जब एउटा मान्छे हराउँछ
एउटा घाम हराउँछ
त्यो घाम झुन्डिने आकाश हराउँछ
आकाशको बादल ओढेर उभिएको पहाड हराउँछ
पहाडलाई भेट्न आउने जून हराउँछ
हराउँछन् रातमा जून नदेख्दा ताराहरू
जब एउटा मान्छे हराउँछ।
एउटा आँगन हराउँछ
त्यहीँ टेक्दै आउने खुट्टाहरू हराउँछनती खुट्टाका आहट पर्खी बसेको ढोका हराउँछ
आँखाहरू देखादेख हुने झ्याल हराउँछ
हराउँछ एउटा घर
हराउँछ एउटा परिवारको सुगन्ध
जब एउटा मान्छे हराउँछ।
दैनिकीको सुरताल हराउँछ
आँसु थाप्ने हातको स्पर्श हराउँछ
समयको रूपरंग हराउँछ
चराचुरुंगीको मधुर चिरबिर हराउँछ
हराउँछ मनको भित्ताबाट खुसीयालीको चित्र
जब एउटा मान्छे हराउँछ।
एउटा छहरा हराउँछ
त्यो छहराले भेटन जाने समुद्र हराउँछ
समुद्रसित एकान्तमा बात मार्ने बैंसालु रात हराउँछ
रातसित हात मिलाएर गएको दिन हराउँछ
हराउँछ दिनले उज्यालो पार्ने सुन्दर संसार
जब एउटा मान्छे हराउँछ।
गीतको लय हराउँछ
शीतको बिम्बले पातमाथि कोर्ने कविता हराउँछ
मनभरिको व्यथा लेख्ने अक्षर हराउँछ
कथाको एउटा पात्र हराउँछ
हराउँछन् धड्कन व्यक्त गर्ने शब्दहरू
जब एउटा मान्छे हराउँछ।
त्यही अनुहार आँखाभरि सम्हाल्दै बस्ने
आमाको आशीर्वाद हराउँछ
भत्किएको घरको डिलमा झोक्रिरहेको
बूढो बाको भरोसा हराउँछ
एउटा सिउँदोलाई बेर्ने अँगालो हराउँछ
हराउँछ गालामा बस्न आउने चुम्बनको पुतली
जब एउटा मान्छे हराउँछ।
एउटा नदी हराउँछ
त्यहीँ किनारमा उदास समयमा उभिने गथ्र्यौं
साथ उक्लने देउराली हराउँछ
बाटोको छातीबाट एउटा पाइतला हराउँछ
आपत्मा आश्वस्त पार्ने स्वर हराउँछ
हराउँछ सिँगो पृथ्वी
जब एउटा मान्छे हराउँछ !