प्रतियोगिताले दियो परिचय
जीवन खत्रीको कवितासंग्रह ‘आगोको वर्णमाला’ प्रकाशित छ। करिब पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका उनले प्रवासमा पनि कविताकर्म गरिरहे। हाल ‘मधुवन साहित्यिक प्रतिष्ठान’का अध्यक्ष रहेका कवि खत्रीसँग कविताका विविध आयाममाथि केन्द्रित रही निर्भीकजंग रायमाझीले गरेको कुराकानी :
तपाईं लामो समय वैदेशिक रोजगारीमा रहनुभयो। त्यसबेला लेखिएका कविता ‘आगोको वर्णमाला’ संग्रहमा छन्। कविता दुःखले लेखाउँछ र ?
दुःखले मात्र होइन, हरेक कुराले कविता लेखाउन सक्छ। तर, तिनलाई कविले कसरी लिन्छ, भन्नेमा फरक पर्छ। मेरो हकमा चाहिँ दुःखका बिम्बहरूले मलाई धेरै छोएछन् क्यार ! तर संग्रहमा दुःख इतरका कविता पनि छन्।
संग्रहमा आमालाई बिम्ब बनाएर लेखिएका कविता धेरै छन्, किन ?
मैले आजसम्म ईश्वर देखेको छैन। देखेको छु भन्नेहरूलाई पनि भेटेको छैन। तर, ईश्वरको कोमल रूपको कुरा खुब सुनेको छु। कहिले कसो घोत्लिन्छु एकान्तमा, र सोच्छु– ‘कस्तो होला दुनियाँले पुकार्ने ईश्वर ? ’ आमाको अनुहारमात्र दिल–दिमागमा फनफन घुम्छ।
कविता संग्रहको शीर्ष कविता ‘आगोको वर्णमाला’मा तपाईंले आफूलाई मट्टीतेल हुन सकेको भए हुन्थ्यो भन्ने बिम्ब लेख्नुभएको छ, जुन हरिभक्त कटुवालको चर्चित कविता ‘म कवि’सँग मिल्दोजुल्दो देखिन्छ नि ?
उहाँको ‘म कवि’ शीर्षक कविता मैले पढेको छु। तर, ‘आगोको वर्णमाला’को शीर्ष कवितासँग मिल्दैन भन्ने लाग्छ मलाई। उहाँले आफ्नो कवितामा आफू कवि भएकाले केही गर्न नसकेको बरू मट्टीतेल हुन सकेको भए देशको कुनै एक घरमा एक छाक पाक्न सक्ने कुरा उठाउनुभएको छ। तर, आगोको वर्णमालाको विषय आगोसँग छ। शब्दकै कुरा गर्दा पनि मट्टीतेल भन्ने शब्दै छैन। मेरो कवितामा आगोलाई प्रगोग गर्नेहरूले ठीक ठाउँमा प्रयोग नगरेपछि आगो आफैं दिक्क भएको कुरा स्वयम् आगोको तर्फबाट आएको छ।
तपाईंको कवितामा पहाडी जनजीवनका व्यापक बिम्ब टिपिएका छन्। यसरी एउटै कवितामा समान भावका बिम्बको जालो राख्दा कविता जटिल बन्दैन ?
बिम्ब असल कविताको मुटु हो। बिम्बकै कारण कविता जटिल बन्छ भन्ने लागेको भए त लेख्ने नै थिइनँ। म त जटिल होला कि भन्ने पिरले कवितामा नरम बाटो अपनाउन खोज्ने मान्छे हुँ। मलाई जे भन्नु छ, नरम र कोमल भाषामा भन्नु छ।
तपाईंले आफ्नो कवितामाथि प्रतिरक्षा गर्नुभयो। आत्ममूल्यांकन पनि गर्नुस् न !
म दुवै गर्छु, दुवै गर्दिनँ पनि। कारण मैले बोलेका कुरा ठूलो कुरा हुन्छ भन्ने लोभले झुट बोल्नु छैन, सत्य बोल्छु। आफ्नो कविता आफैंले समीक्षा नगरी त मैले कविता छाप्ने आँट गरिनँ। छाप्नु अघिसम्म मेरो आफ्नै कवि मनले जति समीक्षा गर्न सक्यो त्यति नै हो मेरो क्षमता र त्यसको उपज कृति यही नै हो। योभन्दा बढी समीक्षा गर्न सकेको भए त किताब नै योभन्दा राम्रो बनाएर मात्र छापिन्थ्यो होला। अब यो पुस्तक पाठकको भइसक्यो। अब मेरो काम सबैको समीक्षा पढ्नु, सुन्नु हो।
एक समय कविता प्रतियोगिताहरूमा जीवन खत्री निकै छाएको थियो। तपाईं त प्रतियोगिताले बनाएको कवि है ?
हो, मैले धेरै कविता प्रतियोगितामा भिडेँ। म भाग्यमानी पनि हुँ कि भिडेका अधिकांश प्रतियोगितामा पुरस्कार पाएँ। केही हदसम्म मलाई परिचय दिएको पनि हो प्रतियोगिताले। तर, प्रतियोगितामा पुरस्कार पाउनुअगावै म कविता लेख्थेँ अनि मात्र पुरस्कार पाएको हुँ।
पछिल्लो समय कवितामा भाव पक्ष सबल बनाउने र राष्ट्रिय जनजीवनलाई केन्द्रीय स्वर बनाउने प्रवृत्ति बढेको छ। के कविताको सीमितता यहीँसम्म मात्रै हो ?
कलेजको औपचारिक शिक्षा पूरा गरी हातमा पिएचडी थापेर नामको अगाडि डा. लेखेपछि पढाइ सकियो भन्नुजस्तै कुरा भयो यो। कविता यो ब्रह्माण्डजस्तै फराकिलो र विशाल कुरा हो। जति गहिरियो, उति नै परपर भित्रभित्र पुग्न सकिने ठाउँ हो।