मिथकको पुनर्व्याख्या

मिथकको पुनर्व्याख्या

सिर्जनात्मक लेखनमा नयाँनयाँ रूपको प्रयोग गर्ने प्रचलन नेपाली साहित्यको उद्भवसँगै चल्दै आइरहेको छ र त्यो क्रमलाई लेखकहरूले अहिले पनि पछ्याइरहेकै छन्। यसले नेपाली साहित्यलाई समृद्धिको दिशातिरै लगिरहेको छ। पचासको दशकदेखि नेपाली साहित्यमा आफ्नो भिन्नै पहिचान र अस्तित्वका साथ प्रवेश गरेका सुरेश हाचेकाली यस्तै नयाँ प्रयोगका स्रष्टा हुन्। उनको पहिलो कृति सीमान्त आमाहरू (कवितासंग्रह– २०६६) हो भने चक्रव्यूह नगरमा अभिमन्यु (लामो कविता–२०७०) दोस्रो कृति हो। आफ्नो भिन्न भाषा–शैलीका माध्यमबाट सीमान्तकृत, बहिष्कृत, हेपिएका वर्ग र समुदायको आवाजलाई उनले काव्यिक न्याय दिने जमर्को गरेका हुन्छन् कवितामा। उनी बिम्बहरूको प्रयोग नयाँ शैलीमा गर्न रूचाउँछन्।

चक्रव्यूह सञ्चेतना आन्दोलनका अभियन्तासमेत रहेका कवि सुरेश हाचेकालीका कवितामा आध्यात्मिक बिम्बलाई नयाँ प्रयोगमा सजाइएको हुन्छ। यस्तै नयाँ प्रयोग र शिल्पको प्रयोग भएको उनको तेस्रो कविता कृति हो, पृथ्वी सवाई (२०७४)। उनका यी कविताले समसामयिक नेपाली समाजको संवेगात्मक उतारचढावलाई उजागर गर्नुका साथै गम्भीर तर कुनै पनि सर्जकको ध्यान नपुगेको विषयवस्तुलाई अघि सारेका छन्। यसमा २०६८ देखि २०७४ सालसम्म लेखिएका ३२ फुटकर कविता समाविष्ट छन्। कविले यसमा कतै प्रकृतिको संरक्षण गर्नुपर्ने आवाजलाई प्रखर रूपमा उठाएका छन् भने कतै पुरातात्विक र आध्यात्मिक बिम्बलाई नयाँ शैलीमा मानवीकृत गर्ने जमर्को गरेका छन्।

उनका कवितामा पूर्वीय र पाश्चात्य बिम्बको संघुलन गरिएको हुन्छ। यी दुईखाले बिम्बको मि श्रणका कारणले पाठकहरूले कविताको छुट्टै किसिमको रसानुभूति गर्न सक्छन्।

बाँधेर घोडा एथेन्स दरबारको तबेलामा

अन्तर्ध्यान भए जमदग्नि

यथेष्ट घुमे तीन लोक र चौधै भुवन

र बोकी ल्याए जतनपूर्वक

लेथ नदीको एक कमण्डलु पानी। (लेथ नदीको एक कमण्डलु पानी, पृ. ३४/३५)

कवि सुरेश हाचेकालीले यस कवितामा पाश्चात्य ग्रीक सभ्यता र पूर्वीय भारतीय उपमहाद्वीपको सभ्यतालाई बिम्बका माध्यमबाट अन्तर्घुलित गरेका छन्। अरू देशबाट सिकेर ल्याएको बुद्धि, ज्ञान र चेतना यहाँ प्रयोग गर्न नदिई उल्टै उपयोगविहीन बनाउँदा आजपर्यन्त पनि हाम्रो समाज अभिशप्त बन्न बाध्य भएको कुरालाई कविले ऐनाजस्तै देखाएका छन्। पृथ्वीको पर्यावरण बिग्रिँदै गएको देखेर उनी यसरी चिन्ता गर्छन्।

परै मगमगाउने मलायागिरी वनले

शिरोपर गरेको ओजोन तह

र हजारौं हात्तीको वनैया हुद्दा

मेरो जिन्दगीले पहिरिएका

प्यारा प्यारा आभूषण थिए कुनैबेला। (पृथ्वी सवाई, पृ.४१)

पृथ्वीको सौन्दर्य दिन प्रतिदिन कुरूप बन्दै जाँदै छ। पृथ्वीको रूपलाई बिगार्ने काम बन्द गर्नुपर्ने जोडदार आवाज मुखरित गरेका छन् कविले यस कृतिका कवितामा।

अर्को कविता ‘जमुवावालीको मट्टीगीत’मा विकृति, विसंगति, उत्पीडन र शोषणले आज पनि नेपाली समाजमा कसरी जरो गाडेको छ अनि सामाजिक अन्याय र विभेद कति डरलाग्दो छ भन्ने यथार्थलाई देखाएका छन्। जातीय उत्पीडन तथा उच नीच जस्तो डरलाग्दो सामाजिक विभेदको सिकार तल्लो वर्गका मानिसहरू कसरी भइरहेका छन् भन्ने कुराको यथार्थबोध उनका कविताले गरेका छन्। समाजका तथाकथित मालिकहरूले निम्न वर्गका मान्छेप्रति गरेको अमानवीय व्यवहारले मानवीय सभ्यतामाथि नै प्रश्न उठाएको ज्वलन्त उदाहरण बोकेको छ कविताले।

समाजको प्रश्निल आँखामा

बिना बाउको छोरो जन्मियो नवराज

गर्भे टुहुरो छोराकी शंकास्पद आमा भएँ म

जुका लाग्ने एकान्त लेकमा

तुषारोले कठ्यांग्रिएको बुकीफूलजस्तै

शिरदेखि पाउसम्म सेताम्य भएँ म

शुभसाइत र रातो रङमा बहिष्कृत

अलच्छिन बोक्ने विधवा बाहुनी भएँ म। (गोमा ब्राह्मणीको मनोवाद, पृ. १००/१०१)

यहाँ कविले पौराणिक आद्य बिम्ब स्वस्थानी ब्रतकथाकी गोमा ब्राह्मणीलाई उभ्याएर नेपाली समाजमा आजको एक्काइसौं शताब्दीमा पनि नारीले भोग्नु परेका विकृत र विसंगत समस्यालाई देखाएका छन्। नेपाली नारीहरूको क्रन्दन र रोदन हिजोजस्तै रहेको र उनीहरूको आवाजलाई सुनिदिने कोही नभएको दारुण अवस्थालाई उजागर गरेका छन् कविले।

त्यस्तै ‘एकादेशकी जलकिन्नरी’ कवितामा नारी चेतनामाथिको थिचोमिचो र अन्याय–अत्याचारका विरुद्धमा बुलन्द आवाज मुखरित गरिएको हुन्छ। समाजमा हुने सामाजिक उत्पीडनको अन्त्य हुनुपर्ने र सबैले आत्म गौरवका साथ बाँच्न पाउनुपर्ने प्रगतिशील भाव प्रस्तुत गरेका छन्।

कवि सुरेश हाचेकाली पुरातन समयदेखि चल्दै आएका मिथकहरूलाई पुनव्र्याख्या गर्न रुचाउँछन्। देवराज इन्द्रलाई चिठी, रावा कहिरन, यसो भन्छिन् किरातिनी आमाजस्ता थुप्रै कवितामा उनले जातीय र सांस्कृतिक मिथकको प्रयोग गरेका छन्। पौराणिक बिम्बहरूलाई मानवीकृत गर्ने प्रयास गरेका हुन्छन्। आफ्नो भिन्न भाषा–शैलीको प्रयोग, समकालीन कवितालेखन परम्पराभन्दा भिन्न शैलीको लेखनको जमर्को र जातीय, धार्मिक र सांस्कृतिक मिथकलाई नयाँ शैलीमा प्रयोग गर्नु उनको मूल प्रवृत्ति देखिन्छ।

हल्लाको सिन्डिकेटभन्दा पर बसेर साहित्य सिर्जना गर्ने कवि सुरेश हाचेकाली समसामयिक पुस्ताका सशक्त कवि हुन्। उनको ‘पृथ्वी सवाई’ कृतिले नेपाली काव्य जगत्मा नयाँ बहसको प्रारम्भ गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ।      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.