पर्खाल लगाउन तयार नभए अमेरिकामा संकटकाल लगाउने ट्रम्पको चेतावनी
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डेमोक्रेट्स’पार्टीका विधायकलाई लक्षित गर्दै यदी मेक्सिकोको सिमानामा पर्खाल लगाउन तयार नहुने हो भने अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिएका छन् ।
मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पले पहिलेदेखि नै कोष स्थापना गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् । पर्खाल लगाउनको लागि कोष स्थापना गर्न डेमोक्रेट्स विधायकहरु तयार नभएपछि ट्रम्पले शुक्रबार यस्तो चेतावनी दिएका हुन् ।
‘हो मैले भनेँ,’ ट्रम्पले पत्रकारहरुसँग भने, ‘यस्तो होला जस्तो लाग्दैन मलाई । तर मैले तयारी चाहिँ गरेको छु ।’ ट्रम्पले गरेका बाचामध्ये एक महत्वकांक्षी योजनाको रुपमा मेक्सिकोको सीमामा पर्खाल लगाउने पनि एक हो । जुन योजनालाई डेमोक्रेट्सले साथ दिएको छैन ।
यस्तैमा उनले संकटकाल घोषणा गर्ने चेतावनी दिएका हुन् । ट्रम्प्ले पर्खाल लगाउन चाहिने कोषका लागि भन्दै ५ अर्ब डलर भन्दा बढी रकम छुट्याउन प्रस्ताव गर्दै आएका छन् ।
सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि आफ्नै निकटस्थबाट आलोचित बनेका अमेरिकी राष्ट्रपतिलाई पछिल्लो तयारीले झनै दबाव सिर्जना गरेको छ ।