कपिलवस्तुका सबै तहमा बैंक

कपिलवस्तुका सबै तहमा बैंक

तौलिहवा : कपिलवस्तुका सबै स्थानीय तहमा बैंक स्थापना भएका छन्। पछिल्लो पटक विजयनगर गाउँपालिकामा बैंक आएसँगै सबै तहमा वित्तीय संस्थाको पहुँच पुगेको हो। गाउँपालिकामा प्रभु बैंक लिमिटेडले आफ्नो सेवा प्रारम्भ गरेको गाउँपालिकाले जनाएको छ।

बैंक स्थापना नहुँनु पूर्व यस गाउँपालिकाको कारोबार चन्द्रौटा र कृष्णनगरबाट हुँदै आएको थियो। गाउँपालिकामा बैंक पुगेपछि आर्थिक कारोबार गर्न सहज भएको गाउँपालिका प्रमुख गोपाल थापाले बताए। ‘विकासको गतिले पछाडि परेको क्षेत्रमा बैंकिङ सेवा पुगेको छ’, गाउँपालिकाका प्रमुख थापाले भने, ‘यो राम्रो पक्ष हो।’ त्यहीँमा पनि गाउँपालिकामा राष्ट्रियस्तरको बैंक पुग्नु स्वागतयोग्य काम हो। सरकारी निती अनुसार बैंक पुगे पनि आफूहरूको पहल भने गरिरहेको उनले बताए। बैंक स्थापना भएपछि बैंकिङ सेवा लिन चन्द्रौटा, कृष्णनगर पुग्नुपर्ने बाध्यता हटेको छ, सर्वसाधारणलाई पनि सहज भएको उनले बताए।

विजयनगरसँगै विकासको गतिमा पछाडि परेको भारतीय सिमावर्ती यशोधरा गाउँपालिका पनि एक हो। यस गाउँपालिकामा पनि बैंकको पहुँच पुगेको छ। गत वर्षदेखि नै यहाँ सिद्धार्थ बैंक लिमिटेडले आफ्नो सेवा दिइरहेको गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयले बताए। यस्तै मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिमा पनि बैंकको पहुँच पुगेको छ। गाउँपालिका गठन नहुँदै मायादेवी गाउँपालिकाको पकडीमा बैंक स्थापना भइसकेका थिए। यहाँ महालक्ष्मी विकास बैंक लिमिटेड, एनआइसी एसिया बैंकलगायत छन्।

जिल्लाका ६ नगरपालिकामा बैंकको पहुँच राम्रो छ। विकासको दृष्टिकोणले अरु नगरपालिकाभन्दा पछाडि रहेको महाराजगञ्जमा राष्ट्रियस्तरका दुई बैंक सञ्चालनमा छन्। जनता बैंक लिमिटेड र एनआईसी एसिया बैंकले त्यहाँबाट कारोबार गर्दै आएका छन्। बैंकको सबैभन्दा राम्रो पहुँचमा रहेका नगरपालिका कपिलवस्तु, वाणगंगा, शिवराज र कृष्णनगर हुन्। यी चारवटै नगरपालिकामा सरकारी बैंकदेखि दर्जनौ अरु बैंक सञ्चालनमा छन्।

जिल्ला सदरमुकामसमेत रहेको कपिलवस्तु नगरपालिकामा सरकारी बैंक कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकले लामो समयदेखि सेवा दिइरहेका छन्। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र वित्तीय संस्था पनि यहाँ दर्जनौ संख्यामा छन्। विकासको गतिमा जिल्लाकै अग्रणी क्षेत्रमा पर्ने वाणगंगामा पनि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले आफ्नो सेवा दिँदै आएका छन्। यस्तै एक दर्जनभन्दा बढी अरु बैंक सञ्चालनमा छन् भने बैंक स्थापना हुने क्रम यहाँ बढ्दो छ। पछिल्लो समय सिद्धार्थ बैंक लिमिटेड, कैलाश विकास बैंक र ज्योति विकास बैंकले यहाँबाट आफ्नो सेवा सुरु गरेका छन्।

शिवराज नगरपालिकामा नेपाल बैंक लिमिटेडले आफ्नो सेवा दिँदै आएको छ। औद्योगिक क्षेत्र समेत रहेको शिवराजमा निजी क्षेत्रको ठूलो बैंक एसबीआई बैंक पनि सञ्चालन भइरहेको छ। यस्तै एभरेस्ट बैंक लिमिटेडलगायत वाणिज्य बैंकहरूले पनि यहाँबाट कारोबार गरिरहेका छन्। एसबीआर्ई बैंक नगरपालिकाबाट सञ्चालन हुनु राम्रो भएको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी बताउँछन्। भारतको पञ्जाव नेसनल बैंकसँग सहकार्य गर्दै आएको एसबीआर्ई बैंक चन्द्रौटामा स्थापना भएदेखि भारतीय पेन्सनरलाई निकै सहज भएको उनले बताए। यसभन्दा अगाडि पेन्सिन बुझ्न बैंक खोज्दै बुटवल जानुपर्ने बाध्यता थियो।

नेपाल भारतको सीमानाका समेत रहेको कृष्णनगर नगरपालिकामा पनि बैंकको राम्रो पहुँच छ। औद्योगिक क्षेत्रको रूपमा चिनिने कृष्णनगर नगरपालिकामा सरकारीस्तरको कृषि विकास बैंक छ। यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले पनि यहाँबाट कारोबार गर्दै आएको छ भने एभरेस्ट बैंक लिमिटेडले पनि सेवा दिँदै आएको छ। आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालयसमेत यहाँ रहेकाले वित्तीय पहुँचको दृष्टिले यो नगरपालिका जिल्लाकै अग्रणी स्थानमा पर्ने नगर प्रमुख रजत प्रताप शाहले बताए।

बुद्धभूमि नगरपालिकामा पनि वाणिज्य बैंकले सेवा दिँदै आएका छन्। गोरुसिंगेमा एनएमबी बैंक लिमिटेड र इमिलियाबाट एनआईसी एसिया बैंकले सेवा दिँदै आएका छन्। नगरपालिकामा एउटा सरकारीस्तरको बैंक स्थापनाको पहल भइरहेको नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठले बताए।

पछिल्लो समय जिल्लामा लगानीमैत्री वातावरण बन्दै गएको उद्योगीहरू बताउँछन्। उद्योगधन्दामा लगानी गर्न चाहने व्यवसायीको आकर्षण जिल्लामा बढीरहेको कारण बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढेको उद्योगीको भनाइ छ। बैंकहरू स्थापना भएपछि उद्योगी व्यवसायीलाई सजिलो भएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.