देश दौडाहामा समर लभ
दमक : ‘रक्सी जति पुरानो भयो त्यति धेरै राम्रो, बेस्सरी लाग्ने। ऊ पनि मेरा लागि पुरानो रक्सीजस्तै छे’, अहिले युट्युबमा नेपाली चलचित्र ‘समर लभ’को ट्रेलरको सुरुमै बोलिएको यो डाइलग युवापुस्तामाझ लोकप्रिय छ।
चलचित्र समर लभको टोली प्रचारप्रसारका लागि केही दिनदेखि पूर्वी नेपालका विभिन्न सहरमा घुमिरहेको छ। चितवन, दाङ, बुटवल, हेटौंडा हुँदै चलचित्रको प्रचारका लागि टोली पूर्व आएको हो। पूर्वका प्रमुख सहर धरान, इटहरी, दमक तथा बिर्तामोडमा चलचित्र युनिटले आफ्नो प्रचार गरिसकेको छ। माघ २५ गते रिलिज हुन लागेको समर लभको टोली अहिले प्रचारप्रसारमा व्यस्त छ। बिर्तामोडमा सोमबार पत्रकार सम्मेलन गर्दै चलचित्र समर लभका बारेमा जानकारी दिइयो।
समर लभमा नायक आशिष पिया र नायिका रेवती क्षेत्री छन्। उनीहरूले यही चलचित्रबाट डेब्यु गरेका हुन्। नायिका रेवतीले आफ्नो डेब्यु चलचित्र भएकाले सबैलाई हलसम्म पुगेर हेरिदिन आग्रह गरिन्। उनले सुविन भट्टराईको उपन्यास समर लभलाई अभिनयका माध्यमबाट सकेसम्म न्याय दिने कोसिस गरेको बताइन्। नायक आशिषले चलचित्रले युवाको भावना र प्रेमलाई समेटेको भन्दै हेरेर आवश्यक सल्लाह तथा सुझाव दिन आग्रह गरे।
चलचित्रमा सरोज खनाल, ओम प्रतीक, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी लगायतको अभिनय छ। चलचित्रमा रहेको गीतको शब्द तथा संगीत युवामाझ चर्चित गायक पुष्पन प्रधानको छ। नाइँ नभन्नु ल ३ का निर्देशक मुस्कान ढकालले यस चलचित्रको निर्देशन गरेका छन्। नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बनेको यस चलचित्रको छायांकन उपन्यासमा उल्लेख भए अनुसारकै लोकेसनहरूमा गरिएको निर्माता खगेन्द्र श्रेष्ठले जानकारी दिए।
काठमाडौंको टीयू, बानेश्वर, पोखरा तथा धनगढीमा छायांकन गरिएको उनले बताए। लाइन प्रोड्युसर एकराज तामाङले यसका अलावा चलचित्रलाई नर्वे, सिंगापुर तथा मलेसियामा समेत सुट गरिएको बताए।
चलचित्र निर्माणमा दुई करोड ८० लाख रुपैयाँ खर्च भएको कार्यकारी निर्माता विनोद अधिकारीले बताए। उनका अनुसार कथा अनुसारको लोकेसन छनोट गर्नुपर्ने भएकाले लागत अलि बढी भएको हो। चलचित्र निर्माण गर्नकै लागि डेढ वर्ष लागेको अर्की निमात्री इन्दु भण्डारीले बताइन्।
प्रतिक्रिया दिनुहोस !