एक मजदुरको बकपत्र
मलाई थाहा छैन
मैले बाँचिरहेको जीवनको आयु कति छ ?
थाहा छैन
मैले हिँडिरहेका बाटाहरू जीवनभन्दा कति लामा छन् ?
र थाहा छैन
ती लामा बाटामा मैले कति दूरी पार गर्न सक्छु
सम्झन्छु,
हिजोका दिनमा हिँडेका बाटाहरू
जहाँ अनुमति लिएरै हिँड्नुपथ्र्यो
हिँड्दा, कसैले ढिलो हिँड् भन्थ्यो
ऊ भने अघि लाग्थ्यो
कसैले नहिँड् भन्थ्यो
तर, आफूचाहिँ हिँडिरहन्थ्यो
कसैले हिँड्नु पहिले नै सर्त लगाउँथ्यो
र एक्लो छाडेर दौडन्थ्यो
सर्तहरूको भारी बोकेर
हिँडिरहेँ म
यसरी हिँड्दा हिँड्दा
जिन्दगीलाई भने छोट्याइरह्यो घडीको काँटाले
आफ्नै भएर पनि
आफ्नो नभए जस्तो
समय,
आफैंबाट फुत्किरहेको थाहै भएन
म भने कसै न कसैको कब्जामा भइरहेँ
दिनमा साहूको कब्जामा भएँ
रातमा परिवारको कब्जामा भएँ
धेरैपछि मैले थाहा पाएँ कि
म त एउटा बन्दी हुँ
जसको आफ्नै जीवनको लालपुर्जा पनि अर्कैसँग छ
र उसैले मनपरी भोगचलन गर्छ
पांग्राजत्तिकै कुद्ने मेरा गोडाहरू छनस्टेरिङ र ब्रेक अर्कैसँग छ
जसले चाहेको बेला दौडाउन र रोक्न सक्छ
हथौडा जस्तै मेरा हातहरू छन रिमोट अर्कैसँग छ
जसले चाहेको बेला चलाउन र बन्द गर्न सक्छ
यति बुझ्न पनि
मैले जीवनको लामै हिस्सा गुमाएछु
जो पोहोरको वसन्तझैं फेरि फर्केर आउँदैनन्
अब त मसँग केवल बाँकी छनजीवनभन्दा बढी बाँचेका दुःखहरू
भारीभन्दा बढी गह्रुँगा चोटहरू
उत्खनन नभएका इतिहासका कथाहरू
र, बाँकी छन् केही रहरहरू
जसलाई पूरा गर्नु छ अबका यात्राहरूमा
क्रूर समयको पञ्जाबाट फुत्किएर
बनाउनु छ सपनाहरूको स्केच
मैले बुझिसकेँ कि
जीवन रूखको हाँगा हैन
जो काटिए पनि फेरि पलाउन सक्छ
जीवन कुवाको पानी हैन
जति उभाए पनि फेरि भरिन सक्छ
जीवन त जराको आडमा उभिएको रूख हो
जुन ढल्यो भने फेरि उठ्ने छैन
जीवन त कुवाभित्रको मूल हो
जुन सुक्यो भने फेरि रसाउने छैन
त्यसैले जोड्ने छु
अब एउटा खुसीको टुकी
जो, मेरो संसार उज्यालो बनाउन काफी हुनेछ।