पाँच-सात-पाँचको गणित
हाइकु कविता लेखनको एउटा शैली हो। नेपाली साहित्यमा हाइकुले बल्ल साँढे पाँच दशक पार गरेको छ। विसं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका हुन्। लामो समयदेखि हाइकु लेखिरहेका प्रकाश पौडेल ‘माइला’को नयाँ हाइकु किताब ‘हजार हाइकु’ प्रकाशित छ। उनीसँग गरिएको हाइकु–संवाद :
हाइकु साहित्य के हो ? यो कसरी लेख्ने ?
सत्र अक्षरीय (५–७–५) शास्त्रीय संरचनामा बाँधिएर प्राकृतिक किगोको बिम्बात्मक प्रयोगद्वारा लेखिने सूक्ष्म अभिव्यक्तिको माध्यम हाइकु हो। जापानी साहित्यको हाइकु विधा नेपाली साहित्यमा मात्र नभएर विश्वको विभिन्न भाषामा फैलिँदै गएको छ। सत्रौँ शताब्दीमा पूर्ण हाइकु विकास भएपश्चात् यसले पछाडि फर्केर हेर्नु परेको छैन। साधना र विषयगत गाम्भीर्यताबिना लेखिने हाइकुले वास्तविक हाइकुको प्यास मेटाउन सक्दैनन्। संरचनागत हिसाबमा जापानीहरू निकै कटिबद्ध देखिन्छन्। जापानी भाषामा जस्तै गरी नेपाली भाषामा पनि सत्र अक्षरीय संरचनामा कुशल हाइकु सिर्जना गर्न सकिन्छ। विश्वकै सम्भवतः छोटो कविता लेखनशैली भनिन्छ यसलाई। एकाग्रता र साधनापूर्ण लेखन र अध्ययनले हाइकुभित्र बेग्लै मिठास र मज्जा भेटिन्छ।
बुद्ध दर्शन र ताओवादको प्रभावबाट हाइकुको धारणा जन्मेको तर्क धेरैले गर्छन्। जापानी साहित्य र चिनियाँ इतिहासको सम्बन्ध कस्तो रहेको छ ?
हाइकु साहित्यको उद्गम थलो जापान हो। यद्यपि जापानी भाषा र साहित्य चिनियाँ भाषाबाट पूर्णरूपमा प्रभावित छ। पाँचौं र छैटौं शताब्दीमा चिनियाँ संस्कृति जापानमा भित्रिएको विश्वास गरिन्छ। तत्कालीन समयमा चीनमा प्रचलित दार्शनिक परम्परा र सिद्धान्तले पनि सँगसँगै जापानी भाषा, साहित्य र संस्कृतिलाई प्रभावित गरेको हो। त्यसमा कन्फ्युसियसवाद, ताओवाद, बुद्धदर्शन र जेन विचारधारा प्रमुख रूपमा रहेका छन्।
हाइकुको सुरुआत हुनुभन्दा धेरै अगाडि हाइकाई अर्थात् एकतीस अक्षरीय ताङ्काले जरा गाडेको थियो। त्यतिबेला हाइकाईहरू चिनियाँ लिपिमै लेखिन्थ्यो। चीनको खान्जी लिपि अहिले पनि जापानमा मूल लिपिको रूपमा प्रयोगमा छ। सातौं शताब्दीको मध्यतिरबाट जापानीले अक्षरमा काना प्रणालीको सुरुआत गरेको विश्वास गरिन्छ। भाषागत सरलताका लागि खान्जीको साथमा फुरिगाना लेख्ने प्रचलन पछिल्लो समय व्याप्त बनेको छ।
सिजो लेखन र हाइकु विधा उस्तैउस्तै रूपमा बुझ्दा हुन्छ ? यी दुईमा के फरक छ ?
सिजो लेखनशैली कोरियामा प्रचलित छ। कन्फ्युसियसवाद र चिनियाँ संस्कृतिबाट उत्प्रेरित सिजोको लेखन आरम्भ चौधौं शताब्दीबाट भएको थियो। सिजोमा पनि संरचनागत नियमहरू कठिन छन्। हिजोआज नेपालमा पनि सिजो लेखन थालिएको छ।
त्यस्तैगरी हाइकु पनि चिनियाँ भाषा र संस्कृतिसँग सम्बन्धित भएको कुरा त मैले माथि नै भनिसकेँ। संरचनागत लेखनको विभिन्न कविता शैली प्रचलित रहेको जापानमा हाइकुको विकास भने सत्रौं शताब्दीमा भएको हो। अहिलेको दिनमा हाइकु र सिजोको सम्बन्ध खासै नजिकको जस्तो नदेखिए पनि पुर्खा भने एकै भेगको भएको बुझ्न सकिन्छ।
शास्त्रीय संरचनामा बाँधिएर सत्र अक्षरीय (५–७–५) संरचनाभित्रको शब्दजाल बुनेर उत्पादन भएका सबै रचनालाई हाइकु भन्न मिल्छ ?
अहिले नेपालमा हाइकु लेख्ने र कृति निकाल्ने लहर नै चलेको देखिन्छ। संरचना मिलाउँदैमा त्यसलाई हाइकु मान्न सकिँदैन। संरचना मात्र मिलाएर लेखिने व्यंग्यप्रधान रचनालाई जापानमा सेर्न्यु भन्ने गरिन्छ। कविले जति लेख्दै जान्छ, उति नै निखारिँदै जान्छ र अझै सानदार हाइकु जन्मन्छ।
कवितालाई जति सम्मानसाथ लिइन्छ, लेखिन्छ, नेपालमा हाइकुको उति मान छैन। यस्तो किन भएको होला ?
नेपालमा कविताको इतिहास निकै लामो छ। हाइकु पनि कविता लेखनको एउटा शैली हो। नेपाली साहित्यमा हाइकुले बल्ल साँढे पाँच दशक पार गरेको छ। वि.सं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याउनु भएको हो। रूपरेखा मासिकको भदौ अंकमा उहाँको पहिलो हाइकु प्रकाशित छ। यति छोटो अवधिमै लोकप्रियताको उचाइ यो हदसम्म पुग्नु हाइकुको ठूलो सफलता हो। पुराना, नाम चलेका र आ–आफ्नो विधामा राम्रै दक्खल भएका धेरै साहित्यकारले अहिले हाइकुमा कलम चलाइरहेका छन्। यसले हाइकुको महत्व दर्शाउँछ। कसैकसैले हाइकुको संरचना र शैलीप्रति इंगित गर्दै होच्याएको र गिज्याएको पनि सुनिन्छ। यस्तो व्यवहारले हाइकुको महत्व र गरिमा नबुझेको ठहर्छ।
जापानमा लेखिएका हाइकुभन्दा फरक नेपालका हाइकुमा के छ ?
२०६२ सालमा जापान पुगेपछि नै थाहा भयो, हाइकुको बेग्लै दुनियाँ। यिनीहरू हाइकुलाई आफ्नो इतिहास, संस्कृति र राष्ट्रियतासँग जोडेर हेर्ने गर्दा रहेछन्। स्कुल तथा कलेजको पाठ्यक्रममा हाइकुलाई समावेश गरिएको छ। अझ के भने, एउटा मात्र राम्रो हाइकुको किताब निकाल्न सक्यो भने उसको जीवनयापन लगभग पुग्ने खालको कमाइ हुन्छ। जापानीहरू हत्तपत्त हाइकु लेख्ने हिम्मत गर्दैनन्। कुनै एउटा कविको एउटै हाइकु पढेर घण्टौंसम्म घोरिएर सोच्ने गर्दछन्। नेपाली साहित्यमा ऋतुगत किगोहरू प्रशस्त छन् तर त्यसलाई उपयोग गरेर खासै हाइकु लेख्न सकेको देखिँदैन।
नेपालमा हाइकु–पठन अवस्था कस्तो छ ?
सशक्त हाइकु हरेक स्रष्टाको मनमा बस्न सक्छ। नेपाली हाइकु लेखनमा तीव्रता आएँसँगै पठन संस्कृति पनि उल्लेख्य रूपमा बढेको पाइन्छ। पछिल्लो केही वर्षकै उदाहरण हे¥यौं भने पनि थाहा हुन्छ। अधिकतम कृति निस्केका छन्। दोस्रो, तेस्रो संस्करणसम्म निस्कनु चानचुने कुरा होइन। यही गति लिँदै जाने हो भने हाइकुले चल्ने भनिएका धेरै विधालाई पछि पार्न सक्छ। वि.सं. २०६० सालपछि नेपाली साहित्यमा हाइकुले नयाँ जागरण र ऊर्जा बटुलेको छ।
हाइकु मूलतः फर्मुला लेखन लाग्छ। यस्तो फर्मुला लेखन प्राविधिक मात्र हुने सम्भावना हुन्छ। यस्तो प्राविधिक लेखनबाट क्रियटिभिटी र क्वालिटी कसरी आउँछ ?
हाइकुको मुख्य आधार नै शास्त्रीय संरचना हो। पहिलो हरफ पाँच अक्षर, दोस्रो हरफ सात अक्षर र तेस्रो हरफ पाँच अक्षरको हुन्छ। यसैले बढी मिठास दिन्छ। हरेक कुराको नीतिनियम हुन्छ। नियममा बाँधिएर लेख्न नसक्नु कविको कमजोरी हुन आउँछ। नियम नै नमानी स्वच्छन्द किसिमले लेख्न थाल्ने हो भने त त्यसलाई हाइकु नै किन भन्नुप¥यो र ? अरू नै नाम दिँदा हुन्छ। हाइकु फर्मुला लेखन विश्वका दर्जनौं भाषामा हुबहु पस्कन सकिन्छ। यसले क्रियटिभिटीमा कमी आउँदैन र स्तरीय क्वालिटी पनि दिन सकिन्छ।
हालै तपाईं आफ्नै संयोजकत्वमा जापानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव–२०१८ को आयोजना भयो। यसबाट हाइकु विकासमा कत्तिको प्रभावकारी भएको ठान्नुहुन्छ ?
प्रथमपटक एकेडेमीसँग मिलेर २०६२ सालमा काठमाडौंमा हाइकु महोत्सवको आयोजना गरेका थियौं। टोकियोमा गत सेप्टेम्बर २९–३० मा भएको कार्यक्रम त्यसैको दोस्रो संस्करण हो। यस सम्मेलनमा नेपाली कविहरूको अतिरिक्त करिब एक दर्जन जापानी कविहरूको सहभागिता थियो। सबैभन्दा महत्वपूर्ण पक्ष नै यही हो। हामीले अब जापानी कविसँग सहकार्य गर्ने अभियान सुरु गरिसकेका छौं। नेपाली हाइकु केन्द्र र अनेसास जापानको संयुक्त आयोजनामा यो महोत्सव भएको थियो।
हाइकुको माध्यमबाट जापानी पर्यटक भित्र्याउन सकिने कुरामा तपाईंले जोड दिँदै आउनुभएको छ। यो कसरी सम्भव छ ?
हो, मैले धेरै अगाडिदेखि यसैमा जोड दिँदै आएको छु र यो सम्भव पनि छ। यही कुरालाई हाइकु महोत्सवपश्चात् जारी गरिएको टोकियो घोषणापत्रमा पनि समावेश गरेका छौं। नेपाल र जापानबीच पुरानो सम्बन्ध भए तापनि साहित्यिक र सांस्कृतिक रूपमा अपेक्षाकृत निकटता हुन सकेको देखिँदैन। साहित्यमा विशेषगरी हाइकुमार्फत जापानी कविहरूलाई नेपाल ल्याउने र नेपाली कविहरूलाई जापान लैजाने अभियान चलाउनुपर्छ। यसबाट दीर्घकालीन पर्यटन विकासमा सकारात्मक प्रभाव पार्छ।
वर्ल्ड हाइकु एसोसिएसनमा तपाईंको प्रवेशले थप के आशा गर्न सकिन्छ ? तपाईंको पहिलो प्राथमिकता के हुन् ?
भर्खरै म वर्ल्ड हाइकु एसोसियसनको कार्यकारी सदस्यको रूपमा प्रवेश गरेको छु। यसलाई समग्र नेपाली हाइकु साहित्यले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिको रूपमा मैले लिएको छु। यो विश्वव्यापी जापानी हाइकु कविहरूको समूह हो। मेरो प्राथमिकता संस्थागत रूपमा नेपाल हाइकु केन्द्रसँग वर्ल्ड हाइकु एसोसियसनको सम्बन्ध विकास गर्नु हुनेछ। नेपाली हाइकुहरू अंग्रेजी तथा जापानी भाषामा अनुवाद र प्रकाशन मेरो अर्को प्राथमिकतामा रहनेछ।
हाइकुका अभियन्ता रामकुमार पाँडे भन्नुहुन्छ – ‘हाइकुलाई नबुझी खरखर्ती लेख्नाले त्यो हाइकु नभई बतासे फूलजस्तो हुन्छ।’ नेपालमा ‘बतासे फूल’ भन्न नमिल्ने हाइकु कति लेखिएका छन् ?
आदरणीय रामकुमार पाँडे सर मेरो साहित्यिक गुरु हुनुहुन्छ। हामीले हातेमालो गर्दै हाइकु अभियान चलाएको डेढ दशकभन्दा बढी समय भइसकेको छ। हालै हाम्रो संयुक्त कृति हजार हाइकु बजारमा निस्केको छ। अब दोस्रो संस्करणको तयारीमा पनि छौं। प्रश्नमा सरको भनाइ उद्धृत गरेबमोजिम म पनि सहमत छु। शब्दको संयोजन मात्र हाइकु हुन सक्दैन। साधनाबिना लेखिने हाइकु फिक्का साबित हुन्छन्। नेपालमा लेखिने धेरै हाइकु वास्तविक हाइकु बन्न सकेका छैनन्। अहिले हाइकुको बाढी आएकाले खोला केही धमिलो जस्तो देखिएको। यो क्रम विस्तारै सङ्लिँदै जान्छ। आत्तिइहाल्नु पर्ने अवस्था छैन।