कविशिरोमणि सम्झेर

कविशिरोमणि सम्झेर

महान् रचनाकारको महत्तम रचनावलीमा सम्पादकको नाताले एउटा ससानो निमित्त बन्ने अवसर पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु। यो सबै कविशिरोमणि लेखनाथ बाबाको अनुकम्पा हो।


प्रस्तावना

झुकी झट्टै जोडी करयुगल, बाबा ! हजुर को ?      

कुटी यद्वा योगाश्रम कुन ?  कहाँ हो हजुरको ?      

भनी सोधे श्रद्धासहित कविजीले जब अनि

उनी बोले —‘मेरो चरित कविजी ! लौ सुन’ भनी।

तरुण तपसी : १/२८

विसं २०१० मा, रसिलो वर्षाको समयमा, एक साँझ दिनकर पश्चिम दिशातिर केही ढल्किएका बेला, विजन पथको वृक्षमुनि वास बस्न आएका एक कविवरले जिज्ञासा राखेपछि, ‘तरुण तपसी’ले आफ्नो चरित जसरी सुनाएका थिए, आज नेपाली वाङ्मयमा हालसालै प्रकाशित एउटा गौरवशाली ग्रन्थ ‘कविशिरोमणि रचनावली’ बारे यो सनतकुमार पनि केही सुनाउन अग्रसर बनेको छ। यसमा कविशिरोमणि लेखनाथ पौड्यालका समग्र साहित्यिक कृत्यको रमणीय संकलन गरिएको छ। बृहत् काव्य, लघुकाव्य, कवितासंग्रह, नाटक र निबन्ध एवं अनूदित रचना गरी पाँच खण्डमा जम्मा २१ कृति रहेको यस विशिष्ट ग्रन्थमा सबै मिलाएर लगभग २२ सय पृष्ठ छन्। कविशिरोमणि र उहाँसँग सम्बद्ध विविध प्रसंगका एक दर्जन दुर्लभ तस्बिरले सजिएको यो कृति अत्यन्त आकर्षक साजसज्जा र आकारप्रकारमा सुन्दर परिधान (ज्याकेट) पहिरेर, रहरलाग्दो बान्की लिएर झुल्किएको छ।

पृष्ठभूमि

यो ग्रन्थ सम्पन्न हुनुको पृष्ठभूमितिर एक नजर दिँदा पाँच वर्ष पछाडिको समयमा पुगिन्छ। ‘अन्तर्मनको यात्रा’बाट सुपरिचित यशस्वी साहित्य स्रष्टा जगदीश घिमिरे त्यस बेला यसै धराधाममा हुनुहुन्थ्यो। उहाँसँग मेरो परिचय ‘वाह ! गजल’ले गराइदिएको हो। शीघ्रमेव त्यो परिचय घनिष्ठतामा रूपान्तरित भयो। उहाँ जसरी गालिब, मीर र इकबालहरूका गजल मन पराउनुहुन्थ्यो त्यसरी नै कविशिरोमणि लेखनाथप्रति गहन श्रद्धाभाव राख्नुहुन्थ्यो। लेखनाथ बाबाका सत्य सन्देशहरू उहाँका हृदयस्थ थिए। मलाई पनि नेपाली साहित्यमा सबैभन्दा बढी श्रद्धा लाग्ने कवि लेखनाथ नै हुनुभयो, उहाँको ‘तरुण तपसी’ मेरो सर्वाधिक प्रिय काव्य हो। बाबाका रसिला श्लोकहरू म गुनगुनाइरहन्छु। कुरै कुरामा एक दिन उहाँले भन्नुभयो, ‘लेखनाथ पौड्याल हाम्रा ऋषितुल्य श्रद्धेय कवि हुन्, उनका कवितामा जुन गहन भाव, सरस काव्यशिल्प अनि भव्य जीवनदर्शन छ त्यो अन्यत्र दुर्लभ छ। पश्चिमाहरूले फैलाएका विभिन्न वाद र दर्शनहरूभन्दा धेरै उच्च दर्शन र जीवनमूल्य हाम्रै लेखनाथमा पाइन्छ, मलाई त उनीजस्ता महान् कवि हाम्रै नेपाली भाषामा पाउँदा गौरव अनि श्रद्धा लाग्छ। तर के गर्नु, नयाँ पुस्ताले उनलाई पढेकै छैन। उनका कृतिहरू पनि अब दुर्लभ हुन थाले। बजारमा पाइँदैनन्। उनका सबै कृतिको एउटा संकलन निकाल्न पाए कस्तो राम्रो हुने थियो।’

पछि उहाँले लेखनाथ बाबाकी नातिनी डा. प्रतिभा पाण्डेसँग यही कुरा गर्नुभएछ। मलाई एक दिन उहाँको घर डिल्लीबजार लिएर जानुभयो। डा. पाण्डेका साथ कविशिरोमणिका उत्तराधिकारी परिवारजनसँग पनि त्यहाँ भेटघाट परिचय भयो, अनि कविशिरोमणिका सबै कृतिको संकलन निकाल्ने कुरामा सहमति भयो। कृति सम्पादनका लागि मलाई आग्रह गरियो, मैले रोमाञ्चित हुँदै यो गहन अभिभारा श्रद्धाका साथ शिरोपर गरेँ। स्रोत सामग्री जुटाउने अभिभारा प्रतिभा दिदीले लिनुभयो अनि समग्र व्यवस्थापनको जिम्मा स्वयं जगदीशजीले। यसरी सुरु भयो : ‘कविशिरोमणि रचनावली’को काम।

साधनाका पाँच वर्ष

लेखनाथ पौड्याल १९४१ पौष शुक्लपक्षको पुत्रदा एकादशीका दिन पोखरा लेखनाथको अर्घौं अर्चलेमा जन्मनुभयो, २०२२ फागुन महाशिवरात्रिमा महाशिवत्वमा विलीन हुनुभयो। उहाँ जानुभएकै आधा शतक बितिसक्यो। उहाँका कृतिहरू एकाध मात्र बजारमा उपलब्ध छन्। ती पनि त्रुटिपूर्ण छन्, त्यसैले उहाँका रचनाको मूल रूप नै पहिले खोजतलास गर्नुप¥यो भनी खोज्दै जाँदा सर्वप्रथम राष्ट्रिय अभिलेखालयमा लेखनाथ बाबाका हस्ताक्षरमै रहेका पाण्डुलिपिमा केही कृति पाइए, केही मदन पुरस्कार पुस्तकालयमा र केही उहाँकै परिवारजनको संरक्षणमा उपलब्ध भए। ती सबै कृतिलाई तिनको मूल रूप नबिगारीकन यथावत् राखियो। फलतः तत्कालीन भाषिक वर्णविन्यासका साथ लेखनाथीय परिस्कृत भाषाकै शुद्ध रूपको आस्वाद प्रस्तुत रचनावलीमा पाइन्छ।

सबै कृति संकलन गर्दा एक वर्ष बित्यो। बीचमा जगदीशजीले बिदा लिनुभयो। हाम्रो योजनाको एउटा महत्वपूर्ण कडी टुट्यो। सम्पादनमा एक वर्ष गयो। फेरि ७२ साल आयो महाभूकम्प लिएर। अनि साजसज्जा ले आउटको मसिनो काममा अरू एक वर्ष गयो। अन्तमा सबै सम्पन्न भएपछि मुद्रकको खोजी गरियो, ‘पब्लिकेसन नेपालय’ले मुद्रण मात्र नभई प्रकाशनको समेत जिम्मेवारी सहर्ष लिएपछि भारतको उच्चस्तरीय प्रविधिसम्पन्न ‘थमसन प्रेस’मा गएर छापिँदा अर्को एक वर्ष लाग्यो। यसरी पाँच वर्षको अनवरत प्रयत्नपछि ‘कविशिरोमणि रचनावली’ले जन्म लियो। २०७४ साल फागुनमा लेखनाथ बाबाको स्मृति–दिवसका दिन यसको लोकार्पण समारोह सम्पन्न भयो।

रचनावलीमा के छ ?      

यस विशालकाय ग्रन्थमा संकलित कृतिहरू यी हुन् : पहिलो भागमा– ‘ऋतु विचार’, ‘तरुण तपसी’ र ‘गंगा गौरी’। दोस्रो भागमा– ‘लालित्य वा कवितासंग्रह : पहिलो, दोस्रो र तेस्रो भाग’। तेस्रो भागमा १० लघु काव्यहरू– ‘बुद्घि विनोद’, ‘ऋतु विचार’ (पुरानो), ‘ श्रीमद्भगवद्गीताको गीतासार’, ‘सत्य कलि संवाद’, ‘गीताञ्जलि’, ‘बुद्घि विनोदको पहिलो विनोद’, ‘वक्तव्य’, ‘त्याग र तपस्याको युगल प्रकाश’, ‘अमर ज्योतिको सत्य स्मृति’ तथा ‘मेरो राम’ वा ‘रामायणसार’। चौथो भागमा– ‘लक्ष्मी पूजा’ र ‘भर्तृहरि निर्वेद’ नाटक तथा ‘फर्सीको झोल’ निबन्ध। पाँचौं भागमा– दुई अनूदित कृति : ‘पञ्चतन्त्र’ र ‘अभिज्ञानशाकुन्तल’।

यी कृतिहरूमध्ये ‘लालित्य’ कवितासंग्रहको तेस्रो भाग सर्वप्रथम यसै रचनावलीमा प्रकाशित भएको छ। लेखनाथ बाबाका अप्रकाशित तथा असंग्रहित कविताहरूको सन्धान एवं संकलनबाट जम्मा ५८ वटा फुटकर कविताको समुच्चयका रूपमा ‘लालित्य तेस्रो भाग’ बनेको छ। पाठकवृन्दलाई सहज होस् भनेर ‘ऋतु विचार’ र ‘तरुण तपसी’जस्ता महनीय कृतिमा कठिन पद–पदावलीको सरलार्थ र सन्दर्भार्थ दिइएको छ। रचनावलीमा केही नामै नसुनिएका र केही नामचाहिँ सुनिएका तर देख्न पढ्न नपाइएका कृतिहरू पढ्न पाउँदा लेखनाथीय काव्यका भावकहरूमा अवश्यमेव सुखद अनुभूति हुनेछ।

लेखनाथीय काव्यवैभव

कविशिरोमणि लेखनाथको ‘ऋतुविचार’ नेपाली समाजमा सर्वाधिक समादृत खण्डकाव्य हो। यस कृतिले प्रकृतिका विविध रूपहरूको कलात्मक एवं हृदयस्पर्शी बयान गर्नुका साथै तत्कालीन समाजका घामछायाको रुचिकर चित्रसमेत विम्बित गरेर नेपाली साहित्यको उच्च मानक स्थापित गरेको छ। पढ्नासाथै पाठक/ श्रोताका हृदयलाई स्वदिलो अनुभूतिमा निमग्न गराउनु लेखनाथीय काव्यको खुबी हो। ‘वसन्त विचार’का केही बान्कीको आस्वाद लिऔं :

 प्रत्येक पुष्पको रूप, रेखा, रंग अनेक छ

 तर, सौन्दर्यको ज्योति उनमा भित्र एक छ।

पृथ्वीको दिव्य सौन्दर्य नअटाएर पट्ट भै

फुटी बाहिर निस्क्यो कि ? फूलका रूपमा सबै।

कोही चहकिला पुष्प वासना नभये पनि

 मूर्ख आडम्बरी जस्तै रूपका छन् महाधनी।

साना ऐँसेलुका दाना टिपदा ती टपाटप

ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप।

हिलोमा भ्यागुतो बस्छ , हिलैमा कमलस्थिति

स्थानले मात्र के गर्नु ? भिन्नै छ गुणको गति।

‘तरुण तपसी’मा भावकलाई लेखनाथ बाबाको अमर आत्मासँग साक्षात्कार गरेको अनुभूति हुन्छ। प्रथम पत्नीको असमयमै देहावसान भएपछि जीवन र जगत्को क्षणभंगुरता देखेर वितृष्ण बनेका कवि सन्न्यस्त हुन चाहेका बेला स्वर्गद्वारी महाप्रभुको प्रेरणाले साधनामय जीवनमा फर्किएपछि यो कृति रचिएको हो। आफ्नो समग्र जीवन लोकोपकारका निम्ति समर्पित गर्ने प्रकृतिको कल्याणमय रूप वृक्षले तरुण तपसीको रूप धारण गरी स्वार्थमा चुर्लुम्म डुबेको मानवजातिलाई गरेको मर्मस्पर्शी सम्बोधन नै यस नव्यग्रन्थको विषयवस्तु हो। यसका पद्यहरू रसिकजनका हृदयमा सहज तरंगित हुन्छन्। केही बान्की यहाँ उद्धृत गरौँ :

दया हो पृथ्वीको अति चहकिलो पारसमणि

दया नै हो कालो भवजलधिको मुख्य तरणी

दया त्यस्तो त्यागी , किन मनुज हिंसातिर झुक्यौ?      

म मर्ने हूँ, मर्छू, तर तिमि नराम्रोसित चुक्यौ।

तरुण तपसी : ६/२४

कुनै चाहे नंगा भइ फगत दां गरिरहून

कुनै चाहे चां भइ गगन–गंगाबिच बहून्

अँध्यारो स्वप्नाका सुख–दुख खुशी भै सब सहू

सबैभन्दा भिन्नै भइ फगत हाँसी खुश रहू।

तरुण तपसी : ७/११

कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरि

कुनै पोकै पोका लिइ सयल गर्ने जुनिभरी

अहो ! कस्तो पैसाजनित जगमा यो विषमता

यसैमा टिक्ला के जुग–जुग कठै ! यो मनुजता ?      

तरुण तपसी : ११/२५

निचोरी निर्धाको रगत पसिना, घूस बटुली

ठुलो पूजासामा–सहित लिइ बोकाहरू बलि

कुनै पूजा गर्थे जननि ! खुशि होउ भनिकन

म रुन्थेँ देखी त्यो मनुज मतिको उग्र पतन।

तरुण तपसी : १४/२३

नेपाली कविकुलगुरु : लेखनाथ

संस्कृत साहित्यमा विश्ववि श्रुत कविकुलगुरु महाकवि कालीदासको, उर्दु साहित्यमा महाकवि गालिबको एवं बंगाली साहित्यमा गुरुदेव रवीन्द्रनाथको जुन स्थान छ, नेपाली साहित्यमा पनि कविशिरोमणि लेखनाथ पौड्यालको त्यही गौरवमय स्थान छ। नेपाली साहित्यमा अत्यन्त समादृत महाकवि लक्ष्मीप्रसाद देवकोटा एवं नाट्यसम्राट् बालकृष्ण समले लेखनाथ बाबालाई आदरणीय गुरु भनेर सम्मान गर्नुभएको छ। उहाँका काव्यमा कालजयी स्वभाव एवं विश्वजनीन उच्चतम सन्देश पाइन्छ। गम्भीर भाव भईकन पनि सरल भाषिक शिल्प, उच्च दार्शनिकता भईकन पनि हार्दिक कोमलताको संस्पर्श, शास्त्रीय शैलीको अनुसरण भईकन पनि आधुनिक जीवनको यथार्थ प्रतिविम्ब, वर्णमात्रिक छन्दको प्रयोग भए तापनि सहज अभिव्यक्तिको माधुर्य, आलंकारिक शिल्पसज्जा भईकन पनि सर्वसुलभ अर्थमयता एवं मानवीय मूल्य मान्यताप्रति आस्थाको अभिव्यक्ति कविशिरोमणिका काव्यमा पाइने विशेष गुण हुन्। संस्कृत, अरबी, फारसी, उर्दु, हिन्दी र अंग्रेजी परम्पराका भाषिक सम्पदालाई पनि उदार भावले स्वीकार गरी माधुर्य भरेर नेपाली वाङ्मयको श्रीवृद्घि गर्नु उहाँको महनीय गुण हो। समस्त मानवजातिको कल्याणको कामना गर्दै यही धराधामलाई देवनगरी तुल्याउनुपर्छ भन्ने उदात्त सन्देश उहाँको काव्यमा यसरी पाइन्छ :

ठुला साना प्राणी, चतुर विधिका सन्तति सब

सबैको साझा हो प्रकृति गुणको भोग्य विभव

सबै हाँसू्न् खेलून् , सरल रसिलो जीवन धरी

धरालाई पारी प्रणयरसले देवनगरी।      

तरुण तपसी : २/६

मंगलान्त

कविशिरोमणि रचनावली प्रकाशित हुनासाथ पहिलो प्रति लिएर म राष्ट्रकवि माधवप्रसाद घिमिरेकहाँ पुगेँ। किताब हातमा लिएर शिरले ढोग्दै उहाँले व्यक्त गर्नुभएको उद्गार अहिले पनि मेरा कानमा गुञ्जिरहेछ, ‘उहाँ मेरो गुरु, मैले उहाँबाटै कविता गर्न सिकेको, जस्तो उहाँ कविशिरोमणि त्यस्तै यो ग्रन्थशिरोमणि बनेछ। कति राम्रो काम गर्नुभएछ , स्याबास् !’

महान् रचनाकारको महत्तम रचनावलीमा सम्पादकको नाताले एउटा ससानो निमित्त बन्ने अवसर पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु। यो सबै कविशिरोमणि लेखनाथ बाबाको अनुकम्पा हो। नेपाली काव्यबगैंचाका यी प्यारा मालीप्रति शत शत नमन !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.