भ्रष्टाचारविरुद्ध राष्ट्रिय मेलमिलाप

भ्रष्टाचारविरुद्ध राष्ट्रिय मेलमिलाप

जुन देशको राजनीति नागरिकको समुन्नतिमा भन्दा बढी सीमित लोभीको स्वार्थपूर्ति उन्मुख हुन्छ भने त्यस्तो मुलुकको भविष्य कस्तो होला ?


कलेज पढ्दाको बढी मिल्ने साथी उद्योगपति मित्रसँग झन्डै चार दशकपछि भेट भयो। हामीबीचको पुनः सम्पर्कको खुसीयाली धेरैबेर अड्नै पाएन। मैले भनें, ‘ अब ज्यादै ठूलो उद्योगपति भइसक्नुभयो होला ?’ ले तिनलाई बिच्क्यायो। ‘उद्योगहरू’ बन्द गरेर ‘रिटायर्ड लाइफ’ बिताउन लागिपरेका रहेछन् तिनी। केटाकेटी उमेरदेखि उद्योगहरू सञ्चालन गर्दै आएका मित्रले किन वि श्राम लिएको भन्ने मेरो प्रश्नको उत्तर थियो, ‘सञ्चालन गर्न नसकेर।’

पुँजीवादी विश्वमा उद्योगीहरू टाट पल्टिनु अनौठो होइन तर तीन पुस्तादेखि साबुन उद्योग सञ्चालन गर्दै आएका ती मित्र विस्थापित हुनुमा छोराछोरीले साथ नदिएर हो कि भन्ने मेरो जिज्ञासा थियो। मित्रले थपे, ‘मैले हरेस खाएपछि छोरा (इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलकत्ताबाट एमबीए) ले बाजेबराजुको बिँडो थाम्न धेरै संघर्ष गर्‍यो। उसको पनि केही लागेन। देशै छोडेर ऊ त अस्ट्रेलियातर्फ हिँड्यो।’ विस्थापित हुनुको प्रमुख कारण थियो, ‘घुस खुवाउँदाखुवाउँदै तथा राजनीतिक दलका नेताहरूलाई चन्दा दिँदादिँदै कंगाल हुने अवस्था’ ले जसले गर्दा उद्योगहरूमा ताला लगाउनुको विकल्प तिनीसँग थिएन।

साबुन उद्योगी ती मित्रका अनुसार कच्चापदार्थ मलेसिया तथा सिंगापुरबाट आयात गर्नुपर्ने। सामान आयात गर्न आवेदन दिनेदेखि एलसी खोल्नसम्म घुस खुवाउनु तथा जिम्मेवार व्यक्तिको चाकडी गर्नुपर्ने। तिनका अनुसार भारतीय बाबुहरू तथा रेल अधिकारीहरूको झन्झट बरु त्यति बेहोर्नुपरेन। उनीहरू सबैलाई नियमित रूपमा तिनले दस्तुर तिर्ने गरेका थिए।

कहिलेकाहीं विभिन्न कारणले गर्दा अलि बढी रकम खर्च गर्नुपथ्र्यो। सामान रक्सौलबाट वीरगन्ज भन्सार आइपुगेपछि समस्या जटिल हुन्थ्यो। प्रत्येक ‘कन्साइनमेन्ट’ मा सरकारी दस्तुरबाहेक तिर्नुपर्ने तिरो सधैं अनिश्चित। हाकिमको लहड सनक बा ‘तजबिज’ अनुरूप रकम निर्धारण हुने परिपाटी। कच्चापदार्थ फ्याक्ट्रीको ढोकासम्म आइपुग्दा त्यसको भाउ कम्तीमा पनि डेढ गुणा बढी भइसक्थ्यो। उत्पादन प्रक्रियामा ‘ श्रमिक’ देखि इन्धनको समस्या।

तिनको भनाइमा यस्ता समस्याले जतिसुकै टाउको दुखाए पनि त्यसको सामना गर्न पनि उनीहरू तयार नै थिए। राजनीतिक दलका कार्यकर्ताको धम्कीपूर्ण आदेशअनुसार तोकेको चन्दा रकम सुम्पनुपर्ने तथा ‘दलका उच्च तथा सत्तासीन नेताहरूको नियमित तथा बेला–कुबेलामा हुने मोटा रकम माग’ व्यवस्थापन गर्न नसकेकाले तिनले पुर्खौंदेखि कमाएको ‘साबुनवाला सेठ’ को पदवी तथा पहिचानलाई तिलाञ्जली दिनुपरेको रहेछ।

छुट्टिनुअघि तिनले भनेको सम्झिरहन्छु, ‘यार, ठूलाठूला नेताहरूले बुझ्ने कोसिससम्म पनि गरेनन्। बुझाएको रकम जोड्दाजोड्दै साबुनको मूल्य अकासिएर भारतीय साबुनभन्दा महँगो भएपछि कसले खरिद गर्ने ? मैले उनीहरूलाई बुझाउन नसकेको वास्तविकता भनेको साबुन बेचेर मुनाफा कमाएको आयबाट नै त हो उनीहरूको भाग छुट्ट्याउने। बिक्दै नबिक्ने साबुन बेचेर मैले के कमाउने र के दिने ? ’

बीपीको राष्ट्रिय मेलमिलापको वर्णन गरेर नथाक्ने कांग्रेस युवा नेताका निमित्त यो अवसर हो, भ्रष्टाचारविरुद्ध राष्ट्रिय मेलमिलाप कायम गर्ने। उनीहरू अग्रसर भएनन् भने निश्चय पनि ढिलोचाँडो अन्य दलसँग आबद्ध युवा अघि लाग्नेछन्।
 

एकछिन कल्पना गरौं, कुनै एउटा कृषक घरपरिवारको। मेहनत गरेर उत्पादन गर्ने उमेरका सन्ततिहरू सबै स्वदेशमा नभई विदेशमा गएर रगतपसिना बगाउँदै कमाइ गर्दैछन्। तिनको कमाइले घर खर्च धानिएको छ। थोरै जमिन भएकाले खेती राम्रै भएको अवस्थामा पनि घरको आवश्यकता परिपूर्ति नहुने स्थितिबाट पिल्सिएको त्यस घरमा काम गर्न सक्नेहरू नभएपछि श्रमको चरम अभाव हुने नै भयो।

विगतमा जस्तो पर्मको चलन हराइसक्यो। किनकि आफ्नो मात्र होइन, छिमेकका समेत काम गर्न योग्य परिवारका सदस्यजति सबै मुग्लान लागिसके। जो मुग्लान पुगेका छैनन्, ती पनि सहरी क्षेत्रमा गएर विदेश रोजगार अवसर कुर्दै भौंतारिरहेका छन्, सानातिना ज्यालादारी काममा अल्झिएर। थोरै खेतबारी पनि बाँझो हुने स्थिति छ। आफ्नो उत्पादन न्यून भए पनि वैदेशिक रोजगारबाट भित्रिएको आयले घर सञ्चालनका निमित्त अन्यत्रको उत्पादित खाद्यवस्तु तथा अन्य सामग्री खरिद गरेर खपत गर्नुको विकल्प छैन। यस्तो घरमूलीको त्रास भनेको विदेशमा रोजगार गर्न गएका छोराछोरी त्यहाँ बेरोजगार भएर फर्किए भने के होला ?

तथ्यांकलाई आधार मान्ने हो भने व्यापार घाटा प्रत्येक वर्ष बढेको मात्र होइन, अनियन्त्रित रूपमा चुलिँदै गएको छ। मधेस, पहाड र हिमाल सर्वत्र काम गर्न सक्षम मानव शक्तिको अभाव हुँदै गएको छ। उद्योगहरू फस्टाउनुको साटो खुम्चिँदैछन्। पुस्तौंदेखि उद्योग सञ्चालन गर्दै आएका उद्यमीहरूसमेत उद्योगधन्धा बन्द गरेर पलायन हुँदैछन्। विकास प्रक्रियाले गति लिन थालेपछि कृषिमा आश्रित श्रम उद्योगतर्फ लाग्ने अनि औद्योगीकरणको उत्सर्गमा पुगेपछि उद्योग क्षेत्रबाट श्रम सेवा क्षेत्रतर्फ अग्रसर हुने हो। हाम्रो मुलुक यस पथमा अग्रसर हुन अझै सकेको छैन।

किनकि औद्योगिक क्षेत्र विस्तार हुनुको साटो खुम्चिँदो छ। उद्योग फस्टाउन नसक्नुका थुप्रै कारणमध्ये भौतिक पूर्वाधार (सडक, विद्युत् आदि) देखि नियम कानुन आदि हुन्। त्यस्ता भौतिक तथा मानवनिर्मित कठिनाइ झेल्न वा व्यवस्थापन गर्ने सामथ्र्य नेपाली उद्यमीहरूले सायदै राख्दा हुन्। तर उनीहरू तिर्नुपर्ने तिरो उनीहरूको कमाइभन्दा बढी भएपछि कसरी टिकुन् ? आखिर जुन मुलुकमा राजनीति देशमा अमनचयन कायम गरेर नागरिकको समुन्नति र हितका लागिभन्दा बढी सीमित लोभी–स्वार्थीहरूको स्वार्थपूर्ति उन्मुख हुन्छ भने त्यस्तो मुलुकको भविष्य कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।

आजका दिनसम्म रेमिट्यान्सले बहुसंख्यक घर चलिरहेका वा धानिएका छन्। कठिनाइ हुँदाहँुदै पनि अधिकांश परिवारको दैनिकी चलेकै छ। सिरियामा बलेको आगोले डढेलोको रूप धारण गर्‍यो भने हाम्रा श्रमिकहरूको प्रमुख गन्तव्य कतार, साउदी अरेबिया, कुबेत, लेबनान, इराकदेखि इजरायलबाट स्वदेश फर्कनुपर्ने अवस्था निम्तिने उच्च जोखिम छ।

त्यस अवस्थामा पूर्वएसियाका मुलुकहरू मलेसिया, बु्रनाई, माल्दिभ्स, दक्षिण कोरिया, जापान आदिमा नेपाली श्रमिकले हाम्रोभन्दा बढी दक्ष फिलिपिनो,       श्रीलंकन तथा बंगलादेशी श्रमिकसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्छ। वैदेशिक रोजगार कम हुँदाको अवस्था कल्पना गर्न सकिन्छ, तर त्यसले पर्ने राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक तथा सुरक्षाका असरबारे परिकल्पना गर्नसमेत कठिन हुन्छ।

मुलुकलाई विद्यमान अवस्थामा डोर्‍याउने कार्यको जिम्मेवारी कसले लिने ? जर्नलाइज गर्ने हो भने भ्रष्टाचारीहरू भन्ने निक्र्योल निकाल्न सकिन्छ। भ्रष्टाचारीहरूचाहिँ व्यापारी, बिचौलिया, कर्मचारीतन्त्र तथा राजनीतिक वृत्त नै हो। तिनीहरूको समूह मिलेमतोमा राष्ट्रलाई कंगाल तुल्याउँदैछ। यो राजनीतिक, कर्मचारी, व्यापारी तथा बिचौलियाहरूको ‘नेक्सस’ लाई कसले तोड्ने ? नेक्सस तोड्नु अपरिहार्य छ मुलुकको भविष्यका निमित्त पनि। अन्यथा सुरुङको अर्को कुनामा कुनै उज्यालो देखा पर्न कठिन हुनेछ।

देशको भविष्यको बारेमा चिन्ता नेपालभित्र रहेकाले मात्र नभएर विदेशमा बस्ने नेपाली पहिचान भएका सबैले गर्न थालेका छन्। विद्यमान स्थितिबाट सबैभन्दा बढी चिन्तित हुनुपर्ने आउँदो दशकौंसम्म देशमै जीवन व्यतीत गर्नुपर्ने वर्गले नै हो। ती भनेका आजका युवा हुन्, जसले अन्यत्र गएर जतिसुकै सुखसुविधा पाए पनि आफू रहेको भूमिलाई मेरो देश भन्न आजन्म पाउँदैनन्। त्यसैगरी मुलुकमा रजगज गर्दै आएका आजको पिँढीका अधिकांश सदस्यहरू एक दशकपछि रहँदैनन्। रहेछन् भने पनि औचित्यहीन जीवन बिताएर बस्नुपर्ने अवस्था हुनेछ।

युवाका सामुन्ने चार विकल्प छन्–

१. आजका दिनसम्म रजगज गर्दै आएकाहरूको दिन कहिले सकिएला र आफ्नो पालो आउला भनेर ढुक्ने।

२. विदेश पलायन हुने।

३. केही नगरी नैराश्य जीवन बिताउने।

४. विद्यमान नेक्सस भत्काएर मुलुकलाई सही गन्तव्यतर्फ उन्मुख तुल्याउने। सबै युवाले चौथो कार्यको छनोट गर्न सक्दैनन् न त जरुरत नै छ। यो काम गर्ने भनेको आजका युवा नेताले नै हो। विभिन्न राजनीतिक दलका युवा नेताहरूका निमित्त सबैभन्दा उत्तम विकल्प भनेको भ्रष्टाचारविरुद्ध राष्ट्रिय मेलमिलाप कायम गर्नु हो। सबै दलहरूमा आबद्ध बहुसंख्यक युवाको चाहना यो मुलुकको उन्नति नै हो। उन्नतिमा सबैभन्दा ठूलो वाधक भ्रष्टाचार भन्ने पहिचान भइसकेपछि उनीहरू यसविरुद्ध लड्नका निमित्त किन तयार नहुने। उनीहरू अहिले तयार नहुने हो भने कहिले हुने ?       सदा बीपीको राष्ट्रिय मेलमिलापको वर्णन गरेर नथाक्ने नेपाली कांग्रेस युवा नेताका निमित्त त यो अवसर पनि हो– भ्रष्टाचारविरुद्ध राष्ट्रिय मेलमिलाप कायम गर्ने। उनीहरू अग्रसर भएनन् भने निश्चय पनि ढिलोचाँडो अन्य दलसँग आबद्ध युवाहरू अघि लाग्नेछन्। अवसर नगुमाउने हो भने जति चाँडो उनीहरूले अग्रसरता देखाउन सक्छन् त्यति उनीहरूले भविष्यमा पुनः देशको सबै परिवर्तनको नेतृत्व गर्ने अवसर गुमाउने छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.