तो घनिष्ट प्रेम रहँदारहँदै पनि जब मनदेवी कविप्रसाद गौतमको हरिकीर्तनमा तल्लिन बनिन पुगिन्, त्यसपछि देवकोटाको पारिवारिक, सामाजिक, भौतिक, भावात्मक, शारीरिक स्थिति तहसनहस हुन पुग्यो। हुन पनि प्रत्येक पुरुषको या परिवारको बृहत्तर सञ्चालनको निम्ति घरको स्त्री पूर्णरूपले समर्पित गृहिणी हुनुपर्छ भन्ने मान्यता छ। यस्तै अधुरो गृहस्थ अनि प्रेमबाट विरक्तिएर देवकोटाको मन पनि कसैको प्रेम सहाराको निम्ति छटपटिएर बस्यो।

यसैक्रममा देवकोटा दाजिर्लिङका देवकुमारी थापाको सौन्दर्यमा भलिभाँती भुलिए। देवकोटाले देवकुमारीलाई नेत्र अनि बुद्धिले भरपुर मन पराए, तर हृदयमा चाहिँ कहिले राख्न सकेनन्, त्यहाँ त केवल उनको सुन्दर पत्नी मनदेवीको राज थियो। देवकोटाले यस प्रेमकै ऊर्जाबाट धेरै सिर्जनात्मक कार्य गरे, यीमध्ये उनको कवितासंग्रह ‘परी’ प्रमुख मानिन्छ।

लथालिंग परेको दाम्पत्य जीवनबाट देवकोटाको प्रेम अभावले त्यसपछि प्रेमको बिसाउने चौतारी लखनउ अनि बनारसको सुन्दरीहरूको कोठातिर बिताएर रहर मेटाउने अनुभूतितिर लागिरह्यो। भनिन्छ, त्यहाँ देवकोटा सुन्दरी मुमताजको सुन्दरतामा यति साह्रो मोहित बने तर धनको अभावले गर्दा उनी त्यस वेश्याकोठीमा कहिले पनि पस्न पाएनन्।

तर, यी सबैको अनुभूतिको प्रभावमा कविको कविता वेश्या र वेश्याकोठीको वर्णनले भरिएको भेटाइयो। कवितामा उनले वेश्यालाई ‘लास’ लेखे। उनले वेश्यालाई पुरुष सत्ताको थिचोमिचो खाएर बाँचेको लाचार र मायालु स्त्री ठाने अनि वेश्याको यही नारीत्वलाई काव्यिक सम्मान पनि दिए।

जिती समाधि साधुको परी अपूर्व छिल्लिए

छ मस्तिष्कका प्रधान नै मनुष्यजीव, भुसुता

न मासु लाञ्छना गरी म पस्छु है चिसो गुफा

म फूलको हुँ परखी, म पुज्छु स सुन्दरी। (‘एक सुन्दरी वेश्याप्रति’)

त्यसपछि देवकोटाको नारीमोहप्रतिको बलियो स्पन्दन सोभियत रूसका प्राज्ञ डा ल्युदमिला आगानिनामा आएर टुंगियो। देवकोटा अनि ल्युदमिलाको साहित्यिक तथा विवेचनात्मक सम्बन्ध प्रसिद्ध बन्यो। यस प्रेमलाई ल्युदमिलाले बाँचुञ्जेल देवकोटाको कृतिहरूलाई रूसी भाषामा अनुवाद गरेर जवलन्त परिचालित गरिरहिन्। यो स्रष्टा, बौद्धिकता र क्रियटिभिटीको स्तरमा नापिने प्रेम थियो।

मानव मनमा एकपल्ट प्रेम वियोगको पीडाले चट्याङ हिर्काएपछि चोइटिएको त्यो मनले सायद घरिघरि प्रेम सहानुभूति खोज्दोरहेछ। त्यसैले होला, देवकोटा पनि पत्नी मनदेवीबाट दाम्पत्य जीवनमा निराशपद परिस्थितिको चोटमा परेपछि काठमाडौं सहरको विष्णुमाया श्रेष्ठको प्रेममोहमा यस्तरी बाधिँए, उनले ‘विष्णुमाया,’ ‘सानीमैयाँ’माथि ‘चारु’ कविता नै लेखे। वास्तवमा, देवकोटा प्रकृतिप्रेमी थिए र प्रकृतिको अनौठो सौन्दर्यको कारिगरिता ‘स्त्री’ प्रति उनको विशेष मोह रहिरह्यो। यही नारी आकर्षणमा देवकाटाले कैयौं उत्कृष्ट काव्य सिर्जना गरे।

हिलोर हिँड्थेँ तिमरो हिँडाइमा

फुल्थे सफा फूल सफा हँसाइमा

हेराइमा काव्य सफा यशस्कर

बसाइमा चित्र थियो मनोहर –(‘चारु’)

खलील प्रेम

कवि दार्शनिक खलील जिब्रानले साहित्यमा प्रेम विषयक धेरै रोचक तथ्यहरू लेखेका छन्। उनको निम्ति प्रेम स्वतन्त्र स्वर्गयुगको रुमानियत दृष्टिपात थियो। यहाँ प्रेम औपचारिक तथा अपेक्षाकृत फिलिङ नभएर ईश्वरतत्वसित जोडिने मार्ग थियो। उनको दर्शनले प्रेमको वियोगलाई मरुस्थलको घुटन सम्झेर बिर्साउनुभन्दा, त्यसक्षण प्रेमप्रति कमजोर बनेर प्रेमीसमक्ष टुटेर आत्मसमर्पित बन्नु सिकाउँछ, अनि प्रेमको प्रत्येक दुरुह बाटोतिर प्रेमीलाई निर्धक्क हिँड्न पनि प्रेरित गराउँछ। खलील जिब्रानले बन्धन बाहिरको स्वतन्त्र प्रेमलाई जीवनको आत्मगत सिद्धान्त मानेका छन्।

यो विचारणीय छ, प्रेमले सामाजिक मान्यता पाउँदा, त्यस प्रेमको समाजमा समर्थनको धारणा रहन्छ, अनि यस सम्बन्धमा जति नै प्रेम प्रगाढ रहेता पनि यो कहिले पनि समाजको मौलिक प्रेम गाथा बन्न पुग्दैन। साधारणतया समाजमा त्यो प्रेमको मात्र छाप रहन्छ, जो रागात्मक भावात्मक आधारमा अस्वीकृत बनेको हुन्छ। त्यसैले प्रेमको यस्तै अधुरो रागमा प्रख्यात रहेको भेट्टाइन्छ रानी रूपमती–बाज बहादुर, लैला–मजनु, हीर–राँझा, सलीम–अनारकली अनि शरी–फरहादको प्रेम।

इतिहास र मिथक

प्रेम भावावेशमा अभिव्यक्त रहेको छ। सौन्दर्यकी प्रतिमूर्ति इजिप्सन रानी क्लियोपेट्रा अनि प्रभावशाली रोमका जेनरल मार्क एन्टोनी बीचको प्रेमगाथा हेरौं। जब इतिहासमा यो प्रेम आत्मगत बन्यो, प्रेमले सत्ताको कृत्रिम बन्धनलाई पनि खारेज ग¥यो। रानी क्लियोपेट्रा, रोमका पूर्वजेनरल जुलियस सेस्रका पत्नी थिइन्। सत्ताको राजनीति पनि हिस्टेरियाको भाँती नै हुँदो हो, अनि त जुलियस सेस्रले क्लियोपेट्रालाई मिस्रको साम्राज्य बलियो पार्ने नीतिले मार्क ऐन्टोनीकहाँ समर्पित बन्न पठाए। तर, सायद प्रेम अतृप्त मीठो पीडा सरह होला, जसको जुनेली प्रभावमा मार्क ऐन्टोनीले क्लियोपेट्राको अक्षय सौन्दर्य अनि समर्पणलाई भोगेका थिए। अनि यही भावबोधबाट सुरु भयो इतिहास र मिथकको त्यो रुमानियत प्रेमगाथा। यसरी मार्क ऐन्टोनीले क्लियोपेट्रालाई पत्नी स्वीकार गर्दा, एन्टोनीको पहिलो पत्नी फूलभिया त्याज्य भएको दुर्बल भावना अनि दाम्पत्यमा सौता पसेको मनोवेगमा उनी उग्र बनिन्। फुलभियाले रोमलाई भित्रबाटै कमजोर पार्ने षड्यन्त्रमा प्रभावशाली रानी ओक्टाभिया विरुद्ध छली आक्रमणको प्रयास गरिन्। यतिखेर फुलभियाको भावावेष रोमविरुद्ध राष्ट्रद्रोहभन्दा पतिको अनाचार अनि बहिष्कारविरूद्ध नकारात्मक प्रदर्शनी गर्नु थियो।

उता रोमको कमजोर बन्दै गएको सत्तालाई बचाउन, नचाहेर पनि मार्क एन्टोनीले रानी ओक्टाभियाको विवाह व्यूहमा पर्नु प¥यो। तर, प्रेमले वैचारिक भाषा बुझ्दैन अनि त मार्क ऐन्टोनीको यस राजनैतिक फैसलालाई गर्भवती क्लियोपेट्राले समर्थन नै गरिन्। पति एन्टोनीप्रति सहानुभूतिको भावनामा मि श्रको समस्त फौज पनि क्लियोपेट्राले एन्टोनीलाई समर्पित गरेकी थिइन्।

त्यसक्षण गर्भवती क्लियोपेट्राले ऐन्टोनीको त्याज्य भाववेगमै जम्ले शिशुलाई जन्म पनि दिइन्। यसरी फौजबिना कमजोर परेका मि श्रको रानीमाथि, तब रानी ओक्टाभियाबाट आक्रमण हुने डरमा, एक्लो क्लियोपेट्राले आफ्नो आत्महत्याको झूटो खबर सार्वजनिक गरिन्। भनिन्छ, प्रेमले विवेक अनि नैतिकताको हत्या गर्छ। त्यसैले प्रेमको अनुकरणमा क्लियोपेट्राले पनि सत्ता प्रलोभनको नांगो वास्तविक सत्यलाई भोगिन्। हुन पनि कल्पनाको विपरीत दृश्यमान बनेको हुन्छ प्रेम। यहाँ प्रेममा वशिभूत भई अविचलित बनेका मार्क एन्टोनीले पत्नी क्लियोपेट्रालाई आपत्मा एक्लो पारेर मृत्युको मुखेञ्जी उभाएको पश्चातापमा आत्महत्या गरे। वास्तवमा क्लियोपेट्राले झूटोबाट प्रेमलाई जोगाउनु खोजेकी थिइन्। तर मार्क एन्टोनीको मृत्युको त्रासद खबरमा भावनात्मक बोझमुनि अन्ततिर प्रेमले उनलाई पनि आत्महत्या गर्न उस्कायो। यसरी, इतिहासमा प्रेमले सत्ताको मापदण्डलाई खोक्रो सावित गरेको थियो।

ओपन रिलेसनसिप

जेन रहस्यवादअनुसार मनुष्यलाई मनमा उत्पन्न प्रत्येक भावनाप्रति सजक अनि स्वविचारक बन्नुपर्छ, कारण जीवन भावनाको भुमरी मात्रै हो। त्यसैले जुन सम्बन्धमा गहिरो प्रेम छ, त्यहाँ घृणा पनि स्वतः जन्मिन्छ। दार्शनिक दृष्टिमा जब सम्बन्धमा प्रेम उर्वर रहन्छ, त्यसक्षण मानव सम्बन्धले सामाजिक मान्यता नपाएता पनि, प्रेमको उद्देश्य सामाजिक परम्परालाई खारेज गरेर, जस्तै निर्झर परिस्थितिमा पनि जीवित रहनुपर्ने हुन्छ।

त्यसैले प्रेम मौन भाव होइन, जहाँ केवल वासना मात्र लगातार बलिरहन्छ। प्रेम त्यो महाशुन्य अवस्था हो, जसभित्र निर्झर पत्थर पनि सुरभिपूत स्पर्शको चाहनामा प्रेरित हुन्छ। त्यसैले प्रेमको अर्थ कसैको निम्ति स्वतन्त्रता गुमाएर, उसले चाहेझैं व्यक्ति बन्न होइन, कारण यसरी परम्परागत थिचोमिचोभित्र लगातार संघर्ष भोग्न विवश बन्छ प्रेम।

व्यापक सामाजिक परम्परालाई खारेज गर्दै समाजमा बाँचिरह्यो फ्रान्सका बुद्धिजीवी सार्त्र अनि सिमोनको ‘ओपन रिलेसनसिप’ को अस्तित्व। जसलाई आजको युगले दार्शनिक समर्थक प्रेमसम्बन्धको रूपमा हेर्छ। सार्त्र अनि सिमोनको प्रेमले साहित्यमा अस्तित्ववाद अनि फेमिनिज्मको अनौठो मेल गरायो। सार्त्रले मानवसम्बन्धलाई केवल परस्पर संघर्षको दुर्बल व्यवस्थापन माने। त्यसैले आजीवन सामाजिक मूल्यमा कसैसित पनि बाँधिएनन्। तर उनले सिर्जनात्मक ढंगले कर्ममय जीवनभरि सिमोनको साहित्यिक विचारलाई समर्थन गरिरहे। सायद यही थियो, संस्कार अनि सामाजिक मूल्यलाई आक्रमण गर्ने अस्तित्ववादी प्रेम सम्बन्ध। यसैक्रममा सार्त्रको उपन्यास ‘नोजिया’ अनि फेमिनिस्ट सिमोनको ‘सेकेन्ड सेक्स’ले फ्रान्समा नवजागरणकालको आरम्भ गराउने महत्वपूर्ण भूमिका खेल्यो।

सार्त्र अनि सिमोनको यो ‘ओपन रिलेसनसिपमा’ केवल स्वतन्त्रता मात्रै थियो, मनलाई आक्रान्त पार्ने बन्धन कत्तै थिएन। यसै स्वतन्त्र बन्धनरहित ओपन प्रेम सम्बन्धलाई अन्ततिर समाजले पनि स्वीकृति दियो अनि त मृत्युपश्चात बुद्धिजीवी प्रेमी सार्त्र अनि सिमोनको फ्रान्समा संगै समाधि बनिएको देखिन्छ।

र, अन्तमा

प्रेम जीवनको त्यो माधुर्य घटना हो, जसले जीवनमा विपरीत तर नवीन परिवर्तन ल्याउँछ, अनि यहीँ रूपान्तरणले मानव मनलाई सम्पूर्ण रूपले औचित्य सुख दिन्छ। प्रेम आदानप्रदान गरिने व्यापारिक वस्तु होइन, यो संवेदनाको अभिव्यक्ति हो, जसभित्र विकसित हुन्छ अनुभूतिका यथार्थचित्रण अनि यसैबाट सन्तुलित बन्छ मानवीय व्यवस्था।

त्यसैले बाह्य संसारमा मानव मनले सम्बन्धको फैन्टेसीभित्र बाँच्नु सुरक्षित अनुभव गर्छ। र, विस्तारै त्यो कमजोर मन यही फैन्टेसीमा घुलमिल भई समाजमा आनन्दित बन्छ। यही समयान्तरमा उसको आत्मगत बानी बन्न पुग्छ। तर कत्तै यस्तै सम्बन्धको उत्पीडनमा बाँच्न बाध्य बनेको हुन्छ, मानव मन। त्यस सम्बन्धले हुन सक्छ व्यक्तिलाई बन्दीगृहझैं पीडा दिएको हुन्छ होला, तर सम्बन्धमा बाँच्ने मानव आदत सामु व्यक्ति विवश बन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.