म फेरि अद्‍भुतलाई खोज्न गएँ

म फेरि अद्‍भुतलाई खोज्न गएँ

यो लेखकको स्वैरकल्पना हैन। कुनै काल्पनिक आख्यानको कथा पनि हैन। मानिस कसरी पनि बाँच्छ र यातनाको कुन चरममा पुगेर पनि उभिन्छ ? त्यही यथार्थ हुन् अद्‍भुत तिवारी।


मानबहादुर तिवारी।

उनलाई २०६८ साल कात्तिकमा भेटेको थिएँ। उनी ८३ वर्षका थिए। भारतीय सेनाबाट निवृत्तिभरणमा अवकाश लिएका। मासिक पैंतीस हजार पेन्सन पाउँछु भन्थे।

रतन पाण्डेसँग म उनको घरमा पुगेको थिएँ। रतनले जानकारी दिएका थिए, ‘भिनाजु गाईगोठ, घाँसपातसहित घर बाहिरका तमाम काम गर्नुहुन्छ। उहाँ दिनमा सोह्र बोतलसम्म स्थानीय रक्सी (बियर बोतल) खानुहुन्छ। आज त एघार बोतल मात्र खानुभएको छ रे। अरू खान बाँकी होला।’

केही बेरपछि उनै मानबहादुर हातमा रक्सीको ठूलो बोत्तल र स्टिलको गिलास लिएर आइपुगे। गुन्द्रीको छेउमा बस्दै भने, ‘अँ, मेरो यस्तो बानी छ !’

उनी त स्टिलको गिलासमा रक्सी भरेर पिउन थाले। मानौं, घाममा धापिएर आएकाले चिसो पानी पिउँदै छन्।

‘खोइ कान्छो कता गयो ? अरू बोतल ल्याइदे भन त !’

‘भान्जा तरकारी लिन पसल गए भिनाजु ! कहाँ छ ? म ल्याइदिन्छु नि।’ रतनजी आफैं अघि सरे।

‘त्यहीँ खाटमुनि छ। चार बोतल मात्र छ। कान्छो पसल जाने रहेछ। दुई बोतल ल्या भन्थेँ नि ! मलाई भन्दै नभनी किन गएको हो लट्ठु !’

मैले उनको परिचय जान्न खोजेँ, ‘ए, हजुर आर्मीको जागिरे ? ’

‘हो त। म इन्डियन आर्मीको रिटायर्ड सैनिक !’ उनले भने।

‘पुर्ख्यौली घर यहीँ हो र ? ’

‘म गोर्खामा जन्मेको हुँ।’

‘यहाँ कसरी त ? ’

‘मेरो लामो इतिहास छ भाइ !’ उनले मलाई भाइ भने।

यिनै गफबीच पसल गएको उनको कान्छो छोरो आँगनमा आइपुग्यो। उनले हपारे, ‘पसल जाने भएपछि मलाई सोध्नु पर्दैन थ्यो ? ’

‘मलाई थाहा छ नि बा ! मैले दुई बोतल ल्याएको छु नि !’

‘ए ए। लौ ठीक गरिस् ! अरू के ल्याइस् ? ’ उनको अनुहारमा खुसी देखियो।

‘ब्रोइलरको मासु ल्याएँ। लोकल पाइएन।’

‘ल भैगो। छिटो बनाउन लगा !’

मैले सोधेँ, ‘हैन दाजु ! यस्तो अचाल्ली रक्सीले केही बेफाइदा गरेको छैन तपाईंलाई ? ’

उनी चुरोट झिकेर सल्काउन थाले। म फेरि झस्केँ, ‘हैन, चुरोट पनि खानुहुँदो रहेछ !?

‘अँ त नि। खान्छु’, उनी हाँसे।

‘यसले पनि केही असर गरेको छैन त ? ’

‘अँ भाइ ! रक्सी र चुरोट खाने मेरो बानी जागिरे बेला देखिकै हो। गोर्खा पल्टनको खास ड्युटी हुन्न। त्यस्तै समारोहहरूमा बाहेक अरू बेला छुट हुन्छ। ब्यारेकमै जहान परिवार लिएर बस्न पनि मिल्छ। मेरा छोराछोरी गरी नौ जना, उतै जन्मेका हुन्’, उनले भने।

मलाई फेरि उदेक लाग्यो, ‘बाफ रे बाफ, नौ जना ? ’

‘हो त। मेरो पहिलो विवाह सन् १९४९ मा भएको हो। पछि उनी बितिन्। सन् १९६४ मा दोस्रो विवाह गरेँ। यिनै हुन्, देखिहाल्नुभो। यिनको नाम नन्ददेवी हो’ परिवारको परिचय दिए।

‘हजुरलाई त तिथिमितिसम्म सम्झना रहेछ। कस्तो अचम्म !’

‘ल भाइ ! दुइटी छोरीको त दिन महिना पनि याद छ। भनूँ ? ’

उनले भटाभट पाँचजना छोराछोरीको पूर्ण जन्ममिति भनिदिए। म अवाक् भएर उनको कुरो सुनिरहेँ। उनले सबै सन्तानका नालिबेली लाए।

छैटौं छोरी छिटै बितिन्। त्यसपछिका मिति अहिले सम्झिन्नँ। कति मात्र सम्झिनु ? नाम मात्र लेख्नोस् !

सातौं छोरो– सन्तोष।

आठौं छोरी र छोरा जुम्ल्याहा जन्मे। छोरीलाई बचाउन सकिएन। छोरो प्रदीप यही हो।

जेठी र माहिली छोरीको विवाह भयो। जेठो छोरो सन्तोषको पनि प्यूठानकी अनितासँग विवाह भयो।

नवौं छोरी सीमा। अहिले हामीलाई खाना खुवाउने उनै हुन्। कान्छो छोरो प्रदीप र सीमा छोरीको विवाह गर्न बाँकी छ।

‘तिवारी दाजु ! तपाईंको जीवनयात्रा अति रोमाञ्चकारी लाग्दै छ मलाई। म लेखक पनि हुँ दाजु ! म यो कहानी लेखेर पुस्तकमा छाप्न सक्छु कि सक्दिनँ ? ’ मैले सोधेँ।

‘आरामले सक्नुहुन्छ। मैले मेरो जीवनलाई कहानी बनाएको होइन। यो आफैं बन्यो। किन बन्यो ? त्यसको कारण पनि मलाई थाहा छैन। ठीकै छ, म छोटकरीमा भन्छु। सुन्नोस्, टिप्नोस्। किताबै बनाउनुभयो भने यो अद्‍भुत तिवारीको पनि इतिहास बन्ने भयो। होइन र ? ’

‘अनि तिवारी दाइ, त्यसपछि के भयो ? ’

‘बन्दीपुरले मलाई आघातमाथि आघात दियो। त्यसले मलाई घृणा दियो। तिरस्कार र अपमान दियो।

मैले सोधेँ, ‘तिवारी दाजु ! हजुरको सबै कहानी सक्न कति समय लाग्ला ? ’

‘एघार बज्यो क्यारे। मैले छोटकरीमा भनेको छु। बाँकी कथा सक्दा एक त बज्ला !’

‘दाजुलाई अप्ठ्यारो हुँदैन भने म पूरै कहानी सुन्छु। रतन र प्रदीप बाबु सुत्नुभए हुन्छ’, मैले भनेँ।

‘कहानी भन्न मलाई अप्ठ्यारो छैन। तपाईं सुत्ने कोठा यही भनेका छन्। म देखाइदिऊँला’, तिवारी दाइले भने।

नियतिवश उनले गोर्खाको माटो छाड्नु परेको सम्झना पनि मलाई सुनाए।

०००

गोर्खा जिल्लाको नारेश्वर। त्यहाँ भोगटेनी गाउँ छ रे ! बाबाले हाम्रो परिवारै उठाएर बन्दीपुर ल्याउनुभयो। म पाँच वर्षको थिएँ रे। आमाको काखमा दुई वर्षकी बहिनी थिई। त्यहाँ गएकै वर्ष आमा र बहिनी मरे। बाबा ज्यालाबोनी गर्नुहुन्थ्यो। म आठ वर्षको हुँदा बाबा पनि अकस्मात् बित्नुभयो। म निराधार भएँ।

एउटा घरको छिँडीमा हाम्रो डेरा थियो। घरबूढीले हाम्रा सबै झिटिझाम्टा बाहिर फालिदिइन्। धारे हात लगाउँदै भनिन्, ‘तँ भूत होस् ! कालो मसान होस् ! तैंले बैनीलाई खाइस् ! आमालाई निलिस् ! बाउ पनि चपाइस् ! अब हामीलाई खान्छस् तैंले। तेरो त मुख देखे पनि दशा लाग्छ। यी तेरा चित्रा कहाँ लगेर फाल्नुपर्छ फाल् ! तेरो कुलंगार थुतुनो पनि हामीले हेर्न नपरोस् ! तँलाई तेरै बाउको मसानमा हिजै राति किन जिउँदै पोलिदिएनन् नि !

बाटोमा मानिसले मलाई चिने। कसैले ‘थुइक्क, कुसाइत पर्‍यो !’ भनेर गर्दन बटारे। कसैले, ‘यो कालो मसान त यतै घुम्दै रहेछ !’ सम्म भने।

बन्दीपुरले जति नै मेरो बिचल्ली गरे पनि मनले मानिसकै साथ खोज्ने रहेछ। दिनभरि त वन र ओढारतिर लुकेर बस्थेँ। डर लाग्थ्यो। भोको पेट थियो। रात निकै बितेपछि म तिनै बूढीको घरबाहिर पेटीमा पसारो परेँ।

बिहान भएछ। मैले आँखा खोल्न पनि भ्याएको थिइनँ। मानिसले भने, ‘ए, यो मसाने त यहीँ पो गुँडुल्किएको रहेछ। ला बजिया पिचास तँलाई !’

उनले लातले मेरो ढाडमा हानिन्। हातको कुचो टाउकोमा बजारिन्। पेटीबाट तल खसालिदिइन्। मेरो कुम नराम्रोसँग भुइँमा जोतिएर निकै दुख्यो। म रुन पनि सकिनँ। वरपरका भुरा जम्मा भए। तिनले मलाई ढुंगा हानेर खेदे। मेरो टाउकोमा चोट लाग्यो। मन र शरीरमा चोटैचोट बोकेर म बन्दीपुरबाट लखेटिएँ।

भाग्दाभाग्दै कुनै बूढीबज्यैले भनेको कुरा सुनेँ, ‘कठैबरा ! खोटी कर्म ल्याएको रैछस्। कहाँ जान्छस् ? कसरी बाँच्छस् भुरा ? नारानशिव !’

ती बज्यैका प्रश्न मेरा कानमा अझै ताजा छन्, कहाँ जान्छस् ? त्यही कहाँकहाँ मेरो जिन्दगी बन्यो।’

०००

माथिको उनको अद्‍भुत जीवनकहानीले म भावुक बनेँ।

‘दाजु ! यति धेरै उमेर भयो। आजसम्म तन्दुरुस्त देखिनुहुन्छ। म त आश्चर्यले मरेको छु। त्रियासी वर्षको मानिसले दिनभरिमा सोह्र–सोह्र बोतल रक्सी पिउँछ। शरीरमा कुनै रोग छ कि छैन अहिले ? ’

‘छ पनि, छैन पनि भाइ ! बीस वर्षअघि मलाई चिनीको रोग देखियो।’

‘देखियो मतलब अहिले पनि छ ? ’

‘अहिले छैन’, तिवारी हाँसे।

‘के ओखती खाइरहनुभएको छ ? ’

‘होइन, ओखती त खाएकै छैन।’

‘कसरी रोग हट्यो त ? ’

‘हेर्नोस् भाइ ! म अद्‍भुत मान्छे। त्यो बेला शरीर ज्यादै कमजोर भयो। डाक्टरलाई भेट्न गएँ। उनले रगत जाँच गराए। चिनीको अंश चार सय पुगेको रहेछ। ओखती लेखे। एक महिना ओखती खाएर फेरि रगत चेक गराएर आउनू भने। मैले त्यो ओखती किनिनँ। घर आएँ। ऊ यहीँ आँगनमा नीमको रूख छ। त्यसै दिनदेखि मैले नीमको पात तरकारी बनाएर खान थालेँ। मैले चामल पनि खान छोडिनँ। अहिलेसम्म दुवै छाक भात नै खान्छु।’

‘पछि त्यो डाक्टरलाई भेट्न जानुभो कि भएन ? ’

‘गएँ। उसको ओखती खाएर होइन, नीमको तरकारी खाएर। रिपोर्ट नर्मल थियो। डाक्टरले भने, अब एक महिनासम्म आधा मात्रा मात्र ओखती खानू ! मैले नीमको तरकारी आधा घटाएँ। एक छाक मात्र खाने गरेँ’, उनी मज्जासँग हाँसे।

‘फेरि जानुभो ? ’

‘अहँ गइनँ। आजसम्म पनि गएको छैन।’

‘अहिले छैन त्यो रोग ? ’

‘अहँ छैन। यो हरिपसँग सकिन्न भन्ने ठान्यो होला। फेरि आजका दिनसम्म फर्केर आएको छैन’, तिवारी मुस्कुराए।

‘फेरि आयो भने नि ? ’

‘आउँदैन। रूख त्यहीँ छ। म यहीँ छु’, उनी मज्जासँग हाँसे।

यस्तो कल्पनातीत विस्मयकारी जीवन पनि कसैको हुन्छ ? यो लेखकको स्वैर–कल्पना हैन। कुनै काल्पनिक आख्यानको कथा पनि हैन। मानिस कसरी पनि बाँच्छ र यातनाको कुन चरममा पुगेर पनि उभिन्छ ? त्यही यथार्थ हुन् अद्‍भुत तिवारी।

मैले २०६८ सालमा टिपोट गरेको अद्‍भुत तिवारीको खेस्रा खोजेँ। यसैलाई लेख्न थालेँ। यतिसम्म लेखिसकेँ। त्यो बेला मैले उनको फोटो खिचेको थिएँ। मोबाइलमा उनको र रतन पाण्डेको टेलिफोन नम्बर पनि थियो। मेरो त्यो मोबाइल बाटोमा हरायो। एकपटक उनीहरूसँग सम्पर्क गर्ने तुलबुल मनमा पाक्यो।

त्यसलाई छाप्नुअघि उनैलाई भेट्न सके हुने भन्ने लाग्यो। अर्को छोरा सन्तोषको फोन नम्बर पत्ता लगाएँ। सोधेँ, ‘बाबाको अवस्था के छ ? ’

उनले भने, ‘सोह्र बोतलभन्दा अर्को रोग बाबालाई छैन।’ हिसाब गर्दा अहिले नब्बे वर्षका भइसके उनी। यी अद्‍भुत तिवारीलाई मैले नभेटि भएन।

०००

२०७५ साल मार्ग २६ गते। मित्र प्रकाश चापागाईंलाई लिएर म फेरि उनको घर गएँ। कालाकाँटेबाट एउटा टेम्पो रिजर्भमा लियौं। चालकले भन्यो, ‘पहिले उठैया आउँछ। अनि सोतैया।’ नाम पनि रमाइला लागे।

हामी मानबहादुरको घरतिर लम्क्यौं। बाटोबाट सन्तोष तिवारीसँग हामीले सम्पर्क गरेका थियौं। उनी हामीलाई लिन बाटोमै आइपुगे। हामीले परबाटै देख्यौं, मानबहादुर र उनकी श्रीमती आँगनमा घाम तापिरहेका थिए। उनको अगाडि गएर मैले हात जोडेँ, ‘दाजु आराम नै हुनुहुन्छ नि ? ’

हाँसेर ध्वनिमा उत्तर दिए, ‘आ राम ! भनेको छैन। आफू खुसी आउँदै होला।’

उनी काठको बेन्चमा बसेका थिए। उज्यालो अनुहार, चौडा मुखाकृति, आत्मीय हेराइ। म उनीअगाडिको मेचमा बसेँ, ‘चिन्नु भएन होला। म सात वर्षअघि रतन पाण्डेसँग आएको थिएँ।’

‘हो त। एकरात हामी सँगै बसेर कुरा गरेका। मैले भुलेको छैन।’

‘शरीर कस्तो छ अहिले ? ’

‘यी यही हो। खास रोग छैन।’

‘पुरानो रोग नि ? ’

उनी हाँसे। आँखा चिम्म पारेर भने, ‘अँ, अहिले पनि छ त्यो त।’

‘सोह्र बोतल नै हो कि अलि घट्यो ? ’

‘घट्नुपर्ने किन र ? ’

‘हैन, यो उमेर भयो। अलि कम गरे होला नि ? ’

‘त्यो कम गरे मेरो उमेर पनि कम हुन्छ भाइ।’

‘भनेपछि त्यसले हजुरलाई कुनै हानि गरेको छैन त ? ’

‘अहँ छैन।’

‘हिँडडुल गर्न समस्या छ कि ? ’

‘छैन। किन समस्या हुनु ? अलि दिनअघि इलाहाबाद गएर आएँ।’

‘किन, केही काम थियो कि ? ’

‘त्यहाँ निरहंकारीको समागम थियो।’

‘ए, त्यसमा पनि सक्रिय नै हुनुहुन्छ ? ’

‘छु त।’

यो वार्तालाप सन्तोष र उनकी श्रीमती अनिता पनि सुन्दै थिए। मैले सोधेँ, ‘उमेरका कारणले आँखा, दाँत, कान, पेट कमजोर भए कि ? ’

बुहारी अनिताले भनिन्, ‘छैन हजुर। हामीलाई बोइलरको हड्डी चपाउन गाह्रो हुन्छ। पिताजीले लोकल कुखुराको हड्डी पनि मर्‍याङमर्‍याङ चपाइदिनुहुन्छ। उहाँका हात काठ जत्तिकै दह्रा छन्।’

‘ओहो !’ मैले आश्चर्य व्यक्त गरेँ।

बुहारीले अझै थपिन्, ‘अहिले पनि एक किलो मासु दैनिक खानुहुन्छ। उमेरमा कति खानुहुन्थ्यो रे पिताजी ? ’

बुहारीको प्रश्नमा उनले भने, ‘चार किलो मासु र चौबीस बोतल रक्सी खान्थेँ। नीमले चिनीरोग भगाएँ। घाउखटिरा मेरो शरीरमा आउनै सक्दैनन्।’

‘किन आउन नसक्ने ? ’

नन्ददेवीले भन्नुभो, ‘उहाँ आफ्नो उपचार आफैं गर्नुहुन्छ। अलि मुख्र्याइँ गर्नुहुन्छ क्या। घाउ भयो भने त अगुल्टाले पोलिदिनुहुन्छ।’

म डराएँ। सोधेँ, ‘आफ्नै शरीरमा कि ? ’

बुहारी अनिताले भनिन्, ‘हो त हजुर। घाउमा सोझै अगुल्टो झोसिदिने। दुई दिनपछि सबै सफा।’

‘के अचम्म हो हजुर यो ? ’

‘भाइ म आर्मीको मान्छे। यस्ता सबै उपचार हामीलाई सिकाएको हुन्छ। घाउ लाग्यो भने के गर्ने ? हतियारले काट्यो भने के गर्ने ? गोली लाग्यो भने के गर्ने ? हातगोडा भाँच्चिए भने कसरी जोड्ने ? छाला सिउने सियो धागोसमेत आफ्नो साथमा हुन्छ’, उनले भने।

‘गज्जब ! के चिरफार पनि गर्नुहुन्छ ? ’

‘हेर्नोस्, आगोको डाहाभन्दा बढी अरू दुखाइ हुँदैन। गोली शरीरमा गड्यो भने छुरी तताएर घाउलाई पोल्ने। त्यसैले गोली निकाल्ने हो।’

‘दाजुले यस्ता उपचार आफ्नो ज्यानको मात्र गर्नुभएको होला नि ? ’

थोरै मुस्कुराएर भने, ‘नाइँ भाइ, मैले आर्मीमा धेरैको उपचार गरेको छु।’

‘कस्ता उपचार ? केही सुनूँ न’ म उत्सुक थिएँ।

‘हामी ब्यारेकमै थियौं। एक रात ढोका ढकढक्याएर साथी करायो, मानबहादुर ! म त मर्न लागेँ। मैले हत्तपत्त ढोका खोलेँ। उसैको कोठामा गएँ। उसले असह्य कोखो दुख्यो भन्यो। ऊ पहिले पनि कोखो दुख्छ भन्थ्यो। मैले उसले देखाएको ठाउँमा छामेँ। औंला गाडेर दुखाइको ठीक ठाउँ पत्ता लगाएँ। ब्लेडले दुई अमलजत्ति छाला चिरिदिएँ। गिलगिल्याएर रगत झारेँ। अनि सोधेँ, अघिको दुखाइ छ कि छैन ? उसले त्यो दुखाई छैन, घाउ मात्र दुखेको छ भन्यो। त्यसपछि आरामले सियो–धागो झिकेर चिरेको छाला सिइदिएँ। बाहिरबाट औषधि लगाएँ। पट्टीले बाँधिदिएँ। खेलै खत्तम।’

‘तिवारी दाइ ! यो त समस्यामाथि समस्या भएन र ? ’

‘कहाँ हुन्छ ? त्यसपछि उसको कोखो दुख्ने व्यथा कहिल्यै भएन।’

‘हैट ! तपाईं अद्‍भुत मानिस।’

‘अर्को घटना सुन्नुहुन्छ ? ’

‘अँ, भनौं न।’

‘ब्यारेककै अर्को साथीको समस्या थियो। उसको लिंग दुख्थ्यो। पिसाब खुल्दैनथ्यो। यो समस्याले हैरान पायो। डाक्टरलाई जँचाएर ओखती पनि खायो। ओखती खाउन्जेल नदुख्ने। ओखती सकियो, दुख्न सुरु। उसका सबै समस्या बुझेँ। उसको बेथा नै लिंग–नलीमा थियो। छामेरै मैले एउटा सुम्लो फेला पारेँ। एक इन्चजति थियो। मैले ब्लेड झिकेर चिरिदिएँ। गिलगिल्याएँ। कालो रगत आयो। पिसाबको त धारै लाग्यो। छ्या छ्या ! मेरो मुखमै सोझो धारो पर्‍यो। त्यसपछि मिलाएर सिइदिएँ। उसले सधैंको लागि मुक्ति पायो। यस्ता उपचार त कति गरेँ कति।’

‘तिवारी दाइ ! गोर्खा पल्टनका कुरा पनि सुनूँ न’, मैले आग्रह गरेँ।

उनले त्यो भीषण युद्धको कुरा गरे। एकादेशको कथाजस्तै सुन्यौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.