दाइजोले लियो आमा, छोरीको ज्यान
जनकपुरधाम : जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन्। दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ।
जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शर्माले दुई बर्से शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाको एसपी गोविन्द थपलियाले बताए।
प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन्। ‘माइतबाट थप दाइजो नल्याएको भन्दै सीमालाई शारीरिक र मानसिक यातना दिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’, एसपी थपलियाले भने, ‘आत्महत्या गर्न बाध्य पारेको अभियोगमा सीमाका ससुरा ६५ बर्से श्यामसुन्दर मि श्र, ६० बर्से सासु किरण मि श्रलाई पक्राउ गरिएको छ। उनका श्रीमान् समीर मिश्र भने फरार छन्।’
यसैबीच मृतक आमाछोरीको शोकमा दीप प्रज्वलनसँगै दोषीलाई कडा कारबाहीको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन भएको छ।
खेत बेचेर दाइजोको जोहो
एघार लाख दाइजो दिएर महोत्तरीको लोहारपट्टी—७ भ्रमपुरकी सीमा शर्माको पाँच वर्षअघि विवाह भएको थियो। सीमाकी बुवा जयनारायणले महोत्तरीकै हलखोरीका समीर मि श्रसँग जोडी बाँधिदिए।
दाइजोमा केटा पक्षले मागेको नगद ८ लाख, दुई लाख ३६ हजार रुपैयाँको पल्सर मोटरसाइकल र दुई तोला सुन उनले दिए। सीमाको विवाह २९ वैशाख, २०७० मा मैथिली परम्पराअनुसार भएको थियो। मागेअनुसार दाइजो जोहो गर्न उनको बुवाले सात कट्ठा खेत बिक्री गरेका थिए।

सीमा र गौरीको शोकमा जनकपुरमा गरिएको दीप प्रज्वलन। तस्बिर : राजकरण महतो
केटा पक्षले भने थप नगद, सुनचाँदी र सरसमान ल्याउन दबाब दिने र नल्याए घरबाट निकाला गरिदिने धम्की दियो। ‘बहिनीलाई राम्रोसँग राखुन् भनेर मागेको सरसमान ऋण खोजेर पूरा गर्यौं,’ सीमाका दाजु सुजीतकुमार शर्माले भने, ‘सासुससुराले बहिनीलाई माइत पठाउन नगद, सुन, सरसमान पठाए मात्र जाने दिने सर्त राख्थे।’ सीमाका बुवा घरगुजारा चलाउन १५ वर्षदेखि वैदेशिक रोजगारीमा छन्।
पुस ३० गते राति सुत्ने बेलामा छोरी गौरीलाई विष खुवाएर आफूले पनि खाएको थिइन्। उनको माघ १ गते मृत्यु भएको थियो। गौरीको त्यसको भोलिपल्ट माघ २ गते ज्यान गएको हो।
विष खाई गम्भीर बिरामी परेकी उनलाई पति समीरले मोटरसाइकलमा राखेर जनकपुरस्थित जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा लगे। त्यहाँ आईसीयू सुविधा नभएपछि उनलाई जनकपुरकै अर्को राम जानकी हस्पिटलमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूले तरकारी बालीमा प्रयोग हुने ‘सेल्फास’ नामक विषादी सेवन गरेका थिए।
मधेसमा कुप्रथाको रूपमा जरा गाडेर रहेको ‘जाइजो प्रथा’ अभिसाप बनेको महोत्तरीको पिपराकी महिला अधिकारकर्मी गुञ्जा रायले बताइन्। ‘माइतबाट दाइजो ल्याउन नसक्दा छोरीहरू जलेर मर्न र आत्महत्या गर्न गर्न बाध्य छन्,’ उनले भनिन्, ‘यो देशमा कहिलेसम्म दाइजोको निहुँमा छोरीबुहारी कुटिने हो, आगोमा जलिरहने पर्ने हो ? यो सोचनीय प्रश्न छ।’
प्रतिक्रिया दिनुहोस !