मेक्सिको सिमानामा पर्खालका लागि बजेट नदिँदा अप्ठेरोमा ट्रम्प

मेक्सिको सिमानामा पर्खालका लागि बजेट नदिँदा अप्ठेरोमा ट्रम्प

वासिङटन : अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्र्याट पार्टीले सीमा पर्खालका लागि बजेट व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन बजेट व्यवस्था गर्न माग गर्दै आएका छन् ।

यसै विषयमा विवाद बढ्दै गएपछि अमेरिकाका संघीय कार्यालयहरूमा दैनिक कार्य सञ्चालन गर्न पनि रकम अभाव भएको छ । बजेट अभावमा सरकारी कार्यालय आंशिक बन्द भएको डेढ साता भइसक्यो ।

यसैबीच अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्र्याट पार्टीले पर्खालका लागि बजेट व्यवस्था नगरी बाँकी बजेट पारित गर्न खोजेको छ । डेमोक्र्याट सांसदले यो वर्ष सिनेट खुलेकै पहिलो दिन बन्द हटाउन मतदान गराउने योजनामा छन् । यसका लागि उनीहरूले बिहीवार प्रतिनिधिसभामा विधेयकमाथि छलफल गर्ने र मतदान गराउने तयारी गरेका छन् । ट्रम्पले भने अवैध प्रवासीलाई रोक्न बनाइने उक्त पर्खालका लागि बजेट छुट्याउनुपर्ने माग गर्दै आएका छन् ।

सरकारी कार्यालयको बजेट व्यवस्थाका लागि डेमोक्र्याट सिनेटरले सोमबार दुईवटा विधेयक अगाडि सारेका छन् । यो बजेट पारित भएमा हजारौं संघीय कर्मचारी काममा फर्कन पाउनेछन् । कंग्रेसको बहुमत सहितको नयाँ सत्र प्रारम्भ हुनासाथ उक्त बजेट पारित गर्ने योजना उनीहरूको छ ।

डेमोक्र्याट्सले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासिल गरेयता पहिलो कार्यसूचीका रूपमा बजेट विधेयकको अनुमोदन रहेको छ ।

सीमा पर्खालको बजेट राष्ट्रपति ट्रम्पका लागि प्रतिष्ठाको विषय बनेको छ । उनले जसरी भए पनि पर्खाल बनाउन बजेट छुट्याउनुपर्ने बताउँदै आएका छन् । उनले भने, ‘बरु सरकारी कार्यालयहरू बन्द हुन्, पर्खाल निर्माणका लागि बजेट छुट्याउनुको विकल्प छैन । राष्ट्रिय सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो ।’

अमेरिकी कंग्रेसका दुबै सदनमा केही वर्षदेखि बहुमतमा रहेको रिपब्लिकन पार्टीको प्रभाव खस्केको छ । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा गत नोभेम्बरमा भएको निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका कैयौं महत्वाकांक्षी योजना र कार्यक्रम ओझेलमा पर्ने निश्चित छ । विपक्षीको विश्वास आर्जन नगर्दासम्म ट्रम्पका आगामी दिन कठिन देखिन्छन् ।

रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटले बजेट विधेयकलाई पारित गर्ने वा नगर्ने भन्ने बारेमा अन्योल कायमै छ । खासगरी रिपब्लिकन पार्टीभित्रै बजेटका बारेजमा मतैक्य हुन सकेको छैन । सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलका प्रवक्ता डोनाल्ड स्टेवार्टले राष्ट्रपति ट्रम्पको समर्थन नभई सिनेट रिपब्लिकनले कुनै कार्यवाही नगर्ने बताए ।

‘स्पष्ट छ, राष्ट्रपतिले हस्ताक्षर नगर्ने किसिमको कुनै पनि कुरा सिनेटले राष्ट्रपतिकहाँ पठाउनेछैन’, स्टेवार्टले भने ।

सांकेतिक नै भए पनि तल्लो सदनले विधेयक पारित गरेमा त्यसले राष्ट्रपतिमाथि थप दबाब सिर्जना गर्नेछ । यस्तै, ट्रम्प प्रशासनका अधिकारीहरूले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले कुनै हतार नगरेको बताएका छन् । नाम बताउन नचाहने एक अधिकारीको भनाइमा राष्ट्रपति ट्रम्पको विश्वासमा सीमा पर्खालका बारेमा जनमत आफ्नो पक्षमा छ ।

ट्रम्पले सप्ताहान्तमा एकपछि अर्को ट्विटमा डेमोक्र्याट्सहरू वार्तामा आउनुको विकल्प नरहेको दाबी गरेका छन् । सोमबार ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘सिमेन्ट र गिट्टीको पर्खाल बनाउनुको विकल्प छैन । मैले पर्खाल बनाउने प्रस्ताव त्यागेको छैन । सीमा सुरक्षासँग सम्बन्धित केही विज्ञले वारपार देखिने किसिमको पर्खाल उपयुक्त हुने प्रस्ताव गरे पनि मेरो धारणा बलियो सिमेन्टको पर्खाल हो ।’

राष्ट्रपति ट्रम्पले सोमबार फक्स च्यानललाई दिएको अन्तर्वार्तामा भने, ‘म डेमोक्र्याट्ससँग मध्यस्थता गर्न तयार, इच्छुक र सक्षम छु । तर, मैले पर्खाल चाहिन्छ भन्नेमा जोड दिँदै आएको छु । हामीसँग बलियो सीमा सुरक्षा चाहिन्छ र सीमा सुरक्षामा पर्खालको ठूलो महत्व छ ।’

बजेट पारित नहुँदा अमेरिकी संघीय कार्यालयहरू डिसेम्बर २२ देखि आंशिक बन्द भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.