माटोको गीत

माटोको गीत

यो बेला विद्यालयहरूमा ज्ञानवर्द्धकका साथै समाजोपयोगी गीतसंगीतको टड्कारो खाँचो परेको छ। यस्तोमा ‘धरोहर’ एल्बम पनि राम्रो विकल्प हुन सक्छ।


नेपाली संगीतको व्यावसायिक दौडमा धेरै प्रतिभाले आफ्नो भाग्य कोर्ने मौका पाइरहेका छन्। राजधानी काठमाडौंमा प्रायः संगीतकर्मी यस्ता छन्, जो गीत चल्नुपर्छ, बजार पिट्नुपर्छ र रातारात हिट भई सेलेब्रिटी बन्नुपर्छ भन्ने मानसिकताले काम गर्छन्। तीमध्ये कतिपय संगीतै अध्ययन गरेर त कतिपय सौख पूरा गर्न यस क्षेत्रमा कुदिरहेका छन्। विभिन्न नेपाली र भारतीय रियलिटी सोमा प्रतिभा देखाउने अवसर पाउन थालिएकाले पनि संगीत–रुचि झांगिँदै गएको बुझ्न सकिन्छ। र, पछिल्लो समय प्रविधिले त्यस्ता सबैलाई प्रचुर साथ दिइरहेको छ। यही पृष्ठभूमिमा, पृथक् सोच राख्ने र सस्तो लोकप्रियताभन्दा टाढै बस्ने एउटा गायक प्रतिभा उदाएका छन्, माटो र मुटुका गीतहरूको सँगालो ‘धरोहर’ लिएर।

‘धरोहर’ मा पाँच गीत छन्। राष्ट्रकवि माधवप्रसाद घिमिरे, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारी, फूलमान वल र अमन मास्केले लेखेका गीतहरू जुगल डंगोलले संगीतबद्ध गरेका हुन्। संगीत संयोजन पनि जुगलकै हो। यसअघि आफ्नै रचनाको ‘नालापानी कालापानी’ सिंगल ट्र्याकमा ‘नसोध यी आँखाबाट कति चोटि बग्यो पानी/पैले नालापानी बग्यो, ऐले फेरि कालापानी’ गाउँदै राष्ट्रियताको उद्बोधनमा मुखर सुनिएका पारस नेपालले पहिलो एल्बममा पनि त्यो स्वादलाई यथावत् राखेका छन्। ‘धरोहर’ एल्बममार्फत उनले बिभिन्डिएको नेपाली समाजलाई एक सूत्रमा बाँध्न, नेपालीत्वको क्षयीकरणलाई रोक्न, आफ्नो माटाको सुगन्धमा गौरव गर्नतिर श्रोतालाई उत्साहित बनाउने सत्प्रयास गरेका छन्। यी गीतमा उनको गायकी आफ्नो ध्येयमा सफल रहेको अनुभूति हुन्छ।

पत्रकार र पुस्तक सम्पादकका रूपमा परिचित पारसको गायकीको सोख आजको होइन। यही रहरले उनलाई कुनै बेला बनारस पु¥याएको थियो। मैले भेट्दा उनी काशी हिन्दु विश्वविद्यालय (बीएचयू) मा संगीत पढ्दै थिए। म पनि त्यतिबेला संगीत अध्ययनकै सिलसिलामा भर्खरै बनारस हान्निएको थिएँ। त्यहीँ मैले उनको संगीतप्रियता र स्वरको मिठासको साक्षी बन्ने अवसर पाएको थिएँ। नेपाली विद्यार्थीका जमघट तथा सार्वजनिक कार्यक्रममा उनी आफैंले लेखेका चोटिला गीत–गजल बडो लयात्मक ढंगले गाउने गर्थे। यस्तो प्रतिभाका कारण नेपालीमाझ उनी अत्यन्त लोकप्रिय थिए। उनीबाट मैले पनि धेरै प्रेरणा पाएको थिएँ।

तर, भावीलाई पारसको औपचारिक सांगीतिक यात्रा सायद मञ्जुर थिएन। बनारसको फक्कड जीवनशैलीमा ढल्दै, गुरुचरणमा समर्पित रही शास्त्रीय संगीतको सागरमा सधैंका लागि हेलिने बेला उनको घाँटीमा एक्कासि समस्या देखा प¥यो। अभ्यास जति बढाउँदै गयो, गला उति दुख्ने हुँदै गयो। चिकित्सकले गायन–सोख त्याग्न भनिदिए। त्यसपछि उनी उज्यालोमा जूनकीरी नदेखिएजस्तो हुँदै गए। म पढाइ सकेर काठमाडौँ फर्किंदा उनी यहीँ पत्रकारितामा आबद्ध भएको वर्षौँ भइसकेको रहेछ।

खुसीको कुरा, जीवनमा आइपर्ने जस्तासुकै घुम्तीलाई आत्मसात् गर्दै रहे पनि उनले सांगीतिक तिर्सनालाई सुक्न दिएका रहेनछन्। पत्रकारिताकै क्रममा काठमाडौंमा रहेका एकसेएक संगीतकर्मीसँग उठबस हुन थालेपछि र कोठे बैठकमा तिनका सांगीतिक फर्माइस पूरा गर्दै जाँदा पाएको हौसलाले उनीभित्रको गायकले टाउको उठाउँदै गएछ र त्यो पहिलोचोटि ‘नालापानी कालापानी’ का रूपमा प्रकट भएछ। ‘धरोहर’ त्यसैको अर्को फड्कोका रूपमा हामी श्रोतामाझ आएको रहेछ।

यो एल्बमको पहिलो राम्रो पक्ष हो— गीत। पाँचै गीत भाव र शिल्प दुइटै हिसाबमा साँच्चै उत्कृष्ट छन्। एउटा एल्बममा समेटिएका सबै गीत यति बेजोड हुनुले पारसको शब्द परख गर्ने क्षमता पनि देखाउँछ। गीत गजलकारिता र पुस्तक सम्पादनको वर्षौंको अनुभवले यसमा काम गरेको हुनुपर्छ। एल्बमको पहिलो गीत राष्ट्रकवि घिमिरेले लेखेका हुन्। ‘कस्तो हुन्थ्यो’ बोलको गीतमा घिमिरेले गाँस, बास र कपासको सन्दर्भ उक्काउँदै दाजुभाइबीचको प्रेम कस्तो हुनुपर्छ भन्ने औंल्याएका छन् :

पल्लो घरको धुरीबाट धुवाँ आ’को छैन

मैले खाई के सार भयो, भाइले खा’को छैन...

व्यक्तिगत स्वार्थमा रुमल्लिन रुचाउने अहिलेको समाजलाई उपर्युक्त गीतले भ्रातृत्वको बाटोतिर लाग्न प्रेरित गरेको छ। दोस्रो गीतमा कवि क्षेत्रप्रताप अधिकारीले विदेशमा, विशेषतः खाडी मुलुकमा पसिना बगाइरहेका नेपालीका आँखाबाट नेपाललाई हेरेका छन् :

गर्मी भयो रे भन्छन्, चिसो हिमाललाई

सञ्चो–बिसञ्चो के छ, आमा नेपाललाई...

माथिको गीतमा अधिकारीले विदेशमा रहेका नेपालीजनको मातृभूमिप्रतिको उत्कट प्रेम दर्शाएका छन्। अमन मास्केले लेखेको तेस्रो गीत ‘दायाँबायाँ बेथिति छ’ मा मुलुकलाई शिरदेखि पाउसम्म राजनीतिले कसरी गाँजेको छ र सबै क्षेत्रका मानिस एउटाएउटा राजनीतिक दलको कार्यकर्ता भइदिनाले कस्तो विसंगति निम्तिएको छ भन्ने यथार्थ देखाइएको छ :

माझी छैन डुंगामा

माली छैन बगैंचामा

ताते गराउने हात छ झन्डामा

कसले सिकाउला दियोमा थप्न तेल...

कवि दिनेश अधिकारीले लेखेको ‘सबै भन्छन् तिमीलाई’ गीतमा आफैंलाई सर्वेसर्वा ठान्ने आम नेपाली ओहदाधारीको मानसिकताप्रति कडा व्यंग्य गरिएको छ :

सबै भन्छन् तिमीलाई, तिमी मान्छे ठूलो

ठूलो मान्छे तिमी भन, कसरी छौ ठूलो

म त हात जोत्ने मान्छे, ठूला कुरा जान्दिनँ

आफ्नै सुख सोच्नेलाई म त ठूलो मान्दै मान्दिनँ

उपर्युक्त गीतले सामाजिक न्याय र समरसताका खातिर आफू लडिरहेको देखाउने भुइँफुट्टा र ढोँगी नेतृत्व वर्गको मर्ममै प्रहार गरेको छ। पाँचौँ तथा अन्तिम गीत फूलमान वलले लेखेका हुन्, जसमा जाति, भाषा, धर्म, रंग, क्षेत्र आदिका आधारमा नेपाली–नेपालीबीच फाटो ल्याउन खोजिएको संकेत गर्दै मूल बाटो एउटै रहेको सत्यलाई कसैले भुल्न नहुनेतर्फ सचेत गराइएको छ :

तिमीले टेक्ने माटो उही, मैले टेक्ने माटो उही

थुप्रै छन् गोरेटाहरू, तर मूल बाटो उही...

उपर्युक्त सबै गीतमा जुगलको संगीत ‘धरोहर’ को अर्को राम्रो पक्ष हो। संगीत सिर्जनामा जुगलले एकदमै न्याय गरेका छन्। धुन सिर्जना र वाद्ययन्त्रको प्रयोगमा नेपालीपन छ। यी गीत जतासुकै बजे पनि श्रोताको मुटु र मस्तिष्क उद्वेलित हुने खालका छन्। सबैले गुनगुनाउन सक्ने लयकारी भएका यी गीत आफूलाई नेपाली चाहिँ भन्ने तर त्यसअनुसारको सोच्नधरि चेष्टा नगर्नेहरूको संवेदना पुनस्र्थापना गर्न सहायक हुनेछन्।

गीत र संगीत जति हृदयस्पर्शी छन्, पारसको स्वर त्यति नै मर्मस्पर्शी सुनिनु ‘धरोहर’ को तेस्रो उल्लेखनीय विशेषता हो। यद्यपि हरेक काम झन् राम्रो हुन/गर्न सक्ने सम्भावना सबैतिर हुन्छ, तथापि पहिलो प्रयास नै यति गुरु गम्भीर प्रकृतिको हुनु चानचुने कुरा चाहिँ होइन। संगीत पढ्दापढ्दै बीचैमा छोड्नु पर्दाको मर्म र वेदना पारसले गायकीमा मिसाउने सक्दो प्रयास गरेका छन्। प्रत्येक गीतलाई कस्तोकस्तो गायन चाहिने हो, उनले त्यस्तै गर्न खोजेका छन्। बनारसबाट फर्केपछिको श्रोता–अनुभवले यसमा भूमिका खेलेको हुन सक्छ। किनकि, संगीत सिकाइका मामिलामा भन्ने गरिन्छ— संगीत सुनिरहनु भनेको ५० प्रतिशत सिकाइ हो। उनले औपचारिक अध्ययन पूरा गर्न नपाए पनि ५० प्रतिशत ज्ञान गीत श्रवणका माध्यमले लिएको सजिलै अनुमान गर्न सकिन्छ, उनको गायकी सुन्दा।

हामी संगीतकर्मीले, अध्यापन/प्राध्यापनमा लागेकाहरूले अनुभव गर्दै आएको तीतो यथार्थ के हो भने, हाम्रो मुलुकमा संगीतको अपेक्षित संस्कार बस्न सकेको छैन। यहाँ संगीतको औपचारिक शिक्षा स्कुल छोडेपछि मात्रै सुरु हुने परिपाटीले गर्दा यस्तो भएको होला। अब त संगीतको पठनपाठन विद्यालय तहदेखि नै सुरु भएको छ। यो बेला विद्यालयहरूमा ज्ञानवद्र्धकका साथै समाजोपयोगी गीत–संगीतको टड्कारो खाँचो परेको छ। यस्तोमा ‘धरोहर’ एल्बम पनि राम्रो विकल्प हुन सक्छ। स्कुले बालबालिकालाई यी गीत सुनाउन–सिकाउन सके ‘धरोहर’ टिमको राष्ट्रप्रतिको मीठो परिकल्पना साकार हुने थियो।


(डा.पोखरेल ललितकला क्याम्पसका प्रमुख हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.