आगलागी न्यूनीकरण गर्ने हो भने
हालै कालिकोट जिल्लाको पलाँता गाउँपालिका– १ खाडामा भीषण आगलागी हुँदा ५२ घर जलेर नष्ट भए। केही हप्ताअघि झापाको शिवसतासी नगरपालिका– ७ को एउटा सिंगो परिवार आगलागीमा परी सकियो। सप्तरी, ताप्लेजुङ, तेह्रथुमका, इलामलगायत देशका विभिन्न स्थानमा सयौं घर आगलागीमा जलेर नष्ट भएका छन्। सरकार आगलागी न्यूनीकरणमा भन्दा पनि विपत्पछि दिइने केही राहतलाई आफ्नो कर्तव्य निर्वाह गरेको भ्रममा छ। सरकारले आफ्नो कर्तव्य पूरा नगररिरहेको बेला नागरिकले पनि आफ्नो जनधनको सुरक्षाका लागि पर्याप्त ध्यान दिइरहेका छैनन्।
आगलागी सामान्यतया सुक्खा र गर्मी हुने मौसममा बढी हुन्छ अनि दुर्घटना, हेलचेक्र्याईं, विद्युत् सर्ट र जानाजान कसैले लगाउने मुख्य कारण हुन्। रोकथाम उपचारभन्दा राम्रो हो भन्ने प्रचलित भनाइ आगलागी जस्ता अन्य विपत्मा पनि लागू हुन्छ। अर्थात् आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपाय अपनाउनु महŒवपूर्ण हुन्छ।
चुरोटका ठुटा र सलाइका काँटी फाल्दा विशेष ध्यान दिने, खाना बनाउँदा भान्सामा अनिवार्य बस्ने, घरमा कोही नभएको बेला आगो वा हिटर बालेर नहिँड्ने, सजिलै आगो निस्कने पदार्थलाई केटाकेटीको सहज पहुँचमा नराख्ने, मैनबत्ती र धुप बाल्दा विशेष सतर्क हुने, राम्रो गुणस्तरको विद्युतीय सामग्री मात्र प्रयोग गर्ने, बिजुलीबाट हुने गडबडी कम गर्न वायरिङ राम्ररी गर्र्नेे, ग्याँस सिलिन्डर र मट्टीतेलजस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढगंले राख्ने, आगो तापिसकेपछि वा खाना पकाएपछि राम्ररी आगो निभाउनेलगायतका उपाय अपनाएको खण्डमा आगलागीबाट हुने ठूलो जनधन न्यूनीकरण गर्न सकिन्छ।
सतर्कता र सावधानी गर्दागर्दै पनि आगलागी हुन सक्ने भएकाले आगो नियन्त्रण गर्ने उपाय र उक्त सूचना दिने प्रणालीमा ध्यान दिनुपर्छ। विकसित देशहरूमा फायर अलार्म सबै संरचनामा अनिवार्य रूपमा जडान गरिएको हुन्छ। धुवाँ र आगोको मात्राबमोजिम अलार्म बज्ने भएकाले आगो फैलिनुअघि नै नियन्त्रणमा लिन सजिलो हुन्छ। साथै आगो निभाउने सिलिन्डर पनि हुन्छ। आगो लागेको ठाउँबाट अर्को कोठामा सर्न नदिन सोहीबमोजिमको भित्ता र ढोकाहरू जडित हुन्छन्। सामान्यतया ३० मिनेटसम्म त्यस्ता ढोकाबाट आगो सर्न पाउँदैनन्। आगो निभाउन नसकिए तुरुन्त फोन गर्न सकिन्छ। साथै, आगोको मात्राबमोजिम सानो र ठूलो अर्लाम बज्ने गर्छ। ठूलो अर्लाम बजेको अवस्थामा आगलागी भएको सूचना सम्बन्धित निकायमा स्वतः पुग्ने प्रविधि हुन्छ। केही मिनेटभित्र प्रहरी, दमकल, एम्बुलेन्सहरू आइपुग्छन्।
नेपालमा पनि फायर अलार्म प्रत्येक घरमा अनिवार्य रूपमा जोड्नुपर्ने कानुन बनाएर कडा कार्यान्वयन गर्नुपर्छ। विदेशमा नेपाली खाना बनाउँदा पनि अलार्म बजेर कहिलेकाहीं दुःख दिने गर्छ। तसर्थ कति तापक्रमभन्दा बढी वा कति मात्राभन्दा बढी धुवाँ आउँदा साइरन बज्ने अध्ययन गरेर सोहीबमोजिमका फायर अलार्म राख्नुपर्छ। नेपाली नागरिक नासादेखि माइक्रोसफ्टसम्म वैज्ञानिकका रूपमा कार्यरत छन्। नेपाल सरकारले इच्छाशक्ति देखाएको खण्डमा यस प्रकारको अलार्म बनाउन असम्भव छैन। धेरै अवस्थामा आगो लागेको थाहा पाउँदा आगो नियन्त्रण गर्न नसकिने अवस्थामा पुगिसक्ने हुनाले नै बढी जनधनको क्षति हुने गर्छ। नेपालमा पनि आगलागी भएको सूचना अलार्म र फोनमार्फत एक ठाउँबाट लिने अनि सबैभन्दा छिटो पुग्ने दमकललाई सीधै पठाउने व्यवस्था गर्न आवश्यक छ। तत्काल विकसित देशमा जस्तो प्रणाली विकास गर्न सकिएन भने पनि कम्तीमा अलार्म मात्र हुने हो भने पनि धेरै हदसम्म उपयोगी हुन्छ।
अहिलेको स्थितिमा सरकारसँग कडाइका साथ कुनै पनि मापदण्ड कार्यान्वयन गर्ने नैतिक बल देखिएको छैन।
विस्तृत अध्ययन गरी आगलागीको उच्च जोखिम भएका ठाउँमा विशेष पूर्वतयारी र सतर्कता अपनाउनुपर्छ। आगलागी नियन्त्रण र रोकथामबारे पर्याप्त सूचना र चेतना सर्वसाधारणलाई दिनुपर्छ। आगो निभाउने सिलिन्डर, पानी, बाक्लो ब्लांकेटलगायत उपकरण पर्याप्त मात्रामा राख्न पनि प्रोत्साहन गर्नुपर्छ। दमकललगायतका सहायता आउनुअघि स्थानीय स्तरमा पानी, स्याउलालगायतका सामग्री प्रयोग गर्न आवश्यक तालिम पनि दिनुपर्छ। आगो नियन्त्रण बाहिर हुने स्थितिमा मानवीय क्षति नहुने गरी सुरक्षित ठाउँमा भेला हुने तालिम पनि दिनुपर्छ।
निश्चित ठाउँमा दमकल र दक्ष जनशक्ति पर्याप्त मात्रामा तयारी अवस्थामा राख्नुपर्छ। विडम्बना, एम्बुलेन्स, दमकलजस्ता अति आवश्यक सामग्री खरिद गर्न सधैं बजेट अभाव हुन्छ अनि दातृ निकायको निगाह कुरिन्छ तर शासकलाई करोडौंको गाडी किन्न भने कुनै समस्या हुँदैन। कतिपय अवस्थामा सवारी जाम, बिग्रिएको दमकल, दक्ष जनशक्तिको अभाव, पर्याप्त बाटोको अभावलगायतका कारण जनधनको क्षति रोक्न सकिँदैन। दमकल र एम्बुलेन्सलाई विशेष प्राथमिकता दिएर बाटो छाडिदिने संस्कारको विकास पनि नागरिकले गर्न आवश्यक छ।
विकसित देशमा प्रत्येक घरमा आगलागी भएको खण्डमा बाहिर निस्किने र भेला हुने निश्चित ठाउँ तोकिएको हुन्छ। उक्त विवरण अनिवार्य राखिएको हुन्छ। सम्बन्धित निकायलाई सम्पर्क गर्न सकिने फोन नम्बरहरू पनि राखिएको हुन्छ। हाम्रो देशमा पनि यी सावधानीका उपाय लागू गर्न सकिन्छ। कर्मचारीको अभावमा कुनै संरचना जलेर नष्ट हुन नदिन प्रहरी, सेना र अग्निनियन्त्रकबीच समन्मय हुन आवश्यक छ। आगो नियन्त्रण गर्ने अन्य उपाय नहुँदा अनि सहायता समयमा नआइपुग्दा भगवान्लाई दोष दिन बाध्य हुनुपर्ने स्थिति छ। तर सरकार र नागरिकले पर्याप्त जिम्मेवारी वहन गरेको खण्डमा आगलागीजस्ता विपत्ति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्य मनन गर्नुपर्छ। आगलागीपछिको केही समय राहत र नियन्त्रणका कुरा गर्ने तर लगत्तै सबथोक बिर्सने बानी पनि अब सुधार्न आवश्यक छ। साथै, विकसित देशहरूमा जस्तै सरकारले तोकेको मापदण्ड पूरा नगर्नेलाई हदैसम्म दण्डित गरिनुपर्छ।
अहिलेको स्थितिमा सरकारसँग कडाइका साथ कुनै पनि मापदण्ड कार्यान्वयन गर्ने नैतिक बल देखिएको छैन। तसर्थ सरकारले आगालागी रोकथामका लागि कुनै कदम नचालेको अवस्थामा पनि आफ्नो जनधनको सुरक्षाका लागि नागरिक विशेष रूपमा सचेत हुनुपर्छ। औसत नेपाली नागरिकको जीवनभरको कमाइ अनि कतिपय अवस्थामा पुस्तौंदेखिको कमाइले घर बनाउने प्रचलन छ। यसरी बनाइएको घर जलेर नष्ट हुँदा उक्त घरका सदस्यहरूलाई ठूलो आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर पर्ने गर्छ। सम्पत्ति र महŒवपूर्ण कागजात खरानी हुन्छन्। आगलागीले घरसँगै प्रभावित प्रत्येक व्यक्तिको सपना र जीविकोपार्जनको रणनीतिसमेत नष्ट हुन्छ। यस प्रकारको बज्रपातबाट सामान्य अवस्थामा आउन वर्षौं लाग्न सक्छ। तसर्थ लाखौं खर्चेर बनाइएको संरचनामा अलिकति थप खर्च गरेर आगलागी न्यूनीकरण गर्न आवश्यक उपकरण राख्न नागरिकले पनि ध्यान दिनुपर्छ।
आगो सामान्यतया मानवीय कारणबाट लाग्छ तर मौसम परिवर्तन र बढ्दो तापक्रमका कारण आगलागी हुने र नियन्त्रण गर्न कठिन हुने स्थिति छ। अमेरिका, अस्टे«लियाजस्ता धेरै विकसित देशहरूमा जंगलमा लागेको आगलागीको दोष मौसम परिवर्तनलाई पनि दिन थालिएको छ। धनी र प्रविधिले सम्पन्न देशहरूमा समेत हप्तौंसम्म आगलागी नियन्त्रण हुन नसकेको परिप्रेक्ष्यमा नेपाललाई कुनै दैविक शक्तिको कृपाले ठूला आगलागीबाट बचाएको छ भन्दा अत्युक्ति हुँदैन।
प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारलाई दिनदिनै गाडी पल्टिने कस्तो अलच्छिना सरकार भनेका थिए। अहिले दुईतिहाइको शक्तिशाली भनिएको सरकारको नेतृत्व ओलीले गरेका छन्, तर सवारी दुर्घटना, आगलागीलगायतका विपत् न्यूनीकरणमा उनको कुनै रुचि देखिएको छैन। आफ्नो तलब सुविधा बढाउन कुनै लाज नमान्ने, घर भएकाले समेत घरभाडा लिने, दोहोरो रूपमा इन्धनको पैसा लिने, भ्रमणका नाममा करोडौं स्वाहा पार्र्ने, भ्रष्टाचार गर्ने, अपराधीहरूको संरक्षण गर्नेजस्ता नैतिकहीन कृयाकलाप गर्ने नेताहरूको दबदबा रहेसम्म देश र जनताको हित हुन सक्दैन। अब दमकल खरिद गर्न र पर्याप्त जनशक्ति राख्न पनि बजेट नभएको निरिहता देखाउने अक्षम नेताहरूको विकल्प जनताले खोज्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !