इलाम
सूर्य आकाशबाट अन्तुमा झर्नुअघि नै
मैले पहिलोपटक टेकेको पाइला
धुलोमा खोज्दै आएकी हुँ यसपटक
समयको इरेजरले पुछ्यो कि कुन्नि ?
आरुबाट फेरि झरेहोलान् गुलाबी फूलहरू
मकैभन्दा अग्लो भएर हाँस्यो होला धानचामर
मंसिरले धान दियो दिएन ?
जीवनको सौन्दर्य सुसेल्दै
चारखोला बगे बगेनन् ?
गजुरमुखीमा खबर बनाएर उडाएको परेवाले
परदेशीको डेरा देख्यो देखेन ?
खोज्दै आएकी छु माइतीको खुसी
समयको इरेजरले पुछ्यो कि कुन्नि ?
पैयुँले वन फुलायो फुलाएन ?
गुराँसले सिउँदो लेख्यो लेखेन ?
चाँपसँगै स्वस्थानी आयो आएन ?
क्रान्तिले भत्काएको पहिरोमा
सान्त्वनाको उत्तिस पलायो पलाएन ?
बग्दैबग्दै देउमाईबाट कहाँ पुग्यो होला
रत्नकुमार बान्तवाको सिद्धान्त ?
कति चुलियो होला फाल्गुनन्दको मानवता
खोज्दै आएकी छु कृष्णभूषणका कविताहरू
तिमीले भेट्यौ भने भनिदिनू—
विष्णु नवीनलाई,
म इलाममा चिया बनेर आइपुगेकी छु ।
यो हुस्सुभित्र छोपिएका
वर्णमालाहरू बटुल्नु छ र
पाठशालालाई दिनु छ
मेरो उमेरभन्दा अग्ला छोइडुमहरूलाई
सभ्यताले धुनु छ र
कपालमा सिउरिनु छ
दुलाल्नी आमैको न्यायको माटो
सरस्वती राईको राजनीति पाटो
महानन्दका महावाणी खोज्दै आएकी छु
समयको इरेजरले पुछ्यो कि कुन्नि ?
मृत्यु छिचोलेर बाँचेका अनुहारहरूमा
भेट्नु छ हजुरआमाको रामायणको लय
भेट्नु छ चण्डी र धाननाचभित्र
लुकेको मेरो ऐश्वर्य संस्कृति
खोज्दै आएकी छु सल्लाका सिपाहीभित्र
मेरो देशको अनुशासन
समयको इरेजरले पुछ्यो कि कुन्नि ?