सुख्खा पहिरोले रसुवागढी नाका बन्द
नुवाकोट : झरेको सुख्खा पहिरोले रसुवामा त्रिदेशीय मार्ग बन्द भएको छ। सदरमुकाम धुन्चेदेखि चार किलोमिटर उत्तरमा रहेको खोपाङभीरमा सुख्खा पहिरो जाँदा सोमबार रसुवागढी नाका जाने मुख्य मार्ग बन्द भएको छ।
त्रिदेशीय मार्गका रुपमा रहेको रक्सौल-वीरगन्ज-गल्छी-त्रिशूली-धुन्चे-रसुवागढी-केरुङ सडकमार्गको बीचमा रहेको गोसाइकुण्ड गाउँपालिका- ५ खोपाङभीरमा सुक्खा पहिरो खस्दा पासाङल्हामु सडकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। आइतबार रातिदेखि सडकमाथिबाट सुख्खा पहिरो खस्दा धुन्चे-स्याफ्रुवेशी सडकखण्ड अवरुद्ध भएको प्रहरी निरीक्षक रन्जन अवाले बताए ।
उनका अनुसार पहिरोले त्रिदेशीय सडकमार्ग अवरुद्ध हुँदा रसुवागढी नाका जाने आउने कन्टेनर तथा यात्रुबाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्।नुवाकोटबाट पहिरो पन्छाउनका लागि स्काभेटर मगाइएको उनले जानकारी दिए।
रसुवागढी नाका काठमाडौंदेखि एकसय ५२ किलोमिटर दूरीमा उत्तरी भेगमा भोटेकोशी नदी किनारामा रहेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार सडक खुलाउनको लागि नुवाकोटबाट स्काभेटर मगाइएकाले केही ढिलाई
हुनेछ।
'नुवाकोटबाट स्काभेटर र डोजर आउँदै छ, उनले भने, पहिरो पन्छाउन दुई घण्टा जति लाग्छ।' नुवाकोटबाट स्काभेटर आउन चार घण्टाभन्दा बढी समय लाग्नेछ। सडक अवरुद्ध भएपछि नुवाकोटवाट रसुवागढी र केरुङ तथा उतावाट काठमाडौं जाने तयारीमा रहेका साना ठूला पाँचसय सवारी खोपाङ भीर पारी नै रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस !