पाउरोटीको मूल्य वृद्धिले सुडानमा बढाएको तनाव, ८०० बढी प्रदर्शनकारी पक्राउ
खार्तुम : सुडानका विभिन्न ठाउँमा भएका सरकार विरोधी प्रदर्शनहरूबाट सरकारी सुरक्षाकर्मीहरूले आठ सयभन्दा बढीलाई पक्राउ गरेका छन्।
गृहमन्त्रीले सोमबार दिएको जानकारी अनुसार गत महिनादेखि अहिलेसम्म झण्डै १५ दिनमा भएका प्रदर्शनहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो। गृहमन्त्री अहमद बिलाल ओस्मानले संसदमा भने, 'अहिलेसम्म पक्राउ पर्ने प्रदर्शनकारीहरूको संख्या ८१६ रहेको छ।'
सरकारले पाउरोटीको मूल्य बढाएपछि गत डिसेम्बर १९ देखि अहिलेसम्म सुडानमा सरकार विरुद्ध प्रदर्शन भएको छ।
अधिकारीहरूका अनुसार प्रर्दशनका क्रममा भएका झडपमा परी अहिलेसम्म दुई जना सुरक्षाकर्मी सहित १९ जना मारिएका छन्।
तर अन्तर्राष्ट्रिय अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भने मृत्यु हुनेहरूको संख्या ३७ पुगेको दावी गरेको छ।
गृहमन्त्री बिलालले प्रदर्शनकारीहरूले ११८ भवनमा क्षति पुर्याएको पनि सांसदहरूलाई जानकारी दिनुभयो। तीमध्ये १८ प्रहरीसँग सम्वन्धित भवनहरु छन्।
त्यसैगरी प्रदर्शनका क्रममा १९४ सवारी साधनमा आक्रमण तथा आगजनी भएको छ भने आक्रमणमा पर्नेमा १५ सवारी साधान अन्तर्राष्ट्रिय संस्थाका रहेको उनले बताए।