टाइगर

टाइगर

जाँदाजाँदै उनले भनिन्, ‘तपाईं आउनुपर्छ नि।’ मलाई लाग्यो म वास्तविक नायक हुँ र पप्पु खलनायक।


एबीसी अर्थात् अन्नपूर्ण बेस क्याम्पको पदयात्रा गरेर फर्किने क्रममा राम्ररी आँखा पनि नखुलेको ‘टाइगर’लाई सुन्दरले छोमरोङबाट ल्याएको थियो। लेकको कुकुर यहाँ बाँच्दैन भन्ने उसको आमालाई लागेको थियो र मलाई पनि। तर ऊ बाँच्यो, सानदार किसिमले बाँच्यो। सुन्दरको कुकुर पाल्ने रहर पनि उसको अन्य रहरजस्तै केही दिनमै हराएर गयो। उसको बहिनी विद्याले पनि सुरुसुरुमा ‘आहा ! कस्तो क्युट’ भन्दै बोक्नुबाहेक पछि बेवास्ता मात्र हैन, लगभग घृणा नै गरिन्। खासगरी जब उनको बाबाले जापानबाट पठाइदिएका उनका राम्रा लुगाहरू टाइगरका तिखा दाँतहरूले धुजाधुजा पारिदिए। माया नभएकी भए टाइगरले गतिलो हेरचाह पाउने थिएन। भर्खरै आमा गुमाएकी र आफ्नो बाबाले लगत्तै ल्याएको कान्छी आमासँग सहज नभइसकेकी माया त्यो घरको सहयोगीको रूपमा थिइन्। मायाको काम तरकारी केलाउने, भाँडाकुँडा धुने, लुगाफाटा धुने, घर सफा राख्ने र टाइगरको स्याहारसुसार गर्ने थियो। टाइगरलाई उनी बेलाबेला नुहाइदिन्थिन्, भाइ भन्थिन् र माया गर्थिन्।

टाइगर स्वाभाविक किसिमले मेरो कोठामा पनि आउँथ्यो। दिन त मैले कहिल्यै उसलाई केही खान दिइनँ तर ऊ मसित आत्मीय भइदियो। राति जब म लघुशंका गर्न बाहिर निस्कन्थेँ, ऊ पुच्छर हल्लाउँदै मेरो खुट्टामै अल्झिने गरेर सँगै हिँड्न खोज्थ्यो। आमालाई खोजिरहेका जस्ता उसका आँखाहरू यति मायालाग्दा थिए कि जब म कोठामा पस्थेँ, उसलाई ढोकाबाहिर छाडेर राख्न मन मान्दैनथ्यो। फलतः टाइगरले मेरो खाटको तल मात्र हैन, माथि पनि पहुँच पायो। ऊ मेरो खुट्टाको छेउमा शान्तसँग सुतिरहँदा म स्वयम्लाई एक प्रकारको आनन्दानुभूति हुन्थ्यो। महाभूकम्प आउनु केही अघि ऊ अनौठो प्रकारले मेरो कोठामा आत्तिएर कराउँदै उफ्रेको थियो र जब मैले चुकुल खोलेँ त्यतिबेला पूरा घर हल्लिन थालेको थियो। त्यतिन्जेल ऊ घरबेटी दिदीको बाहेक सबैको प्रिय थियो। एकरात उसले विद्याको एउटा स्यान्डल बिगारिदिएपछि उसको घाँटीमा साङ्लो पर्‍यो र बल्ल उसले भुक्न सिक्यो।

यो कुरा बताइहाल्नुपर्छ, त्यो बेला म संकाय फेर्दै पृथ्वीनारायण क्याम्पसमा वृद्ध विद्यार्थीको रूपमा राजनीति गरिरहेको थिएँ र त्यो घरको भुइँतलामा डेरा गरेर बसेको थिएँ। भुइँतलामा सुन्दरका साथीहरूसँग संगीत अभ्यास गर्ने कोठा थियो। वास्तविक स्वरमा नगाइकन आवाज बिगारेर सुन्दरले गीत गाएको कस्तो असुन्दर लाग्थ्यो तर मैले उसलाई बेलाबेला भन्ने गर्थें, ‘यु सिङ ग्रेट।’ मक्ख पथ्र्यो र एउटा गालामा खोपिल्टो पर्ने गरेर हाँस्थ्यो। सकेसम्म ध्वनि बाहिर नजाने व्यवस्था भए पनि मलाई निकै व्यवधान पगिरहेको हुन्थ्यो। त्यसमाथि टाइगरको भुकाइ सुरु भयो। मुटु नै थर्काउने गरेर भुक्थ्यो। कोही नयाँ मान्छे आए ऊ बेतोडले भुक्थ्यो तर मायाले लेघ्रो ताने जस्तो गरेर लामो ‘टाइइइगर भाइइइ’ वा मैले हकारेको आवाजमा ‘टाइगर’ भनेर कराएपछि मात्र चुप लाग्थ्यो। कहिलेकाहीँ रातभर जसो भुकिरहन्थ्यो तर म सधैं उसलाई चुप पार्न सक्दिन थिएँ।

घरबेटी दिदी (म दिदी भन्थेँ) सँग मेरो नराम्रो नभए पनि सौहाद्रपूर्ण सम्बन्ध हुन सकेको थिएन। हामीबीच एउटा अपरिभाषित दूरी रहिरह्यो। मेरो राजनैतिक पहुँचबाट मैले त्यो डेरा पाएको थिएँ तर मेरो राजनैतिक प्रभावबारे सायद उनी अनभिज्ञ थिइन्। म क्षेत्रीको छोरो भए पनि उनी मलाई कहिलेकाहीँ ‘बाहुन भाइ’ भन्थिन्। घरमा सहरका केही नाम चलेका परिचित नेताहरू र व्यापारीहरू पनि आउँथे। घरबेटी दिदीसँग राति निकै अबेरसम्म गफ गरेर जान्थे। बाहिर सडकमा मसित हात मिलाउने र आवश्यक पर्दा मलाई गुहार्ने केही मान्छेको पनि त्यहाँ आवत्जावत थियो तर मलाई देखेर तिनीहरू बोल्न खोज्दैनथे र तर्किन्थे। तिनलाई लाग्दो हो, मैले तिनका महिला मित्रको घरमा डेरा बनाएर अपराध गरेको छु। मेरो कुनै महŒव नभएको जस्तो दिदीको व्यवहारले अपमानित महसुस भए पनि म त्यहाँ बसिरहेको थिएँ। यसको कारण विद्या र केवल विद्या थिई।

जतिबेला म त्यहाँ डेरा गर्न गएको थिएँ, उनी भर्खर प्लस टु भ्याएर आएलटिएस र अन्य के के गरेर बसिरहेकी थिइन्। मोटी भनेर भन्न सकिने उनको शरीरको ढाँचा थियो र मेरो लागि त्यो नै आकर्षणको कारण थियो। आमा चाहिँ मलाई सम्पूर्ण रूपले बेवास्ता गर्थिन् भन्ने कुरा सायद उनलाई थाहा थियो। त्यसैले त्यसको क्षतिपूर्ति जस्तो मलाई भएको थियो। उनी मसँग कुरा गर्थिन् र यसरी मुस्कुराउँथिन् मानौं हामीबीच केही छ, थियो र त्यो बीचमा नभै मतिर बढी थियो। म उनलाई हेर्न मन पराउँथे। उनी बोलेको, हिँडेको र खासगरी मलाई देख्नेबित्तिकै हाँसेको देखेर म भित्रभित्रै उनीतिर आकर्षित भइसकेको थिएँ। मलाई सुरुमा लागेको थियो उनी मभन्दा अग्ली छिन्, त्यसैले उनको अगाडि पर्न पनि सक्दिनथिएँ। एउटा शनिबारको बिहान म टाइगरसँग खेलिरहेको थिएँ। भर्खरै नुहाएर बाहिर बगैंचामा कपाल सुकाउन आइरहेकी विद्यालाई मैले साहस बटुलेर ‘तिमी त कति टल है’ भनिदिएँ।

मलाई आश्चर्यमा पार्दै उनी हाँस्दै आफैं मेरो नजिकै आइन् र मेरो काँधमा छुँदै उचाइ दाँजिन्। उनको अनुसार लगभग दुई इन्चले म अग्लो रहेछु। त्यतिबेलै टाइगरले हामीलाई फनफनी घुम्यो र मेरो छातीमा खुट्टा अड्याएर ठिंग उभियो र मेरो गाला चाट्न आयो। म अलि तर्केपछि उसले विद्यालाई पनि चाट्न खोज्यो। ‘छि !’ भन्दै र एकैचोटि टाइगरको टाउकोमा हान्दै उनी मबाट टाढा गइहालिन्। उनको कपालबाट निस्रित पानीका केही थोपाहरूले मेरो काँध भिजाए। नजिक हुँदा आएको मादक बासनाले मभित्र वासना जगाइदियो। केही कपाल फुलिसकेका भएर होला, उनी केही प्रौढ लागिन्। त्यो नै सबैभन्दा सुन्दर क्षण रह्यो। केसम्म हुन थाल्यो भने बरण्डामा उनको स्कुटर र मेरो बाइक सँगै हुँदा पनि म आनन्द मान्थेँ।

त्यसरी नै सुन्दर पनि हाँस्थ्यो र मलाई सुन्दर पनि राम्रो लाग्थ्यो। ऊ रातिराति आउँथ्यो। कहिलेकाहीँ टाइगरलाई साङ्लोले बाँधेर ऊ मर्निङवाकमा निस्किन्थ्यो। सुन्दर टाइगरमाथि माया भन्दा आदेश र हप्कीदप्कीको वर्षा गरिरहन्थ्यो। ऊभन्दा म टाइगरसित भावनात्मक रूपले नजिक थिएँ हुँला तर मैले कहिल्यै उसलाई डुलाउन लगिनँ। म मालिक थिइनँ नि त।

टाइगर अब रहरलाग्दो नभै डरलाग्दो ठूलो भइसकेको थियो। दिनमा दुईपटक खोले खान्थ्यो र पचास रुपैयाँको त कुखुराको टाउको र खुट्टाहरू बजाउँथ्यो। उसको आवाज पनि गहिरो र शक्तिशाली भइसकेको थियो। तरकारी बेच्न आउने एकजना महिलाको सातो पुत्लो उडाइदिएपछि उसको साङ्लो अझ बलियो पारिएको थियो। असोज, कात्तिक महिनामा ऊ बढी फुत्किन र भाग्न खोज्यो तर ऊ माथिको नियन्त्रण अझ कसिलो हुँदै आयो। ऊ घर बाहिरका मान्छेको लागि त्रासको जन्तु भए पनि मेरो र विशेष गरेर मायाको लागि सानो छाउराजस्तै थियो। किनकि उसको व्यवहार सानो हुँदाको जस्तै थियो। घरका अन्य सदस्यहरू माथिल्लो तल्लामा रहने हुँदा कोही आउँदा कुकुर हेरिदिनुपर्ने एउटा अघोषित काम गर्न थालेँ।

मिस मंगोल प्रतियोगितामा विद्याले पनि भाग लिने भएपछि उनी परिवर्तित हुन थालिन्। उनको तयारी घरबाहिर थियो र हेर्दाहेर्दै उनी पातली हुन थालिन् र उनको कपाल पनि हल्का राता हुन थाले। तर सुन्दरहरूको तयारी घरमा तीव्र गतिमा हुन थाल्यो। उसका केही साथीहरूले सुन्दरी प्रतियोगितामा कन्सर्ट गर्ने भए। नाम मात्रको साउन्ड प्रुफ कोठाबाट आउने उसका साथीहरूको सांगीतिक तयारीको होहल्ला टाइगरको तारान्तारको भुकाइभन्दा कर्कश लाग्थ्यो। सुन्दरका अन्य साथीहरूको यो कथासँग कुनै सम्बन्ध छैन। तर बुलेट बाइकमा पछाडि इलेक्ट्रिक गिटार भिरेर आउने पप्पुको कारण मलाई उनीहरूको त्यो क्रियाकलाप सह्य हुने थिएन। कालो वर्णको पप्पुको शरीर ठूलो थियो, उसका आँखाहरू नसामा भएका जस्ता लाग्थे र उसको माथिल्लो ओँठमा केहीले काटेर गहिरो खत बसेको थियो। जब ऊ मलाई हेर्दै मुस्कुराउँथ्यो, त्यो मलाई व्यंग्यात्मक लाग्थ्यो र मलाई ऊ डरलाग्दो लाग्थ्यो। बिस्तारै मलाई के आभाष हुन थाल्यो भने विद्या र पप्पु नजिकिएका छन् अथवा उनीहरूको परिचय वा निकटता भनुँ पहिलादेखि नै थियो। त्यो घरमा आउने निरन्तरता अरूको भन्दा उसको बढी भएको जस्तो लाग्न थाल्यो। कहिलेकाहीँ आफ्नो स्कुटर छोडी पप्पुसित बुलेट चढेर क्याटवाक अभ्यासमा जान थालेको देखेपछि मभित्र ईष्र्याको ज्वारभाटा उठ्न थाले। अरू आउँदा टाइगरलाई चुप लगाउने भए पनि पप्पु आउँदा भने मलाई त्यसो गर्न मन लाग्ने थिएन। माया पनि बेवास्ता गरिदिन्थी।

बाहिरको धारामा थुप्रै भाँडाहरू पखालिरहने, एक डुँगुर लुगा धोइरहने वा ‘मेरो टाइगर भाइ’ भन्दै टाइगरलाई खोले र फ्रेस हाउसबाट ल्याइएका कुखुराका टाउका र खुट्टाहरू खुवाइरहने मायालाई नदेखेको दुई दिन भएपछि बल्ल मैले थाहा पाएँ कान्छी आमाले माया गरेर मायालाई लिन आइछन्। र सायद त्यही कारणले टाइगर अब कम भुक्ने भएको थियो र थोरै खाने भएको थियो।

एक साँझ म पार्टी कार्यालयबाट फर्केर डेरामा पुग्दा ढिलो भइसकेको थियो। ९ बज्नै लागेको थियो। बाहिर बुलेट देखेर मैले घृणाले मुख बिगारेँ। ढोका खोल्न लाग्दा पप्पु मेरो अगाडि ठिङ्ग उभिन आइपुग्यो। डरले लगभग कामे। गम्भीर मुद्रामा भनेको मैले सुनेँ, ‘तपाईंलाई नै वेट गरिराख्या दाइ।’ उसको आवाज थर्थरायो। मलाई लाग्यो ऊ मैले सोचेजस्तो खतरा छैन। केही आश्वस्त भएँ र सोधेँ, ‘के होला हजुर ? ’ एउटा स्पाइरल नोटबुक मतिर बढाउँदै उसले भन्यो, ‘केही इम्पोर्टेन्ट लेडीहरूको नाम लेखिदिनुस् न।’ मेरो अन्यमनस्कतालाई बुझेर उसले कुरा जारी राख्यो, ‘तपाईंलाई थाहा छैन होला, मिस पोखरा भइरहेको छ नि त्यसमा विद्याको पनि पर्टिसिपेसन छ, जित्ने होप छ। तर हामीलाई फ्लोरेन्स नाइटिंगेल र मदर टेरेसा अनि अनुराधा कोइरालाबाहेक अरू थाहा छैन। यसो नामहरू थपिदिनुहुन्छ कि भनेर।’ मैले कुरा बुझिहालेँ र त्यति कामको लागि ऊ मकहाँ आएको पाएर खुसी पनि भएँ। विद्या आफैं नआई किन पप्पुलाई पठाइहोली भनेर मलाई एकतमासको नरमाइलो पनि लागेर आयो। तर पप्पुभन्दा म केही विशेष भइसकेको पाएर मैले भनेँ, ‘यहीँ आए त म सबै बिस्तारमा बताइदिन्थेँ, ठीकै छ, भोलि बिहानसम्म लेखेर दिउँला।’ पप्पुले अलि हतारमा भएजस्तो हुँदै भन्यो, ‘लिस्टमात्र दिनुस्, बाँकी हामी आफैं गुगल गरिहाल्छौं, स्पेलिङ नबिगार्नुस्।’ उसको विनम्रता मलाई मन परेन। केही सम्झेर मैले अंग्रेजीमा पाँचवटा नाम लेखेँ, हिलारी क्लिन्टन, आन प्र्mयाङ्क, ओपह्र विन्फ्री, मरी क्युरी र आङ साङ सुकी। ऊ माथिल्लो तल्लामा गइरहेको टाइगरले रिसाहा आँखाले हेरिरह्यो तर भुकेन।

विरक्त लाग्ने बेलामा टाइगरको संगतले मलाई शान्ति दिन्थ्यो। अर्को बिहान क्याम्पसतिर नगई म प्लास्टिकको आफ्नो कुर्सी लिएर टाइगरको छेउमा बसिरहेको थिएँ। त्यतिखेर विद्या म नेर आइन् र हिजो दिएको नामहरूको बारेमा सोधिन्। अचानक मेरो उदासी हराएर गयो। मैले जानेका र केही आफैंले बनाएर गफ दिएँ। रुचिपूर्वक सुनिसकेपछि उनले भनिन्, ‘तपाईंलाई त कति कुरा आउँछ हो के।’ वातावरणमा उनको उपस्थितिको बाक्लो गन्धले म लठ्ठिएको थिएँ। जाँदाजाँदै उनले भनिन्, ‘तपाईं आउनुपर्छ नि।’ मलाई लाग्यो म वास्तविक नायक हुँ र पप्पु खलनायक।

प्रतियोगिता हुने दिनको बिहानै ऊ आयो। उसको बुलेटको आवाजले मैले थाहा पाएको थिएँ। उसलाई अब टाइगरले भुक्ने थिएन तर नराम्रो आँखाले हेथ्र्यो। बुलेटको आवाज थामिएलगत्तै अनौठो आवाज आयो। मान्छेका होहल्ला जस्तो पनि सुनेँ। बाहिरको अस्वाभाविक आवाजले मलाई अधिक तान्यो। बाहिर सडक पारिको नालीमा पप्पुलाई टाइगरले लुछिरहेको थियो। टाइगर साङ्लोसँगै भागेर गएको रहेछ। मान्छेहरू आत्तिदैं त्यो दृश्य हेरिरहेका थिए, जहाँ पप्पु नालीमा घोप्टो परेको थियो र उसको माथि टाइगर मनपरी गरिरहेको थियो। मलाई पहिलादेखि नै एकाध पटक लागेको थियो, टाइगरले पप्पुलाई लुछिदेओस् उसको अनुहार कुरूप पारिदिओस्। तर मलाई अहिले उसको माया लागेर आयो। म अगाडि बढेँ र कराएँ, ‘टाइगर।’ तर ऊ टसको मस भएन। मैले पुनः कराएँ तर ऊ पप्पुको पिँडौंलामा मुख गाडेर बसिरह्यो। एक्कासि एउटा आवाज सुनें, ‘टाइइइइगर भाइ !’ र टाइगरले आफ्नो टाउको माथि उठायो, यताउति हेर्‍यो र सडकमा आएर दगुर्दै अलि पर बिजुलीको खम्बानेर उभिरहेकी मायानेर उभिन पुग्यो। ऊ त्रसित त्रसित देखिन्थ्यो। उसले मायालाई चाट्न थाल्यो र मायाले पनि टाइगरलाई मुसारिरहिन्।

यता सुन्दर र मैले घाइते पप्पुलाई नालीबाट बाहिर निकाल्यौं। उसको अनुहारमा रगत र हिलो लागेको थियो। टिसर्ट च्यातिएको थियो र ऊ लगभग अर्धबेहोसीमा थियो। मेरो नेतृत्वमा उसलाई घटनाको कारण नजिकै रोकिरहेको ट्याक्सीको यात्रीलाई उतारेर अस्पताल लगियो। विद्या र सुन्दर उसँग ट्याक्सीमा गए।

त्यो बिहान दूध लिएर आएपछि घरबेटीले गेट बन्द गर्न भुलेको कुरा थाहा भयो। मायासँग टाइगर आफ्नो ठाउँमा गइसकेको थियो तर बाहिर भयंकर टोक्ने कुकुरलाई मार्दिनुपर्छ भन्ने माग हुन थाल्यो। त्यसमा छिमेकीको आवाज सबैभन्दा चर्को थियो। घरबेटी दिदीको शीघ्र स्वीकृतिपछि टाइगरलाई कसरी मार्ने भन्ने कुरामा सानोतिनो विवाद भयो, उसलाई विष खुवाएर मारिदिनुपर्छ वा गोली ठोकेर सिध्याइदिनुपर्छ भनियो। एकजनाले त केसम्म भन्यो भने उसलाई रूखमा झुन्ड्याइनुपर्छ र ढुंगाले हानीहानी प्राणपखेरु उडाइदिनुपर्छ। त्यो सुनेर मलाई रिस उठेर आयो। अन्ततः मैले उसलाई टोलको एउटा निजी भेटनरी लाने भएँ। माया पनि मसँग गइन्। यसअघि एन्टिरेबिज सुई लगाइदिन माया नै जाने हुँदा त्यो सजिलो काम पनि थियो।

भेटनरीमा टाइगर शान्त थियो। सायद उसले चिनेको थियो। भेटनरीको बरण्डाको थोत्रो टेबलमा टाइगरलाई राख्यौं। ऊ मायाको अँगालोमा थियो। मैले उसको खुट्टातिर मुसारिरहेँ। सुरुमा उसलाई लठ्याउने सुई दिइयो। त्यसपछि उसलाई प्राणघातक सुई दिइयो। खुट्टा अलि चलायो तर पशु चिकित्सकले भनेजस्तो दुई मिनेट बितिसकेर पनि उसले मायालाग्दो गरेर मलाई र मायालाई पालैपालो हेरिरह्यो। अन्त्यमा उसलाई थप डोज दिइयो। एकैछिनमा उसको शरीर शिथिल भयो। मायाको अनुहार मलिन भएर आयो र उनले आँसु जबर्जस्ती रोक्न खोजिन्। मेरो पनि घाँटीनेर केही अड्किएको जस्तो भइरह्यो। हामीले चुपचाप शोक मनायौं, अरूले होहल्लापूर्वक टाइगरको मृत्यृउत्सव मनाए।

०००

केन्द्रबाट आएको आफ्नै गुटको एकजना नेताको कार्यक्रम छाडेर म सौन्दर्य प्रतियोगिता हेर्न गएँ। धेरै कुर्सीहरू काम नलाग्ने गरी बिग्रेर बस्न नहुने भएको सभागृहको हलको मञ्च भने भव्य सजाइएको थियो। मलाई मन नपरेको चाहिँ उद्घोषकहरू थिए। भर्खरका ती सिकारु उद्घोषकहरू नेपालीभन्दा अंग्रेजी बोलिरहेका थिए र त्यसमा पूरा कृत्रिमता झल्किरहेको थियो। अनि यान्त्रिक बिरालो हिँडाइ, यान्त्रिक नमस्तेहरू र कृत्रिमजस्तो लाग्ने मुस्कानको वर्षा र कृत्रिम नै सुनिने भाषा बोलिने मिस मंगोल २०७३ नामक सौन्दर्य प्रतियोगितामा सुरुमा त मैले विद्यालाई चिन्न सकिनँ। अधिकांश ताज अभिलाषी सुन्दरीहरू एकैजस्ता देखिएका थिए। विद्याको मुस्कान पनि घरमा देखेजस्तो आत्मीय लागेन। ट्यालेन्ट सोको विद्याको ‘कम्मरमाथि पटुकी...’ नाचमात्र मलाई मन पर्‍यो। साँच्चै भन्ने हो भने त्यो नृत्य मेरै लागि जस्तो लागेर म भावुक भएँ। उनी त्यसरी पनि नाच्छिन् भनेर मैले सोचेको थिइनँ। उनी उत्कृष्ट पाँचमा पुगेपछि सुन्दरहरूको प्रस्तुति थियो। गीतभन्दा लामो समय त उनीहरूले गितारको तार मिलाउन र किबोर्ड र ड्रमसेटहरू सेट गर्न मै बिताइदिए। मलाई अचम्म लाग्यो, पप्पु अनुहारमा पट्टी बाँधेर गिटार बजाइरहेको थियो। तर उनीहरूको गीतमा मेरो ध्यान गएन किनकि त्यहाँ मैले टाइगरको भुकाइ सुनिनँ।

बेस्ट ब्युटिफुल हेयर र बेस्ट इन्टेलिजेन्सको उपाधिसहित विद्या सेकेन्ड रनर अप भइन्। व्यक्तिगत तवरमा बधाई दिन म मञ्चपछाडि गएँ। त्यहाँ पप्पु र विद्या यति नजिक भएर उभिएका थिए, हावा पनि थिएन होला उनीहरूको बीचमा। तिनीहरूले मलाई देखेनन् वा हेरेनन् मलाई थाहा छैन। छेउमा उभिरहेको सुन्दर मलाई हेरेर मुस्कुरायो र दुइटा काँध उचाल्यो, मानौं भनिरहेको होस्, ‘सरी, के गर्न सकिन्छ र है।’

पप्पुसँग छिट्टै हुन गैरहेको विद्याको विवाहको कारण ढिलो नगरी मैले नदीपुरस्थित त्यो डेरा खाली गरिदिएँ।

०००

६ महिनापछि विद्यालाई पुनः पहिलाकै आकारमा फर्केकी पाएँ। एउटा उदास गोधूलि साँझ न्युरोडमा पप्पुको बाइक पछाडिबाट उनले त्यही चिरपरिचित मुस्कान मतिर फ्याँकिन्। त्यो साँझ अरूबेला भन्दा बढी मापसे गरेँ र रेस्टुराँमा बाइक छाडेर म छोटो बाटो समात्दै डेरा फर्कें। एउटा घुम्तीनेर मलाई बडेमानको एउटा कालो कुकुरले झम्टिन आयो। मेरो मुखबाट अनायस निस्कियो, ‘टाइगर !’। मलाई केही नगरी ऊ टक्क अडियो मलाई घुरिरह्यो, म मूर्तिवत् उभिएँ। तुरुन्तै उसको मालिक दगुर्दै आयो र मलाई भन्यो, ‘मेरो कुकुरको नाम कसरी थाहा पाउनुभयो ? ’ मापसेको प्रभाव उत्रिसकेको थियो। म कापिरहेको थिएँ। उसलाई केही जवाफ नदिइकन म उदासउदास र चकितचकित बन्दै नयाँ डेरातिर लागेँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.